टिभि कि मोबाइल ? लोडसेडिङ अनि हेर्न पाउदा पनि केबलको विज्ञापन, टेलिभिजनलाई मोबाइलमै भित्राउने इच्छा धेरै को होला । भैरहेको प्रतिस्पर्धा र विकास हेर्दा यस्ता दिन आउन पनि धेरै पछि छैन जस्तो देखिन्छ ।

संविधान सभाको चुनाव यो पटक धेरै फेसबुकलाई लाग्यो । २० लाख बढी नेपाली प्रयोगकर्ता रहेको फेसबुकका वालमा रिस, उत्साह देखि उत्सुकता भेटिए । परम्परागत संचारमाध्यमलाई चुनौती दिइ नसकेको भएपनि सामाजिक संजालले यसपटक सूचनालाई खुबै काम पाए । चुनावको रक्नो सकिदा विश्वको अर्को कुनामा चाहि 'टेलिभिजन डेथ' का समाचार आउन थालेका छन् । टेलिभिजनलाई 'डेथ' मा पुर्‍याउने काम चाहि मोबाइलबाट हुन थालेको देखिएछ ।
पश्चिमा मुलुक र विशेषगरी अमेरिकामा टेलिभिजनको अस्तित्वमै खतरा परेको समाचारले चर्चा पाउन थालेका छन् । त्यो किनभने ओलम्पिकको समय बाहेक २०११ पछि टेलिभिजन दर्शकको संख्या घट्दो क्रममा देखिन थालेको छ । सिटि नामक संस्थाले गरेको अध्ययनले टेलिभिजन मात्र होइन ब्रोडब्यान्ड इन्टरनेट कम्पनीलाई पनि चिन्तामा पारेको छ । २०१३ को आधा वर्षमा आएको तथ्याकंले अमेरिकाका प्रमुख टेलिभिजन सेवा उपलब्ध गराउने कम्पनीको १ लाख १३ हजार ग्राहक घटेको देखियो । जसमा केबल सहित ब्रोडब्यान्ड सेवा लिन धेरै थिए । यो तथ्याकंले धेरैलाई अचम्ममा पार्यो । टेलिभिजनका दर्शक घट्नुलाई नौलो नमाने पनि विकल्पमा रुपमा आएको ब्रोडब्यान्ड कम भएपछि आशचर्य भएको हो । २०१० यता मात्रै ५० लाख अमेरिकीले घरबाट केबलका तार छुटाइसकेका छन् । पछिल्लो तीन महिनामा मात्रै टाइम वार्नरका च्यानलले ३ लाख बढी ग्राहक गुमाइसकेको बिजनेश इन्साइडरले उल्लेख गरेको छ ।
अब फर्को आफ्नै मुलुक तर्फ । टेलिकमले थ्रीजी सेवा सुरु गर्दा टेरिसटेरियल टेलिभिजन प्रसारण मोबाइलबाटै हेर्न सकिने प्रचार गरेपनि खासै उपयोग भएन । उपयोग गर्न खोज्दा पनि इन्टरनेटको गुणस्तरले साथ दिएन । अनि  सुधारिएको थ्रीजी र सुरु भएको इभिडिओ इन्टरनेट पछि अवस्था चाहि के छ ? अहिले नै मोबाइलमा टेलिभिजन हेर्ने क्रमले विस्तार पाइनसकेपनि भविष्यमा अर्को विकल्प नरहने टेलिकमको वायरलेस टेलिफोनी डाइरेक्टोरेटका निर्देशक अनुपरन्जन भट्टराई बताउछन् । 'आउनै पर्छ र दुरसंचारको सबैभन्दा ठुलो ट्राफिक भिडियो नै हुनेछ' उनले भने । विश्वभरको ट्रेन्ड अनुसार यहा पनि परिवर्तन आउने र त्यसका लागि कम्पनीको तयारी रहेको उनी बताउछन् । 'भ्वाइस, इन्टरनेट भन्दा पनि भिडियोको प्रयोग बढी हुन्छ' उनले भने,'र त्यसका लागि बढी व्यान्डविथ आवस्यक पर्छ ।' मोबाइल मार्फत टेलिभिजन घरघर पुर्‍याउन ब्यान्डविथको शुल्क कम र भिडियोको गुणस्तर फरक हुनुपर्ने उनले बताए । 'मोबाइलबाट हेर्दा भिडियो गुणस्तर पनि अन्यमा जस्तो धेरै चाहिदैन' उनले भने,'त्यसैले टेलिभिजन च्यानलले पनि छुट्टै व्यवस्था गर्नुपर्छ ।' छिटै इन्टरनेट टेलिभिजनको वचस्व सुरु हुने उनको अनुमान छ ।
अर्कोतर्फ टेलिभिजनलाई मोबाइलसम्म पुर्‍याउन एउटा प्रमुख भूमिका सेटको हुने एनसेलका कर्पोरेट कम्युनिकेशन एक्सपर्ट मिलन शर्मा बताउछन् । 'यस्ता सेवा मोबाइलको सेट संग पनि जोडिएका हुन्छन्' उनले भने,'विस्तारै बढ्दै गएको प्रयोगका कारण टेलिभिजन मोबाइलमा हेर्ने क्रम हामी कहा पनि बढ्न थाल्छ ।' यसको एउटा उदाहरण टेलिभिजन च्यानल आफैले इन्टरनेटको प्रयोग बढाउनु रहेको उनी बताउछन् । 'जिल्ला जिल्लाबाट भिडियो इन्टरनेटको माध्यमबाट पठाउने क्रम बढेको छ' उनले भने,'यसपनि विस्तारै इन्टरनेटमा प्रवेश गर्ने क्रम देखाएको छ ।'
चुनावका बेला अधिकासं टेलिभिजन च्यानलले भिडियो च्याटिङ मार्फत प्रत्यक्ष प्रसारण गरेका थिए । यो नौलो घटना भने थिएन । किनभने सिएनएन, अलजजिरा लगायतका च्यानलले पनि स्काइप मार्फत प्रत्यक्ष प्रसारण गर्न थालिसकेका छन् ।
अनि टेलिभिजननै मोबाइलमा हेर्न चाहि इन्टरनेटको गतिले प्रमुख भुमिका खेल्ने शर्मा बताउछन् । 'थ्रीजीको अर्को सुविधा भनेको चाहिए जति स्पिड बढाउन सकिन्छ' शर्मा भन्छन,'बजारको माग र विस्तार हेरेर कम्पनीले द्रुत गतिको सेवा दिन सक्छन् ।' एनसेलले पनि प्रमुख सहरी क्षेत्रमा माग अनुसार गति बढाउदै लैजाने योजना बनाएको उनले बताए ।
गति र सेवा पनि पाउन थालेपछि कुरा आउछ मूल्यको । पछिल्लो समय दुई ठुला सेवा प्रदायकले गुणस्तर संगै मूल्यमा पनि प्रतिस्पर्धा थालेका छन् । जसको अर्थ हो सस्तोमा धेरै सुविधा पाउनु । एनसेलले मोबाइलमा प्रति एमबी शुल्क २९ पैसासम्ममा इन्टरनेट सेवा दिन थालेको छ । जुन १० जिबि डाटा खरिद गर्दा पाइन्छ । सबैभन्दा थोरै ३ एमबी डाटा खरिद गर्दा एनसेल मोबाइल प्रयोगकर्ताले २ रुपैया प्रति एमबीमा चलाउन पाउछन् ।
प्रतिस्पर्धामा उत्रिएको टेलिकमले पनि इभिडिओ सेवामा मूल्य घटाएको छ । १० जिबि खरिद गर्दा प्रति एमबी २३ पैसामा सेवा उपलब्ध गराइएको छ । जसमा ५ सय एमबी खरिद गर्दा प्रति एमबी शुल्क ४० पैसा छ ।
घट्दै गएको इन्टरनेट र सुविधा युक्त सेटको मूल्यले पक्कै टेलिभिजन हेर्न केबल चाहिने दिन नरहला । टेलिभिजन कार्यक्रमले एप्लिकेसन बजारमा बढाउन थालेको आफ्नो उपस्थितीले पनि यस्तो संकेत गरिसकेका छन् । अनि बिभिन्न निशुल्क टेलिभिजन समेटेर विश्वभर प्रसारण गर्ने एप्लिकेसन पनि थोरै छैनन् । केहि मोबाइल सेवा प्रदायक आफैले पनि मोबाइल टिभिको प्रचार थालिसकेका छन् ।
यस्ता दिन किन पनि टाडा छैनन् भने भारतमा टाटा स्काइले मोबाइल टिभि एप्लिकेसन ल्याइसकेको छ । नजिकै आइसकेको प्रविधि नेपालमा पनि डिटिएच कम्पनीले ल्याउन समय नलाग्नु पर्ने हो । अनि २०१७ सम्म विश्वभर मोबाइलमा ८० लाख टेराबाइट भिडियो प्रति महिना हेरिने अनुमान भित्र केहि हिस्सा नेपालले पनि राख्छ की ।


0 comments

Write Down Your Responses

Powered by Blogger.