पेट्रोलियम, गाडी, सोयाबिन, औषधी र फलामको आयात उच्च
१२ मंसिर, काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको आयात उच्च दरमा बढ्दै गइरहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा २७ अर्ब ४५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा २४ लाख १७ करोड ७८ लाख रुपैयाँको पेट्रोलियम आयात भएको थियो ।
खासगरी भारतबाट हुँदै आएको पेट्रोलियम पदार्थको आयात हृवात्तै बढेको छ । अघिल्लो वर्षको साउनदेखि असोजसम्म भारतबाट २३ अर्ब ७० करोड २७ लाख रुपैयाँको पेट्रोलियम आयात भएकोमा अहिले २७ अर्ब २३ करोड रुपैयाँको पेट्रोलिय आयात भएको छ । अन्य मुलुकबाट
भने पेट्रोलियम आयात घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४७ करोड ५१ लाख रुपैयाँको पेट्रोलियम अन्य मुलुकबाट आयात भएकोमा यस वर्ष २१ करोड ९९ लाख रुपैयाँको मात्र आयात भएको छ ।

तीन महिनामा गाडी तथा स्पेयर्स पार्ट्सको आयात पनि १९ दशमलव १ प्रतिशतले बढेको छ । गत वर्षको साउनदेखि असोजसम्म भारतबाट ६ अर्ब ७० करोड ९४ लाख रुपैयाँको गाडी तथा स्पेयर्स पार्ट्स आयात भएकोमा यस वर्ष ७ अर्ब ९८ करोड ७९ लाख रुपैयाँको गाडी आयात भएको छ ।
एमएस बिलेट(फलाम)को आयात भने समिक्षा अवधिमा १० दशमलव ८ प्रतिशतले घटेको छ । तीन महिनामा ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँको एमएस बिलेट आयात गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब २२ करोड २५ लाख रुपैयाँको बिलेट आयात गरिएको थियो ।
यस अवधिमा ८ अर्ब ८२ करोड ७९ लाख रुपैयाँको खाने सोयाविन आयात गरिएको छ । नेपालमा औषधीको उत्पादन हुँदै आएपनि अझैपनि अधिकांश हिस्सा विदेशी औषधीले नै ओगटेको छ । व्यवसायीहरुका अनुसार नेपाली औषधीले कुल मागको ४० प्रतिशतमात्र हिस्सा ओगट्ने गरेको छ । तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ४४ करोड ६६ लाख रुपैयाँको औषधी आयात भएको छ । भारतबाट हुने औषधीको आयात १ दशमलव ६ प्रतिशतले घटेको छ भने अन्य मुलुकबाट हुने औषधीको आयात २१ प्रतिशतले बढेको छ । यस अवधिमा अन्य मुलुकबाट ८६ करोड ५१ लाख रुपैयाँ बराबरको औषधी आयात भएको भने भारतबाट ३ अर्ब ५८ करोड १५ लाख रुपैयाँको औषधी आयात भएको छ ।
निर्यात भएका मूख्य ५ वस्तुहरु
नेपालबाट भारतमा हुँदै आएको जस्ताको निर्यात चालु आवको साउनदेखि असोजसम्म १४६ दशमलव १ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा ८९ करोड २७ लाख रुपैयाँको जस्ता निर्यात भएकोमा समिक्षा अवधिमा २ अर्ब १९ करोड ६७ लाख रुपैयाँको जस्ता निर्यात भएको छ ।
त्यसैगरि, वुलन कार्पेटको निर्यात पनि २४ प्रतिशतले बढेको छ । तीन महिनामा २ अर्ब १६ करोड २२ लाख रुपैयाँको कार्पेट अन्य मुलुकतर्फ निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा जम्मा १ अर्ब ७३ करोड ६८ लाख रुपैयाँको कार्पेट निर्यात भएको थियो ।
कपडाको निर्यात भने समिक्षा अवधिमा ७ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड ५१ लाख रुपैयाँको कपडा निर्यात भएकोमा समिक्षा अवधिमा १ अर्ब ३२ करोड रुपैयाँको मात्र कपडा निर्यात भएको छ । रेडिमेट ग्रामेन्टको निर्यात भने ३१ प्रतिशतले बढेको छ । यस अवधिमा रेडिमेट ग्रामेन्ट समिक्षा अवधिमा १ अर्ब १९ करोड ८५ लाख रुपैयाँको निर्यात भएको छ । खासगरी रेडिमेट ग्रामेन्ट नेपालबाट तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ ।
पोलिष्टर अर्नको निर्यात ३ दशमलव १ प्रतिशतले घटेर १ अर्ब १३ करोड ९५ लाख रुपैयाँ खुम्चिएको छ । अघिल्लो आवको पहिलो तीन महिनामा १ अर्ब १७ करोड ६० लाख रुपैयाँको पोलिष्टर अर्न निर्यात भएको थियो । पोष्टिर अर्न खासगरी नेपालबाट भारतमा निकासी हुँदै आएको छ ।
आयात वृद्धिदर घट्यो
चालु आवको साउनदेखि असोजसम्म आयात बढेपनि वृद्धिदर भने घटेको छ । गत वर्षको साउनदेखि असोजसम्म ३१ दशमलव १ प्रतिशतले बढेको आयात यस वर्ष ११ दशमलव ३ प्रतिशतले मात्र बढेको छ । केही मात्रामा भएपनि आयात दर घटाउन नेपाल सफल भएको छ ।
नेपालबाट निर्यात बढेपनि वृद्धिदर भने घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा १४ दशमलव ९ प्रतिशतले बढेको निर्यात समिक्षा अवधिमा जम्मा ११ दशमलव ३ प्रतिशतले मात्र बढेको छ ।
0 comments
Write Down Your Responses