यी हुन् साना पार्टीका ‘ठूला’ सभासद ! समानुपातिकले जुरायो सुनौलो अवसर

पराजित हुने डरले दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनावी मैदानमा नदेखिएका साना दलका ठूला नेताहरु समानुपातिकतर्फबाट संविधानसभामा जाने भएका छन् ।हिन्दू अधिराज्य र राजतन्त्र माग गर्ने राप्रपा नेपालदेखि एकल जातीय पहिचानको माग गरिरहेको संघीय समाजवादीका ठूला नेताहरु पनि समानुपातिकबाट संविधानसभामा प्रवेश गर्ने पक्का भएको छ ।
सानो सांगठनिक संरचना र कम्जोर जनाधारका कारण प्रत्यक्षतर्फ चुनावी मैदानमा नदेखिएका साना दलका ठूला नेताहरुका लागि समानुपातिक प्रणालीले संविधानसभामा प्रवेश गर्ने ढोका खोलिदिएको हो ।प्रत्यक्षतर्फ चुनावी मैदानमा नउत्रेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा, संघीय समाजवादीका अध्यक्ष अशोक राई, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहसहित रहनुभएको छ ।
सूर्यबहादुर थापा, राप्रपा
पहिलो संविधानसभाको निर्वाचनमा धनकुटा २ मा राष्ट्रिय जनशक्ति पार्टीबाट प्रत्यक्षमा उठेर पराजित हुनुभएका राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा यो पटक समानुपातिकको सूचिमा हुनुहुन्छ ।suryabahadur thapaयो पटकको चुनावमा थापाले धनकुटा २ मा छोरा सुनिलकुमार थापालाई उठाउनुभएको थियो । छोरा सुनिलकुमार थापाले धनकुटा २ बाट प्रत्यक्षमा जित्नुभएको छ भने बुबा सुर्यबहादुर थापा समानुपातिकबाट सभासद बन्ने पक्का भइसककेको छ ।
समानुपातिकबाट सभासद भएमा ८६ वर्षीय थापा संविधानसभाका सबैभन्दा जेष्ठ सभासद बन्नुहुनेछ ।नेपाली राजनीतिको जुनसुकै व्यवस्थामा पनि सधैं शक्तिमा रहिरहने थापाको भूमिका संविधानसभामा प्रभावकारी हुने विश्वास गरिएको छ ।
पञ्चायकाल र बहुदलीय व्यवस्थामा पटक पटक प्रधानमन्त्री भइसक्नुभएका राप्रपा अध्यक्ष थापाको उपस्थितिले साना राजनीतिक दललाई समेत बल मिल्ने अपेक्षा गरिएको छ । राप्रपाले यो पटकको चुनावमा प्रत्यक्षमा ३ र समानुपातिकतर्फ १० सिट सहित १३ सिट जितेर छैटौं ठूलो शक्ति बनेकाले सत्ता समीकरणमा पनि उसले प्रभावमा पार्न सक्ने अवस्था छ ।
कमल थापा, अध्यक्ष, राप्रपा नेपाल
हिन्दू अधिराज्य र राजतन्त्रको पक्षमा चर्को वकालत गर्दै आइरहेको राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि समानुपातिकबाट सभासद बन्नुहुने भएको छ ।Kamal-thapa-new देशभरका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको राप्रपा नेपालले प्रत्यक्षमा एक सिट पनि जित्न सकेन । समानुपातिक तर्फ भने उसले ठूला दललाई समेत टक्कर दिएको थियो ।
प्रत्यक्षबाट आफू चुनाव लडेपछि देशभरको चुनावी प्रचार प्रभावित हुने भन्दै अध्यक्ष थापा समानुपातिकबाट सभासदको सूचिमा रहनुभएको थियो । थापाले आफ्नो गृहजिल्ला मकवानपुर १ मा प्रत्यक्षबाट पत्नी प्रलिता थापालाई चुनावी मैदानमा उतार्नुभएको थियो । कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको मकवानपुर १ मा प्रलिता चौथो बन्नुभएको थियो ।
कुनै बेला राप्रपामा रहनुभएका थापाले राप्रपा नेपाल खोलेर हिन्दू अधिराज्य र राजतन्त्र पुनस्थापनाको वकालत गरेपछि यो चुनावमा राप्रपा नेपालले समानुपातिकबाट २४ सिट जित्न सफल भएको छ । पछिल्लो समयमा राजनीतिका कुशल खेलाडीमा दरिने राप्रपा नेपालका अध्यक्ष थापाले आफूसहित समानुपातिकका २४ जना सभासद लिएर संविधानसभा जाने पक्का भएको छ । अध्यक्ष थापाले आफू सत्ताको फोहोरी खेलमा नलाग्ने भन्दै प्रतिपक्षमा बसेर संविधान निर्माणमा सहयोग गर्ने घोषणा गरिसक्नु भएको छ ।
यो पटकको निर्वाचनमा राप्रपा नेपाललाई काठमाडौका ७ वटा निर्वाचन क्षेत्रबाट समानुपातिकमा पहिलो मत खसेको थियो । २४ सभासद साथमा भएकाले राप्रपाका अध्यक्ष थापाले सत्ता समीकरणमा निर्णायक हस्तीको भूमिका खेल्नसक्ने हैसियत बनाउनुभएको छ ।
अशोक राई, अध्यक्ष, संघीय समाजवादी पार्टी नेपाल
एमाले र कांग्रेसलाई जनजाति र पहिचानविरोधी भन्दै बाहिरिएका आदिवासी जनजाति पृष्ठभूमिका नेताहरुलाई समेटेर एक वर्षअघि स्थापना गरिएको संघीय समाजवादी पार्टीले समानुपातिकमा ५ सिटमात्र प्राप्त गरेको छ । ashok-raiदोस्रो संविधानसभाको चुनावअघिसम्म देशभरीका ६० वटा जिल्लामा आफ्नो संगठन विस्तार गर्न भ्याएको संघीय समाजवादीले एमाले र कांग्रेसलाई राम्रै धक्का दिने अनुमान गरिएको थियो ।
राजतन्त्र र हिन्दू अधिराज्यको वकालत गर्ने राप्रपा नेपालले जस्तै एकल जातीय पहिचान र संघीयताको चर्को वकालत गरिरहेको संघीय समाजवादीले प्रत्यक्षतर्फ भने कुनै प्रभाव पार्न सकेन ।संघीय समाजवादीका अध्यक्ष अशोक राईसहित अधिकांश ठूला नेता मत परिणाम सोचेभन्दा राम्रो आउने भन्दै समानुपातिकमा बस्नुभएको थियो । एमालेको बुटवल महाधिवेशनबाट धेरै मत ल्याएर बरिष्ठ उपाध्यक्ष बन्नुभएका राई संघीय समाजवादीको अध्यक्ष भएपछि खोटाङ र उदयपुरमध्ये एक जिल्लाबाट प्रत्यक्षमा चुनाव लड्ने अनुमान गरिएको थियो ।
अध्यक्ष प्रत्यक्षमा उठ्दा देशभरको चुनावी प्रचार प्रभावित हुने भन्दै संघीय समाजवादीले अन्य तल्लोतहका केही नेतालाई चुनावी मैदानमा उतारेको थियो । ५ जनामात्र सभासद समानुपातिकबाट पक्का गरेकाले कुनै बेला शक्तिमा रहनुभएका अशोक राईले संविधानसभामा निणर्ायक भूमिका खेल्न सक्ने हैसियत भने देखिंदैन । प्रत्यक्षतर्फ अधिकांश उमेदवारको जमानत जफत हुनपुगेको संघीय समाजवादीले समानुपातिकमा पनि मतदाताको मन जित्न सकेन । उसले ५ वटा मात्र सिट जित्दै संविधानसभामा ११ औं ठूलो शक्ति बनेको छ ।
मतपरिणाम सोचेभन्दा धेरै कम आएपछि अशोक राई नेतृत्वको संघीय समाजवादी सदनमा नजाने बताइरहेको छ । संविधानसभामा गएर आफ्ना मुद्दा स्थापित गर्न नसक्ने भन्दै संघीय समाजवादीले एकीकृत माओवादीसहितका १६ दलसँग मिलेर सडक संघर्ष गर्ने बताउँदै आएको  छ ।
परिवार दलका एकनाथ ढकाल
पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद पक्का गरेको नेपाल परिवार दलले यो पटक पनि समानुपातिकबाटै सभासद पक्का गरेको छ ।eaknath dhakal
पहिलो संविधानसभामा सभासद बन्नुभएका सो पार्टीका अध्यक्ष एकनाथ ढकाल बाबुराम भट्टराईको सरकारमा सहकारी तथा गरीबी निवारण मन्त्री बन्नुभएको थियो ।
परिवार दलले यो पटक पनि प्रत्यक्षतर्फ उमेदवारी दिएको थियो । उसका प्रत्यक्षतर्फका सबै उमेदवारको जमानत जफत भएपनि समानुपातिकमा परिवार दलले २ सिट पक्का गर्दै १९ औं ठूलो शक्ति बनेको छ ।एकीकृत माओवादी अध्यक्ष प्रचण्डकै शैलीमा हेलिकोप्टर चढेर चुनावी प्रचारमा देशदौडाहा गर्नुभएका ढकालले पहिलो संविधानभामा भन्दा यो पटक एक सीट बढाउन सफल हुनुभएको छ ।
समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह
कुनै बेला एमालेमै रहेर कानून मन्त्रीसमेत बन्नुभएका प्रेमबहादुर सिंह अहिले समाजवादी जनता पार्टी खोलेर त्यसको अध्यक्ष बन्नुभएको छ । पहिलो संविधानसभामा समानुपातिकबाट एक सीट जितेको समाजवादी जनता पार्टीले यो पटक पनि एक सीट जित्दै संविधानसभाको २९ औं स्थानमा रहेको छ ।
समानुपातिकमा २१ हजार मत ल्याएपछि एक सीट पाएको समाजवादी जनता पार्टीले अध्यक्ष प्रेमबहादुर सिंहलाई नै संविधानसभामा पठाउने पक्का भएको छ । एमाले र कांग्रेसबीच सहमति नभई छुट्टाछुट्टै बहुमत जुटाउने खेल शुरु भएमा प्रेमबहादुर सिंहले पनि भूमिका पाउने अवस्था छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी
देशका ठूला साना सबै राजनीतिक दल संघीयताको पक्षमा उभिंदा त्यसको विरोधमा रहेको एकमात्र राजनीतिक दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यो पटक समानुपातिकबाट सभासद बन्ने पक्का भएको छ । chitra bahadur kcपहिलो संविधानसभामा बाग्लुङ १ बाट प्रत्यक्षमा चुनाव जित्नुभएका उहाँ यो पटक समानुपातिकमा बस्नुभएको हो ।
पहिलो संविधानसभामा संघीयता विरुद्व चर्को बहस गर्नुभएका केसीलाई पटक पटक मार्ने धम्की दिइएको घटना पनि सार्वजनिक भएको थियो ।यो चुनावमा पनि संघीयताको विपक्षमा उभिंदै चुनावी मैदानमा उत्रेको राष्ट्रिय जनमोर्चाले प्रत्यक्षतर्फ एक सीट पनि जित्न सकेन । समानुपातिक तर्फ भने उसले सीट जितेको छ ।
३ सीट सहित संविधानसभामा पुगेको राष्ट्रिय जनर्मोचाले यो पटक पनि संघीयता विरोधी नारा चर्काउने पक्का छ । राजमोका अध्यक्ष चित्रबहादुर केसीको संघीयता विरोधी आवाज संविधानसभामा यो पटक पनि जनताले सुन्न पाउने अवस्था आएको हो ।
मालेका अध्यक्ष सीपी मैनाली
कुनै बेला नेपाली कम्यूनिष्टको केन्द्र शक्तिका रुपमा रहनुभएका सीपी मैनाली सानो पार्टी नेकपा मालेका अध्यक्षका रुपमा हुनुहुन्छ । cp mainaliपहिलो संविधानसभामा पनि समानुपातिकबाटै सभासद बन्नुभएका मैनाली यो पटक पनि समानुपातिकबाटै सभासद बन्नुहुनभएको हो ।नेकपा एमालेमा रहँदा प्रभावशाली नेताकारुपमा रहनुभएका मैनाली एमाले विभाजित भएपछि मालेमा लाग्नुभएको थियो । अन्य नेताहरु एमालेमा फर्किर्एपनि उहाँ भने मालेको अध्यक्ष भएर राजनीतिमा सकृय हुनुहुन्छ ।
एकीकृत माओवादीसँग मिल्ने चुनाव चिन्ह हसिंया र तारा यो पटक पनि मैनालीलाई राम्रो फाबेको छ । नेकपा मालेले यो पकट समानुपातिकबाट ५ वटा सीट पाएको छ । ५ सीट जितेको माले यो संविधानसभामा दशौं ठूलो शक्ति बनेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.