'टावरको सुझाव नमान्दा घटना'

टावरले दिएको निर्देशन नमान्दा जोमसोममा नेपाल वायु सेवा निगमको जहाज दुर्घटना भएको छानबिन आयोगले निष्कर्ष निकालेको छ ।
अघिल्लो दिन काठमाडौंबाट पोखरा 'नाइट स्टप' का लागि गएको निगमको टि्वनअटर गत जेठ २ गते पोखराबाट जोमसोम उडेको थियो । उक्त टि्वनअटर धावनमार्गमा अवतरण गरिसकेपछि नियन्त्रणबाहिर गएको थियो । विमानस्थल टावरले रनवे ०६ मा हावाको गति बढी भएकाले रनवे २४ बाट अवतरण गर्न सुझाव दिएको थियो । तर पाइलटले ०६ बाट अवतरण गर्ने निर्णय गरेको सरकारद्वारा गठित छानबिन आयोगको प्रतिवेदनमा उल्लेख छ ।
'जहाजको प्राविधिक पक्षमा कुनै त्रुटि थिएन,' प्रतिवदेन सार्वजनिक गर्ने क्रममा आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले भने ।
दुर्घटनामा जहाजको दाहिने पखेटा (विङ) पूरै क्षति भएको थियो । आयोगको प्रतिवेदनअनुसार दुर्घटना भइसकेपछि पनि केही समय प्रोपेलर घुमिरहेको थियो । प्रोपेलरमा केही क्षति भएको थियो । पाइलट र कोपाइलट तथा १ जापानी नागरिक गम्भीर घाइते भएका थिए । अन्य ७ यात्री सामान्य घाइते भएका थिए । 'यो दुर्घटनामा मानवीय क्षति नहुनु ठूलो कुरा हो,' लामिछानेले भने ।
छोटो धावनमार्गमा बढी गतिमा अवतरण हुँदा पाइलटले जहाजलाई नियन्त्रणमा लिन नसकेको प्रतिवेदनमा छ । जोमसोम धावनमार्गको लम्बाइ २ हजार ४ सय २४ फिट रहेको छ । यस्तोमा थ्रेसहोल्डभन्दा ३ सय फिट अगाडि जहाज अवतरणको प्रक्रिया थाल्नुपर्नेमा पाइलट थ्रेसहोल्डभन्दा पर गएर अवतरण गर्नु पनि समस्या देखिएको छ । अवतरणपछि झन्डै ७ सय ५ फिट दूरीसम्म जहाज घाँसै मैदानमा गुड्यो । 'घाँसे मैदानमा जहाजको गति आफैं कम हुन्छ,' वरिष्ठ एरोनर्टिकल इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठले भने, 'यस्तोमा जहाजलाई त्यत्तिकै छोड्नुपथ्र्यो ।
तर पाइलटले गति बढाएर फेरि टेक अफ गर्न खोजे । आयोगमा सदस्य पाइलट क्याप्टेन प्रभाकर घिमिरेका अनुसार 'ग्राउन्ड स्पिड' ९० नट हुनुपर्ने मा पुनः टेक अफ गर्न खोज्दा १ सय १८ नट थियो ।
'अवतरण हुनुअघि देखि अवतरण भइसक्दासम्म पनि पाइलट र कोपाइलटबीच कुनै छलफल भएको थिएन,' घिमिरेले भने, 'यसले क्रु मेम्बरबीच समन्वय पनि देखिएन ।'
अवतरण पनि जहाजको अप्रोच गलत भए आफूले अपनाउने प्रक्रियाबारे कोपाइलटलाई जानकारी दिन जरुरी रहेको उनको भनाइ छ ।
नेपालमा हुने हवाई दुर्घटनामा ८० देखि ८५ प्रतिशत मानवीय त्रुटि हुने गरेको छ । यो दुर्घटना अहिलेसम्मकै नराम्रो नमुना भएको एरोनर्टिकल इन्जिनियर श्रेष्ठले बताए । 'सबै कुरा जानकारी हुँदाहुँदै आवश्यक प्रोसिड्युर नअपनाएकाले दुर्घटना भएको देखिन्छ,' उनले भने, 'यसले पाइलटहरू सेफ्टीका विषयमा कति गैरजिम्मेवार छन् भन्ने देखाउँछ ।' यो जहाज उडाउने पाइलट दीपेन्द्र प्रधान अनुभवी र इन्स्ट्रक्टर समेत मानिन्छन् ।
आयोगले दुर्घटना प्रतिवेदनमा नेपाल वायुसेवा निगम, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणलाई विभिन्न सुझाव दिएको छ । जोमसोममा हावाको गति ५ 'नट' हुनु पनि जोखिमपूर्ण भएकाले यस्तो अवस्थामा विमानस्थल बन्द गर्ने प्रावधान ल्याउन भनिएको छ । पाइलट, इन्जिनियरको कामलाई नजिकबाट अनुगमन गर्ने संयन्त्र खडा गर्ने, स्वतन्त्र छानबिन आयोग गठन गर्ने र क्रु व्यवस्थापन आदिमा निरीक्षण कडा बनाउन भनिएको छ ।
त्यस्तै दुर्गमका छोटा धावनमार्ग भएका जोखिमयुक्त विमानस्थलको पुनरावलोकन गरी यसका लागि पाइलट, इन्जिनियर आदिलाई बढी जानकार बनाई काम गर्न पनि भनिएको छ । 'निगमले आफ्ना पाइलटको क्षमता विकास गर्न विज्ञहरुद्वारा सेफ्टी व्यवस्थापन प्रणालीबारे तालिम तथा जानकारी दिइरहनुपर्छ,' प्रतिवेदनमा छ ।

 

0 comments

Write Down Your Responses

Powered by Blogger.