बाबुछोरा सँगै दीक्षित

बाबुछोरा शुक्रबार सँगै दीक्षित भएका छन् । यसलाई दुवैले अविस्मरणीय अवसरका रूपमा चित्रण गरे । ४९ वर्षे दिनेश र २२ वर्षे सुदीप पन्थी सँगै दीक्षित भएका हुन् । काठमाडौं विश्वविद्यालयको १९ औं दीक्षान्त समारोहमा दुवैले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका हातबाट योग्यताको प्रमाणपत्र बुझे । 'यस्तो होला भनेर सोचेकै थिएनौं,' बाबु दिनेशले हषिर्त हुँदै सुनाए, 'सोच्दै नसोचेको कुरा पाउँदा धेरै खुसी लागेको छ ।' उनले विश्वविद्यालयबाट गणित विषयमा पीएचडी र छोरा सुदीपले इन्जिनियरिङमा स्नातक तह पूरा गरी योग्यताको प्रमाणपत्र बुझेका हुन् । दिनेश प्राध्यापन पेसामा सक्रिय छन् । वाल्मीकि क्याम्पसमा पढाउँछन् । 'यस्तो अवसर थोरैले मात्रै पाउँछन्,' सुदीपले भने, 'त्यो थोरैभित्र म परें, खुसीको सीमा नै छैन ।' नजानेका कुराहरू बाबुबाट सिक्दै आफूले पाएको ज्ञान मुलुकभित्रै प्रयोग गर्ने उनले बताए । 'योग्यता र क्षमता बढाउने इच्छा शक्ति भए उमेरले छेक्दैन भन्ने सन्देश बाबुबाट पाएँ,' उनले भने । छोराले पाएको ज्ञान देशभित्रै प्रयोग गरोस् भन्ने आफूको चाहना रहेको बाबुले बताए । पाँच विधामा १ हजार ५० विद्यार्थी दीक्षित भएका छन् । 'स्कुल अप आर्ट्स' का आन्ान्दराज देवकोटाले 'चान्सलर स्वर्णपदक', 'स्कुल अप इन्जिनियरिङ' का सन्दीप सहानी 'भाइस चान्सलर स्वर्णपदक', 'स्कुल अफ म्यानेजमेन्ट' की राजश्री कोठारीले 'जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक' र 'स्कुल अफ म्यानेजमेन्ट' का सौरभ पोखरेल 'रणबहादुर शाह स्वर्णपदक' बाट पुरस्कृत भए । 'देशको मुहार उज्यालो बनाउने अठोट गरौं' मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले देशको मुहार उज्यालो बनाउने अठोट गर्न दीक्षित विद्यार्थीहरूलाई आग्रह गरे । उनले आफूले हासिल गरेका योग्यता र उपाधि समाजको सकारात्मक परिवर्तनका लागि प्रयोग गर्न अनुरोधसमेत गरे । 'युवा अवस्थाको स्फूर्ति र उत्साहमा हासिल गरेका ज्ञान र सीपको मिश्रण गरी आफूलाई परिपक्व, आत्मविश्वासी र नवसृजना गर्ने क्षमतावान् जनशक्तिका रूपमा स्थापित गर्दै देशको मुहार उज्यालो बनाउने अठोट गर्नुहोस्,' दीक्षित विद्यार्थीहरूल्ााई आग्रह गर्दै उनले भने । दीक्षान्त समारोहका प्रमुख अतिथि चीनको 'हेबेई युनिभर्सिटी अफ इकोनोमिक एन्ड बिजिनेस' का 'प्रेसिडेन्ट' प्रा.डा. जी लियाङगङले विद्यार्थीहरूलाई समूहमा काम गर्ने सोचको विकास गरी कर्ममा प्रखर बन्न आग्रह गरे ।

0 comments

Write Down Your Responses

Powered by Blogger.