पेरिसडाँडामा रामचन्द्र झाले भने- म त अभागी पो रहेछु श्रीमान तेस्रो स्थानमा, श्रीमतीको मत ३६ मात्र
११ मंसिर, काठमाडौं । नेकपा एमाले परित्याग गरेर एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएका रामचन्द्र झाले आफूलाई अभागी बताउनुभएको छ । चुनावमा पराजय व्यहोरेपछि पेरिसडाँडामा आयोजित एमाओवादीको केन्द्रीय बैठकमा झाले आफू अभागी भएको बताउनुभएको हो ।

‘म त साह्रै अभागी पो रहेंछु, एमालेमा हुँदा चुनाव जितेको थिएँ, एमाओवादीमा आएपछि हारें ।’ पेरिसडाँडा बैठकमा झाले ठट्टा र पीडा मिसिएको भावमा भन्नुभयो । झाले ०६४ को चुनावमा धनुषा १ बाट एमालेका तर्फबाट चुनाव जित्नुभएको थियो । उहाँ एमाओवादीमा प्रवेश गरेको केही महिनामात्रै भएको थियो ।
एमाओवादी ठूलो शक्ति बन्ने ठानेर एमाले छाडेर एमाओवादीतिर लाग्नुभएका झाले ०६४ सालमा आफैंले जितेको ठाउँमा तेस्रो स्थानमा खुम्चिएर चुनाव हार्नुपरेको छ । एमालेमै रहेको भए उहाँले चुनाव जित्ने सम्भावना रहेको धनुषावासीहरु बताउँछन् । झासँगै एउटै क्षेत्रमा उम्मेद्वारी दिएकी झाकी श्रीमतीले ०६४ सालमा भन्दा तीन मत कम प्राप्त गर्नुभएको छ ।
उता रामचन्द्र झासँगै एमाओवादीमा प्रवेश गर्ने एमाले पूर्वमन्त्री उर्मिला अर्याल पनि पर्सा क्षेत्र नं ५ मा तेस्रो स्थान ल्याएर पराजीत हुनुभएको छ । एमाअेावादीले रामचन्द्र र उर्मिलाको पार्टी प्रवेशबाट मधेसमा धेरै सीट जितिने दाबी गरेको थियो ।
एमाओवादीमा प्रवेश गरेलगत्तै धनुषा १ बाट टिकट पाउनुभएका पूर्वसभासद रामचन्द्र झाविरुद्ध एमाओवादीका अर्का केन्द्रीय जोगकुमार बरबरिया -श्रवण यादव)ले बागी उम्मेद्वारी दिनुभएको थियो । बागी यादवको मत एमाओवादीका संस्थापक उम्मेद्वार झाको भन्दा बढी आएको थियो । दोस्रो स्थानमा आएका बागी उम्मेद्वार यादवको मत ७ हजार ९ सय ४६ आएको थियो भने झाले ५ हजार ३ सय १० मत प्राप्त गरेर तेस्रो स्थाना चित्त बुझाउनुपरेको थियो । एमालेमै रहँदा झाले ०६४ सालमा १२ हजार १ सय ८३ मत ल्याएर जित्नुभएको थियो ।
झाकी पत्नीको ३६ मत मात्रै
चुनावमा हुने खर्च र सुविधा बढी उपयोग गर्न तथा दोब्बर एजेन्टहरु राख्ने उद्देश्यले एमाओवादी नेता झाले आफ्नी श्रीमतीका नाममा समेत धनुषा १ मा उम्मेद्वारी दिनुभएको थियो । झाको सहयोगमा उम्मेद्वार बनाइएकी रामचन्द्र पत्नी सुष्मा झाले ३६ मत पाउनुभएको थियो । ०६४ सालमा पनि रामचन्द्रले श्रीमतीलाई सम्ोत चुनावमा उठाउनुभएको थियो । त्यसबेला उहाँकी पत्नीको भोट यसपालिको भन्दा तीन भोट बढी अर्थात् ३९ मत खसेको थियो ।
0 comments
Write Down Your Responses