सरकारको जोड घटाऊ : एमालेले पनि बनाउन सक्ने वाम गठबन्धन बनाइए साना दलको बहुमत पुग्ने
१४ मंसिर, काठमाडौं । संविधानसभाको निर्वाचन परिणाम सार्वजनिक भएपछि नयाँ सरकार गठनका जोडघटाउ सुरु भएको छ । दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताहरु सहमतीय सरकार गठनको प्रयासमा छन् । तर, शक्ति बाँडफाँडमा कुरा नमिले अघिल्लो संविधानसभामा जस्तै सहमतिको नाम जप्दै बहुमतीय सरकार गठन नहोला भन्न सकिन्न ।

समानुपातिकको समेत मत परिणाम सार्वजनिक भएपछि बहुमतीय सरकार गठन आवश्यक ३ सय १ कुनै पनि दलसँँग छैन । तर, कांग्रेस र एमालेले अन्य दलको साथ लिएर सरकार बनाउन सक्ने देखिन्छ । कांग्रेस र एमालेका दुई दुई नेता दुई स्थानबाट विजयी भएका छन् । उपनिर्वाचन नहुँदासम्म मन्त्रिपरिषद्बाट मनोनित २६ लाई समेत कायम गर्दा संविधानसभा ५ सय ९७ सदस्यीय हुनेछ । यस्तोमा बहुमतीय सरकार गठनका लागि बनाउन २ सय ९९ मत चाहिन्छ ।
कांग्रेस
कांग्रेसले एमालेलाई छाडेर पनि सरकार गठन गर्न सक्नेछ । त्यसका लागि उनले एमाओवादीसहितका केही दललाई विश्वासमा लिनुपर्ने हुन्छ । संविधानसभामा कांग्रेसको सिट प्रत्यक्षको १ सय ५ र समानुपातिकको ९१ गरी १ सय ९६ भएको छ । सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा दुई-दुई स्थानबाट बिजयी भएकाले मतदान गर्दा कांग्रेसको कुल भोट १ सय ९४ हुन्छ ।
अब मन्त्रिपरिषद्बाट मनोनित २६ सभासदसहितको संविधानसभामा बहुमतीय सरकार बनाउन कांग्रेसलाई १ सय ५ मत चाहिन्छ । ८० सिट बोकेको एमाओवादीलाई विश्वासमा लिने हो भने कांग्रेसलाई थप २५ सिट चाहिन्छ । राप्रपा नेपाललाई समेट्ने हो भने मन्त्रिपरिषद्बाट मनोनितमा कांग्रेसको भागमा पर्ने केही सिटले उसलाई एमाले विना पनि सरकारको नेतृत्व दिन्छ ।
तर, राप्रपा नेपालले प्रतिपक्षमा घोषणा गरेकाले कांग्रेसले सरकारको नेतृत्वका लागि एमाओवादीसँगै १४ सिट भएको फोरम लोकतान्त्रिक र १० सिट भएको राप्रपाको साथ लिनुपर्ने हुन्छ । ११ सिट भएको तमलोपा र १० सिट भएको फोरम नेपाल उसको विकल्प हुन्छ । मन्त्रिपरिषद्बाट मनोनित २६ सिटलाई छोड्ने हो भने संविधानसभा ७ सय २१ सदस्यीय हुनेछ । यस्तोमा बहुमतीय सरकार बनाउन आवश्यक २ सय ८६ पुर्याउन कांग्रेसलाई सरकार बनाउन थप ९२ मत चाहिन्छ । जुन, एमाओवादी र फोरम लोकतान्त्रिक वा राप्रपा मध्ये एक लिए पुग्छ ।
एमाले
एमालेले पनि एमाओवादीसहितका दललाई विश्वासमा लिने हो भने सबैभन्दा ठूलो दल कांग्रेसलाई सरकार बाहिर राख्न सक्छ । एमालेको सिट १ सय ७५ छ, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम दुई स्थानबाट विजयी भएकाले भोटिङमा एमालेको मत १ सय ७३ हुन आउँछ । यस्तोमा बहुमतीय सरकार गठनका लागि एमालेलाई १ सय २६ मत चाहिन्छ । त्यसका लागि एमालेले एमाओवादीसहितका साना दलहरुलाई समेट्नु पर्नेहुन्छ ।
एमाओवादीको ८०, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १३, तमलोपाको ११ र फोरमको १० सिट जोड्दा एमालेको बहुमत पुग्छ । ६ सिट बोकेको सद्भावना, ५ सिट भएको संघीय समाजवादी र मालेलाई पनि एमालेले केही विकल्प बनाउन सक्छ । मन्त्रिपरिषद्बाट मनोनित २६ सिटलाई छोड्ने हो भने एमालेलाई कांग्रेस बाहेकको सरकार बनाउन थप १ सय १३ सिट चाहिन्छ । यसमा एमाओवादी, फोरम लोकतान्त्रिक, राप्रपा र केही साना दलको साथ लिनुपर्ने हुन्छ ।
एमाओवादी
अघिल्लो संविधानसभामा तेस्रो ठूलो दल भएर पनि एमालेले दुई पटक सरकारको नेतृत्व गर्यो । यो पटक पनि त्यसो नहोला भन्न सकिन्न । तर, एमाओवादीले सरकारको नेतृत्व गर्न उसलाई कांग्रेस वा एमालेमध्ये कुनै एकले बोक्नु पर्छ र केही साना दलको पनि साथ चाहिन्छ ।
0 comments
Write Down Your Responses