राष्ट्रपतिमा पहिलो रोजाइ रामवरण, दोस्रो नेम्वाङ, तेस्रो प्रचण्ड 'भर्चुअल' जमात भन्छ- राष्ट्रपतिमा विवाद नगर


२०७० मंसिर २१ गते १६:२६ मा प्रकाशित
२१ मंसिर, काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेस र एमाले ठूला शक्तिका रुपमा अघि आएपछि अहिले राष्ट्रपतिका बारेमा दुई दलबीच चर्को बिवाद भइरहेको छ । कांग्रेसले पहिलो संविधानसभाबाट निर्वाचित डा. रामवरण यादवलाई नै निरन्तरता दिनुपर्ने बताइरहँदा एमालेले भने नयाँ जनादेशअनुसार अघि बढ्नुपर्ने अडान राखेको छ । उता एमालेले नयाँ जनादेशबाट स्वीकृत हुनुपर्ने अडान लिएपछि राष्ट्रपति रामवरण यादवले पनि कानुनी परामर्शलाई तीव्र पारिरहनुभएको छ । तर, यहीबेला अनलाइनखबरको ‘जनमत स्तम्भ’मा प्रतिक्रिया दिनेहरुले चाहिँ रामवरण यादवलाई नै रोजेका छन् ।
rastapati-1
एकीकृत माओवादीका नेताहरुले राष्ट्रपतिका बारेमा नयाँ जनादेश अनुसार छिनोफानो गर्नुपर्ने सार्वजनिकरुपमा धारणा राखेपछि ठूला दलहरु पनि विभाजित भएका छन् । दुई दलबीच अन्य मुद्दामा निकटता भए पनि राष्ट्रपतिका विषयमा भने दुरी बढ्दै गएको छ । दुई दलबीचको फरक अडानका कारण सरकार निर्माण प्रकृया समेत पर धकेलिने अवस्था आएको छ ।
राष्ट्रपतिका विषयमा अनलाइनखबरले सोधेको जनमतमा सहभागी इन्टरनेटका पाठहरुले भने पहिलो संविधानसभाबाट निर्वाचित हुनुभएका डा. यादवलाई नै कायम गरी अगाडि बढ्नुपर्ने राय व्यक्त गरेका छन् । संविधान निर्माणमा केन्दि्रत हुनुपर्ने भएकाले निर्विवादित छवि बनाउनुभएका यादवलाई नै निरन्तरता दिएर जाँदा सबैभन्दा उपयुक्त हुने राय जनमत स्तम्भमा सहभागीहरुको छ ।
धेरै जनमत रामवरण यादवकै पक्षमा
अनलाइनखबरले गरेको प्रश्नावलीमा सहभागी मध्ये ३० प्रतिशत जनमत राष्ट्रपति यादवको पक्षमा उभिएको छ । जनमतमा सहभागीहरुले राष्ट्रपति यादवलाई निर्विवादित भएको जनाउँदै उहाँलाई कायमै राखेर जाँदा संविधान चाँडो बन्ने बताएका हुन् ।पहिलो संविधानसभा असफल भएकाले राष्ट्र प्रमुखका विषयमा विबादमा फस्दा दोस्रो संविधानसभाले पनि काम गर्न नसक्ने जनाउँदै जनमतका सहभागीले एमालेले झिकेको अहिलेको बिवाद गलत भएको उनीहरुले धारणा राखेका छन् ।
नयाँ राष्ट्रपतिमा नेम्वाङको नाम
अनलाइनखबरको जनमतमा सहभागीहरुले नयाँ राष्ट्रपति छान्ने हो भने पहिलो संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङ उपयुक्त हुने जनाएका छन् । जनमतमा सहभागीमध्ये २० प्रतिशतले नेम्वाङलाई नयाँ राष्ट्रपतिका रुपमा हेर्न चाहेका छन् ।
पहिलो संविधानसभामा प्रभावकारी र तटस्थ भूमिका निर्वाह गरेका कारण नेम्वाङको पक्षमा पनि जनमत खडा भएको हो । पहिलो संविधानसभाबाट मधेसी मूलका राष्ट्रपति र उप-राष्ट्रपति चुनिएकाले योपटक आदिवासी जनजातिकातर्फबाट नेम्वाङलाई राष्ट्रपति बनाउनुपर्नेमा दोस्रो बढी मत आएको
छ । पहिलो संविधानसभा निर्वाचनपछि उठेको आदिवासी जनजातिको मुद्दालाई सम्वोधन गर्न पनि राष्ट्रपतिमा आदिवासी जनजातिबाट र उपराष्ट्रपतिमा महिलालाई ल्याउनुपर्ने धारणा जनमतमा सहभागीले राखेका हुन् ।
तेस्रो रोजाइ प्रचण्ड
दोस्रो संविधासनसभाको निर्वाचनमा अप्रत्याशित हार व्यहोरेको एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई राष्ट्रपति बनाउनुपर्ने भन्दै तेस्रो धेरै जनमत आएको छ । एमाओवादी अध्यक्ष प्रचण्डका पक्षमा १९ प्रतिशत जनमत आएको छ । प्रचण्डलाई राष्ट्रपति बनाउनुर्पे अडानमा रहेका जनमतका सहभागीहरुले एक वर्षभित्र संविधान बनाउनका लागि प्रचण्डलाई राष्ट्रपति पद दिनुपर्ने आवाज उठाएका हुन् ।
अप्रत्याशित रुपमा हार व्यहोरेको एमाओवादीले संविधानसभामा नजाने धारणा ल्याइरहँदा नयाँ जनादेशअनुसार जाँदा प्रचण्डलाई नयाँ राष्ट्रपति बनाउनुपर्ने मत आएको हो । राष्ट्रपतिका रुपमा अन्य दाबेदारहरु चर्चामा आए पनि जनमतले भने रामवरण यादव, सुवास नेम्वाङ र प्रचण्डलाई नै राष्ट्रपतिको प्रमुख रोजाइ बनाएका छन् ।
माधव नेपालदेखि खिलराज रेग्मीसम्म
एमाले नेता माधवकुमार नेपाललाई नयाँ राष्ट्रपतिका रुपमा हेर्न चाहाने करिव १० प्रतिशत मात्रै जनमत रहेको छ । त्यसैगरी जनमतमा सहभागीहरुमध्ये ३ प्रतिशतले चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीलाई नयाँ राष्ट्रपतिका रुपमा हेर्न चाहेका छन् ।
कांग्रेसका सभापति सुशील कोइरालालाई राष्ट्रपतिका रुपमा हेर्न चहाने इन्टरनेटको जनमत २ प्रतिशत मात्रै देखिएको छ । एकीकृत माओवादीका नेता बाबुराम भट्टराईको पक्षमा पनि २ प्रतिशत जनमत देखिएको छ । हिन्दू अधिराज्य र राजतन्त्रको पक्षमा रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको पक्षमा १ प्रतिशत भन्दा कम जनमत देखिएको छ ।
कांग्रेसका युवा नेता गगन थापाको पक्षमा पनि १ प्रतिशत जनमत देखिएको छ । जनमतमा सहभागीमध्ये ५ प्रतिशतले भने अहिल यो विवादमा नअल्झिन जोड दिएको छ ।
यस्तो छ जनमत

0 comments

Write Down Your Responses

Powered by Blogger.