राजदूतका लागि फेरि दौडधुप

मंसिर १३ - नयाँ निवार्चित सरकार गठनअघि नै अन्तरिम चुनावी मन्त्रिपरिषद्बाट राजदूत नियुक्ति खान आकांक्षीहरूको दौडधुप सुरु भएको छ ।
चुनावको केही महिनाअघि सरकारले सबै खाली ठाउँमा राजदूत नियुक्त गर्न प्रयास गरे पनि राजनीतिक दलबीचको खिताचानीले तुहिएको थियो । नयाँ सरकार नबनुन्जेलसम्म वर्तमान सरकारले नै नियुक्त गर्न सक्ने हुँदा फेरि आकांक्षीहरू सक्रिय भएका हुन् ।
गृह मन्त्रालयसमेतको कार्यभार बोकेका परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले चुनावी तयारीका कारण अघिल्ला केही महिना राजदूत नियुक्तिलाई थाती राखेका हुन् । सरकारले राष्ट्रसंघ आवासीय प्रतिनिधिमा तत्कालीन परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई र मलेसियाका लागि राजदूतमा तत्कालीन शिष्ट्राचार महापाल निरन्जन बस्न्यातलाई नियुक्त गरेपछि अन्य राजदूत नियुक्ति प्रक्रियामा ध्यान दिएन । सार्क महासचिवमा बहालवाला परराष्ट्र सचिव अर्जुनबहादुर थापालाई पठाउने निर्णय पनि भइसकेको छ ।
यतिबेला पहिल्यैदेखि खाली रहेका भारत, जर्मनी, इजिप्ट, थाइल्यान्डसहित हालसालै खाली भएको स्विट्जरल्यान्डस्थित दूतावासमा जान विभिन्न दल नजिक व्यक्तिका साथै परराष्ट्र सेवामै रहेका विशिष्ट अधिकृतहरूले पहल गरिरहेका हुन् । स्विट्जरल्यान्डका लागि नेपाली राजदूत शंकर बैरागी सचिव थापापछि मन्त्रालयको बागडोर सम्हाल्ने तयारीका लागि काठमाडौं आइसकेका छन् ।
यसैगरी मन्त्रालयले तीन महिनाभित्र कार्यकाल पूरा हुने बेलायत, अमेरिका, क्यानडा र कुवेतका नेपाली राजदूतहरूलाई बुझबुझारथ सुरु गरी स्वदेश र्फकने तयारीमा लाग्न पत्र पठाइसकेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.