राजेश हमालःभर्सन २.०

नारायणहिटी दरबारको उत्तर ढोकानेर बाँसै-बाँसले बारेको एउटा थियटर हल छ- थियटर भिलेज । जम्मा १ सय ५० दर्शक अटाउने यो हलमा केही दिनदेखि साँझपख मानिसहरूको भीड लाग्ने गरेको छ ।
बितेका केही वर्षमा नेपाली नाटकमा बढेको दर्शकको आकर्षणको नमुना यहाँ देख्न सकिन्छ । यी मानिसहरू अनुप बरालको नयाँ नाटक 'कोर्ट मार्सल' हेर्नका लागि एकत्रित हुने गरेका छन् । यो नाटकको प्रमुख विशेषता के छ भने यसमा नेपाली फिल्मका 'महानायक' राजेश हमाल पहिलोपटक मञ्चमा उत्रिएका छन् । फिल्मको हिरो बन्नुअघि 'याक एन्ड यती' होटलमा एउटा विदेशी टोलीले गरेको नाटकमा राजेशले जम्मा एक शोमा अभिनय गरेका थिए । यसको केही थोरैमात्र सम्झना उनलाई छ ।
क्यामेराका अगाडि अभिनय गर्न थालेको करिब २३ वर्षपछि राजेश दर्शकका अगाडि अभिनय गर्न तम्सिएका हुन् । नाटकको पहिलो शो 'ग्रान्ड रिहर्सल' थियो । यो भनेको पोसाक, पाश्र्व संगीत र लाइटको संयोजन मिलाएर गरिने अन्तिम रिहर्सल हो । तर, त्यो शोमा नै कर्नेल रूपक सिंह बनेका राजेश हमाल 'पर्फेक्ट' देखिए । यसका पछाडि करिब एक महिना गरिएको रिहर्सल थियो ।
फिल्मका सुटिङहरूबाट 'छ्याकन हानेको समय' मा उनी रिहर्सलमा हाजिर हुन्थे । र, पहिले कहिल्यै नगरेको मेहनतका निम्ति तयार हुन्थे । वर्षौंदेखि रंगमञ्चमा रगडिएर छाला खुइल्याएका कलाकारहरूसँग टक्कर गर्दै रिहर्सल गरेको फल अहिले राजेशले पाइरहेका छन् । नाटक सकिएपछि उनको अटोग्राफ लिन पर्खिने नयाँ दर्शक देखेर उनी रोमाञ्चित हुन्छन् । आपmनो पुरानो शैलीमा उनी घरीघरी आँखिभौं उचाल्छन् र नाटक हेरेर तृप्त बनेका दर्शकतिर हेर्दै मुसुमुसु हाँस्छन् ।
'एक दुई शो होला भनेर ओके भनिदिइहालें यो त धेरै चल्लाजस्तो छ,' सोमबार नाटक सकिएपछि राजेशले भने । 'यो एकदम नयाँ कुरा भइरहेको छ, मेरा लागि,' उनले अनुभव सुनाए, 'सधैं ठीक समयमा आऊ, उही लुगा लगाऊ, उही संवाद बोल, उही अभिनय गर तर फरक दर्शकका अगाडि । हरेक दिन एउटै अभिनय तर फरक अनुभूति ।' बिस्तारै यो अनुभूतिले राजेशलाई तानिरहेको छ । फिल्ममा हरेक दिन नयाँ दृश्य हुन्छ, नयाँ परिवेश हुन्छ र उनी एक दुई सातामा नै नयाँ पात्र बन्छन् । तर, नाटक त दाइ गरेजस्तो, जति टाढा हिँडे पनि एउटै बाटोमा हिँड्नुपर्ने । दिउँसो फिल्मको सुटिङ गर्ने, साँझ नाटक खेल्ने र बेलुकाका भेटघाट वा कार्यक्रमका लागि दौडेर जाने, अहिले राजेशको नयाँ रुटिन यस्तो बनेको छ ।
राजेश हमालको आजसम्म फिल्ममा तीनपटक जन्म भएको छ भन्ने गरिन्छ । पहिलो फिल्म 'युगदेखि युगसम्म'मा पहिलोपटक, 'देउता'मा दोस्रोपटक र 'वसन्ती'मा तेस्रोपटक । यसपालि नाटकमा उनको चौथो जन्म भएको होइन, नयाँ भर्सनको जन्म भएको हो । अघिल्ला संशोधित र परिस्कृत जन्म थिए, यो बिल्कुलै नयाँखाले राजेशको अभ्युदय हो ।
फिल्ममा जस्तो नाटकमा रिटेक हुँदैन । कुनै दृश्यको समय वा संवाद बिर्सियो भने फिल्ममा झैं फेरि गर्न मिल्दैन । संवाद कण्ठ पार्न राजेशलाई समस्या छैन । 'फिल्मले यसमा बानी पारेको छ,' सोमबारको शो सकिएपछि उनले भने, 'टाइमिङ बडो गजबको कुरा हुँदो रैछ ।' रंगमञ्चमा उत्रिएको एक साता नबित्दै राजेशले फिल्म र नाटकमा अभिनयको गाँठी अन्तर फेला पारे- 'फिल्ममा आपmनो मात्रै दृश्य र संवाद सम्भिmए पुग्छ, नाटकमा त आपmनोभन्दा अरूको बढी याद गर्नुपर्दोरैछ ।' यसको कारण के छ भने फिल्ममा एउटा पात्रको संवाद वा प्रतिक्रिया खिचेपछि बल्ल अर्को पात्रको खिचिन्छ, बीचमा मिलाएर बोल्न पाइन्छ । तर, नाटकमा उत्तिखेरै, ठीक समयमा ठीक प्रतिक्रिया जनाइएन भने अभिनयको कुनै काम हुँदैन । 'कतिखेर टेबल ठोक्ने हो, कतिखेर झोंक्किएर बोल्ने हो वा कतिखेर कता फर्किने हो त्यसको टाइमिङ नाटक अभिनयमा महत्त्वपूर्ण हुँदो रैछ,' राजेशले भने । यसरी हेर्दा फिल्मको अभिनय 'एकालाप' हो भने नाटकको 'संवाद' ।

सोमबारको साँझ नाटक सकिएपछि निर्देशक अनुप बरालको छोटो 'बि्रफिङ' सुनेर बाहिर निस्किँदा गुरुकुलका कलाकार कमलमणि नेपाललाई देखेपछि राजेश खुसी देखिए । कमलसँग हात मिलाएर उनले भने, 'यो त उल्टो भयो हँ, कमल जी ! तपाईं स्टेजमा म दर्शकमा हुनुपर्ने म पो स्टेजमा पुगें ।' उनी आपmनो शैलीमा जोडले हाँसे । राजेशले गुरुकुलका केही नाटकमा कमलमणिको अभिनय हेरेका थिए । राजेश कमलको क्षेत्रमा आइपुग्नु पहिले नै कमलले पनि राजेशको इलाकामा धावा बोलिसकेका छन्, उनले केही फिल्ममा अभिनय गरिसकेका छन् । कमललाई यो नाटकमा राजेशको अभिनय मन पर्‍यो ।
'कोर्ट मार्सल'मा राजेश सैनिक अदालतको न्यायाधीशको भूमिकामा छन् । आफूभन्दा ठूलो पदका सैनिक अफिसरको हत्या अभियोग लागेको एउटा जवानको कोर्ट मार्सलको दृश्य नाटकमा छ । यो जवानको पक्ष र विपक्षमा चल्ने बहसले बिस्तारै उसले हत्या गर्नुको कारण, सेनामा रहेको जातीय भेदभाव र छुवाछूतजस्ता विकृतिलाई उजागर गर्दै जान्छ । र, न्यायाधीश राजेशलाई न्याय गर्न नसक्ने असजिलो स्थितिमा पुर्‍याइदिन्छ ।
शो सकिएपछि हलबाहिर कुरा गर्दा पनि राजेश सैनिक अफिसरकै पोसाकमा थिए, खालि एउटा कालो ज्याकेट थपेका थिए । 'म सधैं यही पोसाकमा घर जान्छु,' नजिकै कपुरधाराका बासी राजेशले भने, 'ज्याकेट लगाएपछि कुन डे्रस हो कसैले थाहा पाउँदैन ।' यो प्रसंगमा हस्तक्षेप गर्न निर्देशक अनुप आइपुगे । 'उहाँ सधैं यो पोसाकमा जानुहुन्छ र हरेक दिन आउँदा आइरन लगाएर ठिक्क पारेर लगाएरै आउनुहुन्छ,' उनले आपmनो स्टार कलाकारको तारिफ गरे । आपmनो तारिफ सुनेपछि राजेशले थपे, 'कति फिल्मको सुटिङपछि म पुलिस इन्स्पेक्टरकै डे्रसमा घर फर्किन्थें, बाटोमा उभिएका पुलिसले सलुट गर्थे । सुरु-सुरुमा त मलाई कलाकार भनेर सलुट गरेका होलान्जस्तो लाग्थ्यो, पछि थाहा भयो उनीहरू मेरो अनुहार होइन, काँधको फुली मात्र हेर्दा रहेछन् ।' सायद, अनुहार हेर्न लाग्दा फुलीवाला अफिसरलाई सलुट छुट्यो भने प्रहरी जवानको नोकरी छुट्ने डर हुन्छ होला ! त्यसैले प्रहरीहरू अफिसरको अनुहार होइन, फुली हेरेर सलाम ठोक्छन् ।
'तपाईंले त नाटकका लागि अलिअलि कपाल पनि काट्नुभयो कि क्या हो ?' मेरो यो प्रश्नमा राजेश झन्डै जंगिए । 'अलि अलि मात्रै ? मैले भयंकर कपाल काटें,' उनले यो नयाँ विधाप्रतिको आपmनो ताजा 'डेडिकेसन' देखाए । फिल्ममा प्रहरी अधिकृतको भूमिका गर्दा कपाल नकाटेरै चलाइदिने राजेशले नाटकका लागि छोटो कपाल काटे । यो नयाँ भर्सनको एउटा थप 'फिचर' हो ।
हजारौं दर्शकका माझ एउटै शोमार्फत् पर्दामा प्रकट हुने बानी लागेका राजेश यसपालि जम्मा डेढ सय दर्शकको खुसीका लागि पसिना बगाइरहेका छन् । तर, उनी यसमा खुसी छन् । कसैले सोध्यो भने उल्टै बुझाउँछन्, 'यो नाटक प्रज्ञा भवनजस्तो ठूलो हलमा गर्न मिल्दैन । यसमा दर्शक पनि नाटकको एउटा भाग हो । मुद्दाको सुनुवाइमा अदालतमा उपस्थित मास जसरी दर्शकलाई नाटकले प्रयोग गरेको छ ।' नाटक निर्देशक अनुप बरालको सानो हल छान्नुका पछाडिको कन्सेप्ट यही हो । अहिले राजेशको दिमागमा बरु अर्को आइडिया आएको छ- नाटकलाई देशका अरू सहरमा पनि लैजाने । 'काठमाडौंबाहिरका धेरै दर्शकले यस्ता नाटक हेर्न पाउँदैनन्, समय मिल्यो भने यसलाई बाहिर पनि लाने कि भन्ने छ,' उनी आफ्ना फिल्म दर्शकका प्रति उदार देखिए । नेपाली फिल्मको आधाजति बजार राजधानीबाहिरलाई मानिन्छ । राजेशका धेरैजसो हिट फिल्मले राजधानीबाहिरबाट पैसा कमाएका छन् । यसैले होला, धेरैले नसम्भिmने मोफसलका दर्शकलाई राजेशले सम्भिmइहाले ।
राजेश, अनुप र स्वतन्त्रता
एक्टर्स स्टुडियोमा नयाँ विद्यार्थीहरूलाई नाटकका क, ख, ग सिकाइरहेका बेला अनुप बरालका अगाडि एउटा समस्या आयो । पहिलो संविधानसभा चुनावको तयारी भइरहेको थियो । चुनावसम्बन्धी चेतना जगाउने एउटा रेडियो विज्ञापन बनाइरहेका अनुपलाई लाग्यो, यसमा राजेश हमालको आवाज चाहिन्छ । नेपाली फिल्मका यी महानायकसँग अनुपको चिनजान थिएन । तैपनि, आवाज त राजेशकै चाहियो । उनले कतैबाट फोन नम्बर खोजे र फोन गरे । आपmनो परिचय दिए, फोन गर्नुको कारण बताए । राजेशले अनुपले सोचेभन्दा विपरीत जवाफ दिए । 'तपाईं नाटक गर्ने अनुप होइन ? तपाईंजस्तो मान्छेसँग काम गर्न म सधैं तयार छु ।'
त्यो बेला राजेश सुटिङमा समयमा नआउने कलाकारका रूपमा 'बदनाम' थिए । यसैले अनुपले चलाखी गरे । उनले एक-दुई घन्टाअगाडिको समय राजेशलाई दिए । तर, अनुपलाई आश्चर्यमा पार्दै राजेश भनेकै समयमा आइपुगे । 'त्यतिबेला स्टुडियो नै खुलेको थिएन,' अनुपले सम्भिmए । यसरी अगाडि नै बोलाएकोमा पनि राजेशले 'माइन्ड' गरेनन् र विज्ञापनमा आपmनो आवाज भरेर मात्र फर्किए ।
नेपाली समाजले गरेको एउटा लामो स्वतन्त्रताको आन्दोलनसँगै २०४६ पछि यी दुवै प्रतिभा समाजमा प्रकट भएका हुन् । पोखराबाट काठमाडौं हुँदै दिल्ली पुगेर नाटक पढेर फर्किएका अनुप बराल र कूटनीतिज्ञ बाबुसँग देश देशावर चहार्दै चण्डीगढबाट पढाइ सकेर काठमाडौं उत्रिएका राजेश हमालको कलायात्रा करिब एउटै समयमा सुरु भएको थियो । दुवैको त्यो कलायात्रा अहिले करिब २३ वर्षे जवान भएको छ । र, उनीहरूसँगै नेपाली समाजमा आएको प्रजातन्त्र, स्वतन्त्रता पनि बेलाबेला घाउचोट सहँदै, अचेत र अर्धचेत हुँदै लक्का जवान भएको छ ।
२०४६ मा पञ्चायती व्यवस्थालाई हुर्‍याएपछि निर्माण भएको नयाँ नेपाली समाजलाई एउटा विम्बको आवश्यकता थियो । प्रजातन्त्रसँगै आएको स्वतन्त्रता र अवसरका साथै वामपन्थी रुझान भएको समाजका लागि सर्वहाराको नयाँ मसिहाको पनि आवश्यकता थियो । समाजले त्यो मसिहा पायो कि पाएन थाहा छैन, नेपाली फिल्मले भने त्यस्तो मसिहा पैदा गर्‍यो । यो मसिहामा प्रजातन्त्रका मूल्य मान्यताको समझका साथै विद्रोहको कच्चा पदार्थ पनि मिसिएको थियो । कहिले इमानदार प्रहरीका रूपमा, कहिले लडाकु युवाका रूपमा त कहिले विद्रोही मजदुरका रूपमा राजेश हमालले त्यो मसिहाको छविलाई आफूमा धारण गरिरहे । गन्जागोल र भद्रगोल भएको समाजमा 'एंग्री योङ म्यान' लाई जोगाइराखे । अग्लो कद र लामो जुल्फीले उनलाई एकैपटक बल र विद्रोह दुवैको प्रतीकका रूपमा पर्दामा पेस गर्‍यो । खानदानी परिवारबाट आएको पढेलेखेको मानिस भन्ने छविसँग त्यो मसिहाको छवि मिसिएपछि बल्ल 'महानायक'को जन्म भएको हो ।
सुनिल पोखरेलपछिको पुस्तामा नेपाली नाटकमा सबभन्दा धेरै प्रयोग गर्ने र दर्शक बटुल्ने नाट्यकर्मीमध्येमा पर्छन् अनुप बराल । उनको एक्टर्स स्टुडियोको आफ्नो कुनै अडिटोरियम छैन । यसैले कहिले कसैको हलमा त कहिले कसैकोमा उनी आफ्ना नाटक देखाइरहन्छन् । कहिले विजय तेन्डुल्कर (जात सोध्नु जोगीको), कहिले लु सुन (टलक जंग भर्सेज टुल्के), कहिले गिरीश कर्नाड (बाँकी उज्यालो) त कहिले स्वदेश दीपकका (कोर्ट मार्सल)  नाटक गरिरहन्छन् । कहिले अझै टाढा पुग्छन् र काफ्कालाई टिप्छन्, कहिले अहिले नजिक आउँछन् र महेश विक्रम शाहका कथालाई नाटकमा ढाल्छन् । नाटक 'एडप्ट' गर्ने कलामा अनुप माहिर छन् । 'कोर्ट मार्सल' उनले अर्का पोखरेली रंगकर्मी प्रकाश घिमिरेसँग मिलेर 'एडप्ट' गरेका हुन् । पुराना खाले विषयका नाटकबाट बिस्तारै नेपाली नाटकमा कमेडी, बोल्डनेस र प्रयोग ल्याउने काममा अनुप अगाडि छन् । बाहिरतिर पनि प्रतिबन्धित भएका वा निकै डराएर गरिएका नाटकहरूलाई उनले नेपाली दर्शकका माझ पस्केका छन् । 'कोर्ट मार्सल' मञ्चन गर्ने तयारी अनुपले दस वर्षपहिले गरेका थिए । तर, कहिले देशको त कहिले आपmनै हाल ठीक भएन । यसपालि बल्ल उनले भनेजस्तो टिम, कास्ट र समय पाए ।
बहुदलीय व्यवस्थासँगै सुरु भएको यात्रामा राजेश सर्वहाराका महिसा वा विद्रोही युवाबाट उमेर र अनुभवसँगै अहिले त्यो कालखण्डको मूल्यांकन गर्ने ठाउँमा पुगेका छन् । यसैले होला नाटकमा उनी सैनिक न्यायाधीश बनेका छन् । यस्तो न्यायाधीश जसका अगाडि बिस्तारै आपmनो 'बिरादरी'मा भएको जातीय विभेद र भेदभावको 'केस' खुलेर अघि आउँछ । राजेशको भूमिकाको यो रूपान्तरण नेपाली समाजको रूपान्तरणको पनि एउटा प्रतीकका रूपमा देखा पर्छ । 
'अल्सो स्टारिङ'
राजेश र अनुपको यति कुरा भए पनि यो नाटक यी दुईको मात्र होइन । राजेश र अनुपका अलावा नेपाली फिल्मका अरू तीन हिरोहरू कर्मा, सुवास थापा र दयाहाङ राई पनि नाटकमा छन् । नेपाली फिल्म र रंगमञ्चका भेट्रान अभिनेता बीएस राणा पनि नाटकमा छन् र फिल्म तथा नाटककी चलेकी हिरोइन दिया मास्के पनि महत्त्वपूर्ण भूमिकामा छन् ।
नाटकमा सुवास थापा केन्द्रीय भूमिकामा छन् । कोर्ट मार्सल गर्न लागिएको सैनिक जवानको पक्षबाट लड्ने वकिलका रूपमा नाटकका सबभन्दा गजब संवाद उनले बोल्छन् । 'हन्टर अफ द सोल'का रूपमा आफूलाई पेस गर्ने यो पात्रमा सुवासले प्रभावित पार्छन् । सुवासको विपक्षमा बहस गर्ने फरक भूमिकामा दियालाई देख्दा दर्शकलाई सुखद आश्चर्य हुन्छ । सुबेदार बम सिंहको थोरै संवाद तर धेरै अभिनय देखाउनुपर्ने पात्रमा दयाहाङ राईलाई हेर्दा बेग्लै आनन्द हुन्छ । एउटा कन्फ्युज्ड तर सोझो पात्रको अलमल, हतासा र छटपटीलाई दयाले सुन्दर ढंगले प्रस्तुत गर्छन् । खलनायक पाराको घमण्डी क्याप्टेनका रूपमा कर्मा उम्दा छन् । प्रायः फिल्महरूमा क्युट हिरो बनेर देखिने कर्माले अंग्रेजी बोल्ने क्याप्टेनका रूपमा आफ्नो बडी ल्यांग्वेज पूरै परिवर्तन गरेका छन् । यिनका अलावा एक्टर्स स्टुडियोले उत्पादन गरेका केही नयाँ कलाकारहरू सुदाम सिकेलगायतले पनि नाटकमा आफ्नो छाप छोड्छन् ।
नयाँ पुस्ताका यी तेज अभिनेताहरूसँग काम गर्दा राजेश हमाल पनि दंग छन् । यी कुनै पनि कलाकारसँग उनले फिल्ममा अभिनय गर्न पाएका थिएनन् । नाटकमा यिनको 'टाइमिङ' र 'इनर्जी'सँग तादात्म्य मिलाउन राजेशलाई सजिलो थिएन । तर, उनले यो काम गरेर देखाए । आखिर सजिलो काम मात्रै गरेर कोही महानायक बन्छ र ?




 

0 comments

Write Down Your Responses

Powered by Blogger.