चपलीहाइटकी नायिका चप्परी पल्टाउन व्यस्त 'रिल'मा आबारा केटी, 'रियल लाइफ'मा गरिखाने युवती

१७ मंसिर, काठमाडौं । नेपालमा निराशा र विकृतिमात्रै बढेका छैनन्, राम्रा र उदाहरणीय काम पनि देखा पर्न थालेका छन् । चर्चित हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)ले कलाकारिताबाट उब्रेको समय बगुंर पालनमा लगाएको सामाचार आइतबार अनलाइनखबरमा प्रकाशित हुँदा धेरै पाठकहरुले यसलाई सकारात्मक थालनीको संज्ञा दिनुभयो । धुर्मुसले जस्तै चपलीहाइट चलचित्रकी नायिका विनिता बरालले पनि चलचित्रकर्म बाहेकको जीवनलाई तरकारी खेतीमा लगाइरहनुभएको छ ।
1-binitaसंविधानसभा चुनावका बेला राजधानीमा तरकारीको भाऊ अत्यधीक बढेको थियो र त्यसबेला नायिका बराललाई तरकारी खेतीमा फसेको लगानी उठाउन भ्याई नभ्याई थियो । आम नेपालीलाई चुनावको चटारो भइरहँदा नायिका बीनिता बराल आफ्नै अर्गानिक खेतीमा व्यस्त हुनुहुन्थ्यो । चुनावको समयमा तरकारीको मुल्य आकाशिएपछि त्यसको मौका उहाँले पनि छोप्नुभयो ।
गएको दशैंदेखि राजधानी नजिकैको टोखामा २ रोपनी जग्गामा तरकारी खेती गरेर विक्री थालेकी विनिताले चुनावसम्म त्यसलाई निरन्तरता दिनुभयो । चुनाव अघि राजधानीमा ५० रुपैया प्रतिकिलो रहेको काउली मंसिर लाग्दा नलाग्दै १ सय १० सम्म पुग्यो । विनितालाई चुनावको कारणले तरकारीको भाउ बढेपछि केही राहत मात्र भएन, तरकारी व्यवसायमा केही नाफा पनि भयो ।
तर, झरीको सिजनबाट तरकारी खेती सुरु गरेकाले समग्रमा खासै फाइदा नभएको तर्क उहाँको छ । तिहारको समयमा सयपत्री र मखमली फूलको व्यापार भने प्रशस्त भएको उहाँले बताउनुभयो । ‘घाटा त धेरै भएन, तर सबै मिलाउँदा ३० हजार जति लगानी उठाउँन बाँकी छ ।’ नायिका बरालका अनुसार उहाँलाई एक सिजनले व्यापारको तरिका र अर्गानिक खेती गर्ने अनुभव हौसला प्रदान गरेको छ ।
दुई रोपनी जग्गामा अर्गानिक खेती गरेर नायिकालाई सन्तुष्टी मिलेको छैन । यसैले अहिले उहाँले अन्य २ जना साथीसँग मिलेर १० रोपनी जग्गा भाडामा लिनुभएको छ । मंसिर १ गतेबाट १० रोपनी जग्गा भाडामा लिएर विनिताले अर्गानिक खेती सुरु गर्नुभएको छ । अहिले नयाँ बारीमा लसुन, बेथेको साग, रायो र पालुङको साग लगाइएको उहाँले बताउनुभयो । यसअघि रोपेको बारीमा काउली पनि लोभलाग्दो तरिकाले फलिरहेको विनिताले बताउनुभयो ।
2-binata
अब बिहेको सिजनले काउलीको भाउ बढे नाफा हुने नत्र केही भन्न नसकिने विनिताको प्रतिक्रिया छ । विनिताको कृषि फार्ममा फलेको तरकारी नक्साल, बानेश्वर लगायतका आउटेल सम्म पुग्ने गरेका छन् । अब विनिताको टिमले आफै आउटलेट खोल्ने तयारी पनि गरिसकेको छ ।
तरकारी खेतीबाट घाटा नलाग्ने अनुभव संगालिसक्नुभएको छ चपली गर्लले । उहाँले अनलाइनखबरसँग भन्नुभयो, ‘तरकारी त बारीबाटै विक्री हुन्छ, फार्ममा पुग्नेले अझ केही सस्तो पाउँछन् ।’
चपलीहाइट चलचित्रमा नयाँ पुस्ताकी सेक्सी एवं झण्डै झण्डै आवाराजस्तै भूमिकामा देखिने नायिका बराल रियल लाइफमा भने गरीखाने केटीका रुपमा देखा पर्नुभएको छ । सुरुमा तरकारी खेती थालेको भन्दै फेसबुकमा तस्वीर सार्वजनिक गर्दा विनिताले खेती गरिखाने कुरामा धेरैले पत्याएका थिएनन् । तर, विनिताले खेतीलाई निरन्तरता दिएर आफूमा बलियो इच्छाशक्ति एवं श्रमप्रति सम्मान रहेको पुष्टि गर्नुभएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.