निश्चित नाकाबाट मात्रै भारतीय गाडीलाई प्रवेश दिन सिफारिस भारतीय प्रहरी नेपाल छिर्दा २० प्रहरी र कर्मचारी दोषी
१६ मंसिर, काठमाडौं । गृहमन्त्रालयले गठन गरेको एक अध्ययन समितिले भारतबाट नेपाल छिर्ने सवारी साधनहरु जुनसुकै नाकाबाट नभई पहिचान गरिएका निश्चित नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिइनुपर्ने निश्कर्ष निकालेको छ । साथै सीमा सुरक्षासम्बन्धी कार्यविधि तयार पार्न समितिले गृहलाई सुझाव दिएको छ ।
गृह मन्त्रालयद्वारा गत असोजमा सहसचिव चूडामणि शर्माको संयोजकत्वमा गठित समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा भनिएको छ- ‘विना इजाजत भारतबाट नेपाल आउने जुनसुकै किसिमका सवारी साधनहरुलाई सीमा क्षेत्रमै रोकिने र भारतीय सवारी साधनहरु नेपाल प्रवेश गर्दा मुख्य मुख्य भन्सार नाकाहरुको पहिचान गरी निश्चित सीमाक्षेत्रबाट मात्र निश्चित प्रक्रिया पूरा गरी प्रवेश गर्न पाउने व्यवस्था मिलाइनुपर्छ ।’
गत असोज २ गते बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं ८ स्थित मञ्जुरप्रसाद श्रेष्ठको घरमा भारतीय प्रहरीले प्रवेश गरेर खानतलासी लिएपछि सो घटनाको छानविन गर्न गृहमन्त्रालयले शर्माको संयोजकत्वमा उक्त घटनाको छानविन गर्न शर्माको नेतृत्वमा ३ सदस्यीय छानविन समिति बनाएको थियो । नेपाल प्रहरीका डीआइजी केदार प्रकाश साउद र सशस्त्र प्रहरी बलका डीआइजी सदस्य रहेको सो समितिले निश्चित पहिचान गरिएका नाकाबाट भात्रै भारतीय गाडीलाई प्रक्रिया पुर्याएर नेपाल प्रवेश गर्न दिइनुपर्ने गृहमन्त्रालयसमक्ष सिफारिस गरेको हो ।
२० कर्मचारी र प्रहरीमाथि कारवाहीको सिफारिस
भारतीय प्रहरी बिना अनुमति नेपाल प्रवेश गर्दा गुलरिया छोटी भन्सार कार्यालयमा ड्युटीमा खटिएका प्रहरीहरुले लापरवाही गरेका कारण सजिलै बर्दीससहितका भारतीय प्रहरीहरु बर्दिया जिल्लामा प्रवेश गरेको समितिले ठहर गरेको छ ।
यो घटनामा २० जना निजामति र सुरक्षा निकायमा कार्यरत कर्मचारीलाई विभागीय कारवाही गर्न समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘बर्दीसहितका भारतीय प्रहरीहरु मञ्जुरप्रसाद श्रेष्ठको घरमा खानतलासी गर्न आएको घटनाका सम्बन्धमा छानविन गर्दा दोषी देखिएकानिजामतिनिजामति सेवा ताथ सुरक्षा निकायमा कार्यरत राष्ट्रसेवक २० जना कर्मचारीहरुलाई सम्बन्धित निकायमा आवश्यक विभागीय कारवाही गर्नुपर्ने देखी सिफारिस गरिएको छ ।
भारतीय डीएसपीलाई पनि कारवाहीको माग
समितिको प्रतिवेदनमा कतै पनि समन्वय नगरी कूटनीतिक मर्यादा विपरीत नेपालमा पसेर खानतलासी लिएकोमा भारतीय प्रहरीका कमान्डर डीएसपी उदयप्रसाद सिंहलगायतका बर्दीवाल र सादा पोशाकका भारतीय प्रहरीलाईसमेत कारवाही गर्न सिफारिस गरिएको छ ।
गत असोज २ गते भारतको उत्तरप्रदेश अन्तरगत खिरी लखिमपुरका प्रहरीले डीएसपी सिंहको कमाण्डमा दुईवटा गाडीमा बर्दीसहित ६/७ जना र सादा पोशाकमा ४/५ जना नेपाल पसेर नेपालीको घरमा खान तलासी गरेका थिए । गृहमन्त्रालयले आगामी दिनमा यस्ता घटना हुन नदिन सीमा क्षेत्रमा सुरक्षा शतर्कताका लागि कार्यविधि तयार पारी कार्यान्वयन गरिनुपर्ने समितिले हालै बुझाएको प्रतिवेदनमा सुझाव दिइएको छ ।
0 comments
Write Down Your Responses