संविधानसभामा पहिलो शक्तिका लागि प्रतिस्पर्धा गरेका कांग्रेस-एमालेबीच प्रत्यक्षतर्फको सीटमा जस्तै समानुपातिक तर्फको मतमा पनि तिब्र प्रतिस्पर्धा देखिएको छ । देशभर सुरु भएको समानुपातिकतर्फको प्रारम्भिक नतिजामा एमालेले कांग्रेसलाई उछिनेको छ । एमाओवादीले प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि तेस्रो स्थान सुरक्षित गरेको छ । प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको राप्रपा नेपालले उल्लेख्य मत सहित चौथो स्थान प्राप्त गर्ने देखिएको छ । उसले काठमाडौंसहित सहरी क्षेत्रमा धेरै मत प्राप्त गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरिरहेको नतिजा अनुसार समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मत प्रत्यक्षतर्फ उनीहरुका उम्मेद्वारले पाएको मत भन्दा खासै फरक देखिँदैन । राप्रपा नेपालले काठमाडौंमा पाएको मत भने यसको अपवाद हो । समानुपातिक तर्फको आइतबार मध्यरातसम्म गणना भएको २० लाख मत गणना हुँदा एमालेले ५ लाख ४८ हजार मत प्राप्त गरी अग्रस्थान लिएको छ । कांग्रेसले ५ लाख १० हजार मत प्राप्त गर्दा एमाओवादीले ३ लाख ३२ हजार मत पाएको छ । प्रत्यक्षतर्फ भने कांग्रेसले १०४, एमालेले ९२ र एमाओवादीले २५ सिट जितेका छन् । समानुपातिकतर्फ चौथो स्थानमा रहेको राप्रपा नेपालले १ लाख ५९ हजार मत पुर्याउँदा राप्रपाले ५८ हजार मत प्राप्त गरेको छ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र सीपी मैनाली नेतृत्वको नेकपा (माले)लेको मत पनि उल्लेख्य देखिन्छ । दुबै दलले २८/२८ हजार मत नघाएका छन् ।
समानुपातिकमा पनि कांग्रेस-एमाले प्रतिस्पर्धामा प्रारम्भिक नतिजामा एमाले अगाडि
Powered by Blogger.
0 comments
Write Down Your Responses