चुनावी धाँदलीबारे सेनाले मुख खोल्यो 'नेपाली सेनाको चरित्रमाथि प्रहार गर्ने प्रयास'
काठमाडौं । संविधानसभा निर्वाचनमा भएको भनिएको धाँदलीमा नेपाली सेनाले आफ्नो संलग्नता रहेको आरोपको खण्डन गरेको छ । धाँदलीमा सेनाको संलग्नता रहेको एमाओवादीसहितका दलहरुको आशंकालाई सेनाले ‘सेनाको अराजनैतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजी’ भनेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयबाट बिहीबार जारी विज्ञप्तिमा भनिएको छ-’नेपाल सरकारको निर्णयबाट प्राप्त कार्यादेश बमोजिम नेपाली सेनाले आफ्नो जिम्मेवारी इमान्दार एवं कर्तव्यनिष्ट भई पालना गरेको परिप्रेक्ष्यमा केही संचार माध्यममार्फत निर्वाचनमा धाँधली भएको भन्ने नाममा आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तानी नेपाली सेनाको अराजनैतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजीप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।’

‘संविधानसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्ने नेपाल सरकारको लक्ष्य अनुरुप’ प्राप्त कार्यादेश नेपाली सेनाले नितान्त इमान्दारीपूर्वक, उत्कृष्ट एवं व्यवसायिक ढंगले सम्पन्न गरेको विज्ञप्तिमा उल्लेख छ ।
सेनाको भूमिकालाई नेपाल सरकार, निर्वाचन आयोग, कुटनीतिक क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र पर्यवेक्षक, नागरिक समाज, संचारजगत लगायत संलग्न सबै क्षेत्रबाट समेत प्रसंशा भएको भन्दै सैनिक निर्देशनालयले भनेको छ-’नेपाली सेनाले निर्वाचनमा निर्वाह गरेको निष्पक्ष भूमिकालाई सम्पूर्ण नेपाली जनताले आत्मसात् गरी वास्तविकता बुझेको तथ्यप्रति नेपाली सेना विश्वस्त र गौरवान्वित छ । नेपाली सेना सदैव देश र जनताको सुरक्षाप्रति कटिबद्ध छ ।’
सेनालाई मतपेटिका ओसार्ने म्यान्डेट थिएन : भट्टराई
यसैवीच पूर्वप्रधानमन्त्री एवं एमाओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले अनलाइनखबरसँग कुराकानी गर्दै नेपाली सेनालाई चुनावमा तेस्रो घेरामा खटाउने दलीय सहमति भएको तर मतपेटिका ओसार्ने म्यान्डेट दलहरुले नदिएको बताउनुभएको छ ।
‘सेनालाई सुरक्षाको तेस्रो घेरामा खटाउने सहमति भएको थियो, तर मतदान सकिएपछि सेनाले दलका प्रतिनिधिलाई पनि साथमा बस्न नदिई मतपेटिका लिएर जाने आदेश म्यान्डेट कसले दियो ?’ डा. भट्टराईले भन्नुभयो,’यसविषयमा उच्चस्तरीय छानविन गरी सत्य-तथ्य बाहिर ल्याइनुपर्छ ।’
(यस सम्बन्धमा डा. भट्टराईको विस्तृत अन्तरवार्ता शुक्रबार अनलाइनखबरमा प्रकाशित हुनेछ )
0 comments
Write Down Your Responses