काँग्रेस नेता भन्छन्-शीर्ष नेतालार्इ कार्यकर्ता भन्दा पत्नी र आफन्त प्यारा सभासद छनोटमा गगनसहित १२ केन्द्रीय सदस्यको नोटअफ डिसेन्ट
लामो रस्साकस्सीपछि नेपाली काँग्रेसले समानुपातिक तर्फ पाएको ९१ जना सभासदको टुंगो लगायो । र त्यही अनुरूप निर्वाचन आयोगमा समानुपातिक सभासदको सूचीपनि बुझायो । तर सर्वसम्मतिले भने केन्द्रीय समितिमार्फत निर्णय गराउन सकेन । शुरू देखि नै पार्टी सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर देउवाले ६० र ४० प्रतिशतका अधारमा सभासदको भागबण्डा गर्नु भएको थियो । त्यसमा अन्तिम समयमा उपसभापति रामचन्द्र पौडेलले असहमति जनाउँदै भागवन्डा गर्ने भए आफूलार्इ पनि ३३ प्रतिशत दिनु पर्ने वताउनु भएको थियो ।

अन्तिम समयमा सभापति कोइरालाले उपसभापति रामचन्द्रलार्इ मनाएपछि संस्थापन पक्ष र देउवा पक्षवीच ६० र ४० कै अनुपातमा सभासद बाँडफाँड गरियो र अन्तिम सूची तयार पारेर केन्द्रीय समितिको वैठक मार्फत अनुमोदन पनि गराइयो । तर संसदीय बोर्डले ल्याएको सूची भने सर्वसम्मतिवाट पास हुन सकेन र त्यसको टुंगो बहुमतीय प्रक्रियावाटै लगाइयो । केन्द्रीय समितिको वैठकको सुरूमै प्रमुख तीन नेता सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले बोल्नु भयो । उहाँहरू तीनै जनाले स्वरमा स्वर मिलाएर भन्नुभयो- हामीले सवैलार्इ न्याय गर्न सक्दैनौँ र सकेनौँ । सकेसम्म सवैलार्इ मिलाएर सूची तयार पारेका छौँ भन्दै ताली बजाउन भनियो । तर त्यही समयमा केन्द्रीय सदस्य नेता गगन थापाले शीर्ष तीन नेताको भनार्इलार्इ प्रतिवाद गर्दै भन्नुभयो-यो हामीलार्इ स्वीकार्य छैन । थापाले तीन शीर्ष नेताले मात्रै गरेको निर्णय मान्य नहुने भन्दै त्यसको विरोध गर्नु भयो । थापाले बैठकमा भन्नुभयो, यो पार्टीले गरेको निर्णय होइन । पार्टीभित्रको गुट उपगुटले गरेको निर्णय हो । हामीलार्इ अमान्य छ । ‘
‘तीन नेताले भागवन्डाका आधारमा तयार पारेको अन्तिम सूचीलार्इ पार्टीको निर्णय भन्नु नाटक सिवाय केही हुन सक्दैन, थापाको भनार्इ थियो ।थापाले यस्तो भनेपछि तीन शीर्ष नेताहरू नाजवाफ भए र एकोहोरो सुनिमात्रै रहे । त्यहि क्रममै उपसभापति पौडेल वैठक कक्षवाट बाहिरिनु भयो । थापाले निर्णयको विरोध गर्दै गर्दा उहाँप्रति समर्थन जनाउँदै बैठक कक्षमा तालि पनि बज्यो केही छिन् । नेता थापाले गुटभित्रका झगडामात्रै मिलाएर कसैले आफ्ना स्वास्नी त कसैले आफ्ना नजिकका आफन्तलार्इ सभासद बनाएको भन्दै कडा आपत्ति जनाउनु भयो र नोट अफ डिसेन्ट लेख्नु भयो । त्यसपछि बोल्नु भयो नेता चन्द्र भण्डारी । भण्डारीले पनि शीर्ष तीन नेताले अराजनीतिक चरित्र देखाएको भन्दै आक्रोश पोख्नु भयो र फेरि वैठक कक्षमा केही ताली बज्न थाल्यो । भण्डारीले पार्टीका लागि त्याग र बलिदानी गरेका नेताहरुलाई पाखा लगाएर तीन ठूला नेताले भागवण्डा गरेर सभासद बाँडेकोमा कडा आपत्ति जनाउनु भयो । ‘सभापति, उपसभापति र बरिष्ठ नेता देउवाले सभासद छनोटमा अराजनीतिक चरित्र देखाए । यो राजनीतिक निर्णय होइन यसलार्इ व्यक्तिवादी निर्णय भन्नुपर्दछ । ।’
अनलाइनखबरदसंग कुराकानी गर्दै नेता भण्डारीले भन्नुभयो, ‘ तीन ठूला नेताका कारण दलित, जनजाति, महिला, लगायत सुरेन्द्र पाण्डे जस्ता राम्रा नेता पनि पाखा लाग्नुपरेको छ । , ठूला नेताका आसेपासे र नातालाई सभासद बनाएर योगदान गरेका कार्यकर्तालाई सभासद बनाइनु सरासर अन्याय हो ।’ पछि बोलेका अर्जुनप्रसाद जोशी, आमोद उपाध्याय, दीपकुमार उपाध्याय, राजन पन्त, बाबुराम राना, सुरेन्द्र पाण्डे, मीना सुब्बा, रमेश रिजाल, जीवनबाहादुर शाही र अजय चौरसियाले पनि सभासद छनोटको निर्णयप्रति आपत्ति जनाउनु भो । तर समानुपातिकतर्फवाट सभासद बनेका ३० केन्द्रीय सदस्यसहित अन्य नेताहरूले सभानुपातिकको अन्तिम सूचीको समर्थन गरेपछि १२ केन्द्रीय सदस्यको विरोधका वावजुद संसदीय बोर्डले तयार पारेको समानुपातिक सभासदको सूचीलार्इ अनुमोदन गर्यो र निर्वाचन आयोगमा बुझाउन मूख्यसचिव चीनकाजी श्रेष्ठ र सहसचिव प्रकाश शर्मा हतार हतारमा त्यसतर्फ लागे । केन्द्रीय समितिको वैठक भने जारी नै थियो अन्य केन्द्रीय सदस्यहरूले बोल्नेक्रम चलिरह्यो ।
एकैछिनमा पार्टी कार्यालय सानेपा परिसरमा पत्रकारहरूसंग कुराकानी गर्दै प्रवक्ता दिलेन्द्र बडुले केही केन्द्रीय सदस्यको विरोधका वावजुद सर्वसम्मतिवाट समानुपातिक सभासद छनोट गरिएको वताउनुभयो । उहाँले भन्नुभयो-’सवैलार्इ मिलाएर सभासद छनोट गरिएको छ । सवैलार्इ न्याय हुने गरी सभासद चयन गरिएको हो ।’ उहाँले पार्टीले सर्वसम्मतिवाट समानुपातिक सभासदको चयन गरिएको जानकारी दिँदै ९१ जना सभासदकै सूची पढेर सुनाउनु भयो । र त्यहाँवाट बाहिरिनु भयो ।
तर निर्णय सार्वजनिक नहुँदासम्म पत्रकारका नजिक आएर निर्णयवारे पटक पटक जान्न र सुन्न इच्छुक केही समानुपातिक उम्मेदवारहरू निर्णय बाहिर आएपछि केही सभासद भएकोमा वधार्इ साट्नमा व्यस्त बने भने केही पार्टीले आफ्नो मुल्यांकन नगरेको भन्दै नेताहरूप्रति आक्रोशित हुँदै रून र नारावाजी गर्न थाले । केहीले भने नेताकै गाडिको बाटो छेक्न थाले । अन्ततः सवै नेताहरू एकपछि अर्को गर्दै बाहिरिएपछि छनोट नभएका समानुपातिक उम्मेदवारहरू अब पार्टीमा बस्नुको कुनै अर्थ नरहेको भन्दै बाहिरिए ।
निर्णयविरूद्ध गगन थापासहित १२ जनाको नोट अफ डिसेन्ट
सभासद छनौट प्रकृयामा असहमति जनाउँदै कांग्रेसका १२ जना केन्द्रीय सदस्यहरुले नोटअफ डिसेन्ट लेखेका छन् । ठूला नेताले आफ्ना मान्छेलाई प्राथमिकता दिएको भन्दै उनीहरुले निर्णयपुस्तिकामा नोटअफ डिसेन्ट लेखेका हुन् । नोटअफ डिसेन्ट लेख्नने केन्द्रीय सदस्यहरूमा गगन थापा, अर्जुनप्रसाद जोशी, चन्द्र भण्डारी, आमोद उपाध्याय, दीपकुमार उपाध्याय, राजन पन्त, बाबुराम राना, सुरेन्द्र पाण्डे, मीना सुब्बा, रमेश रिजाल, जीवनबाहादुर शाही र अजय चौरसिया हुनुहुन्छ ।
अन्य तीन जना केन्द्रीय सदस्यहरू एनपी साउद, शंकर भण्डारी र पुष्पा भुसालले भने सुरूमा नोट अफ डिसेन्टमा हस्ताक्षर गर्ने वताएपनि अन्तिम समयमा हस्ताक्षर नगरी फर्कनु भएको स्रोतले जनाएको छ । तर कांग्रेसले विवादकाबीच समानुपातिकका ९१ जना सभासदहरुको सूची सोमबारै निर्वाचन आयोगमा बुझाएको छ ।
0 comments
Write Down Your Responses