एकीकृत नहुनु नै पराजयको मुल कारण — लक्ष्मणलाल कर्ण (सह–अध्यक्ष, सद्भावना पार्टी)


$एकीकृत नहुनु नै पराजयको मुल कारण — लक्ष्मणलाल कर्ण (सह–अध्यक्ष, सद्भावना पार्टी)०  संविधानसभा चुनावको परिणामले तपाइँलाई कत्तिको आश्चर्यमा पारेको छ ? 
— आश्चर्य लाग्नु स्वाभाविक नै हो किनभने अहिले पनि जनताले के भनिराखेका छन् भने हामीले दिएको मत कहाँ गयो । मत खसाल्ने क्रममा एक दुई ठाउँमा बुथ कब्जा गरेको खबर आए पनि बाँकी ठाउँमा मतदान शान्तिपूर्ण नै भएको भनियो । तर, पतपेटिकालाई सदरमुकाम पु¥याउन जहाँ १ घण्टा लाग्नुपर्ने हो त्यहाँ ५ घण्टा लगाइयो । मतगणना हुँदाको अवस्थामा निर्वाचन आयोगको एउटा सर्कुलर थियो । निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई सर्कुलर जारी गरेको थियो । मतपेटिकाको सिल टुटेको भेटिए पनि मतगणना गर्नुृ, मत घटिबढी भए पनि मतगणना गर्नुलगायतका परिपत्र जारी गरिएको थियो । यस किसिमबाट परिणाम आश्चर्यजनक भएको हो ।
० तपाइँको भनाइअनुसार चुनावमा धाँधली भएको हो ?
— व्यापक धाँधली भएको छ । धाँधली मतपेटिकाहरू जम्मा गर्ने ठाउँमा भएको रहेछ । त्यसैले परिणाम तल–माथि परेको छ । जनता पनि अहिले आश्चर्यमा परेका छन् ।
० तपाइँहरूसँग ठोस प्रमाण के छ ?
— धेरै प्रमाणहरू छन् । त्यसको प्रमाण अघि नै मैले भनिसकेँ कि मतपेटिकाको साथमा प्रतिनिधि किन राखिएन, सिल कसरी टुट्यो, सिल टुटेको मतपेटिका कसरी गन्ती भयो, मतपत्र खसेकोभन्दा बढी मत कसरी गणना भयो । अहिले मतगणना सकिइसकेपछि कहिले स्कुलमा मतपेटिका भेटिन्छन् कहिले चौकीमा भेटिन्छन् । यी सम्पूर्ण कुराहरू त सञ्चारमाध्यमहरूबाटै आइरहेका छन् नि । यति धेरै प्रमाण हुँदाहुँदै धाँधली नै भएको छैन भन्नु त मुर्खता मात्र हो । निर्वाचन आयोग एउटा संवैधानिक तथा स्वतन्त्र निकाय हो । यस्तो धाँधली भएको कुरा देखिइसकेपछि हामीले भन्यौं कसरी धाँधली भयो, के भयो भन्ने कुराको एउटा उच्चस्तरीय आयोग गठन गर्नुस् । लोकतन्त्रको जीवन नै निर्वाचन हो । लोकतन्त्रमा यदि भयमुक्त निर्वाचन भएन भने यसले लोकतन्त्रलाई धक्का पु¥याउँछ ।
० छानबिनको सन्दर्भमा तपाइँहरू कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
— हामीले दुई–तीन वटा कुराहरू भनेका छौं । एउटा कुरा त हामीले एउटा आयोग गठन गर्नुस् भन्ने माग गरेका छौ । त्यो आयोग निर्वाचन आयोगले गठन गरेन भने त्यसको लागि हामी दबाबमुलक कार्यक्रम गर्छौ ।
० उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म तपाइँहरू संविधानसभामा जानुहुन्न ?
— अहिले हामीले त्यस्तो भनिरहेका छैनौं । संविधानसभामा जाँदैनौं भन्ने निर्णय हामीले गरिसकेका छैनौं । हामीले दबाबमुलक कार्यक्रमहरू गर्छौ । हामीले निर्वाचन आयोगलाई समानुपातिकको लिस्ट दिने÷नदिने निर्णय पनि गरिसकेका छैनौं ।
० एकीकृत नेकपा माओवादी र मधेशवादी दलहरू पराजित हुनुको कारण एउटै हो ?
— कारण फरक–फरक छन् । मधेशवादीहरू पराजय हुनुको मुल कारण निर्वाचनमा एकीकृत नहुनु हो । दोस्रो कारण चुनावमा कुनै पनि ठाउँमा अचारसंहिताको पालना भएको देखिएन । ठूला पार्टीहरूले धेरै खरिद बिक्री गरे, भोजभतेर गरे त्यसैले जनतालाई सोच्ने मौका नै भएन । सैद्धान्तिक कुरामा जनताले सोच्ने मौका नपाइकन भोजभतेर, रकम बाँडफाँड, खरिद–बिक्रीलगायतका कुरामा अल्झिनु पनि मधेशवादीको हारको मुख्य कारण हो । मधेशमा अर्को एउटा रोग के देखियो भने जातपातको कुरा पनि उठेको थियो । यदि जातपातको कुरा उठ्छ भने त्यो ठाउँमा मधेशवाद समाप्त हुन्छ । मधेशका हकका कुराहरू समाप्त हुन्छन् । र, त्यो कुरा हामीले जनतालाई सम्झाउन नसकेको हो वा जनताले बुझ्न नसकेका हुन् । यसपालिको निर्वाचनमा धेरै मधेशीहरूलाई एमाले र कांग्रेसले मधेशबाट उम्मेदवारी दिए । र, उनीहरूले काग्रेस र एमालेको उम्मेदवार भएपनि हामी पनि मधेशी हौं मधेशका माग हामी पूरा गर्छौ, मधेशी जनतालाई अधिकार हामी दिलाउँछौं भन्ने कुराहरू गरिराखेका थिए । यसले गर्दा कांग्रेस र एमालेको काँधमा दायित्व थपिएको छ ।
० जनताले कांग्रेस र एमालेलाई विश्वास गर्नुको कारण के रह्यो होला ? 
— हामीले सुरूमा हेर्दाखेरी कांग्रेस र एमालेले जित्ने स्थिति नै थिएन । तर, पछि व्यापक रूपमा रकमको चलखेल भयो । आचारसंहिताले रोकिराखेको अवस्थामा पनि निर्वाचन आयोगले कतै नहेर्ने, निर्वाचन अधिकृतले कतै नहेर्ने कुराहरूले पछाडि माहोल केही बिग्रेर गएको हो । र, त्यो बिग्रेको माहोलले गर्दा परिणाममा फरक परेको हो । तर, मतपेटिका र मतपत्र परिवर्तन गरिनुले पनि यस्तो परिणाम ल्याउनका लागि कांग्रेस र एमालेलाई ठूलो सहयोग गरेको छ ।
० तपाइँहरूले मधेशका मुद्दाहरू कार्यान्वयन गराउन नसेकाले पराजित भएको त होइन ?
— चार वर्षको संविधानसभामा केवल मधेशीवादी पार्टी र एकीकृत माओवादी मात्र सत्तामा थिएनन् । कांग्रेस पनि सरकारमा थियो । एमाले पनि दुई–दुई पटक सरकारको नेतृत्व ग¥यो । अन्तिम अवस्थामा मात्र मधेशवादी र माओवादीको सरकार थियो । र, मधेशीका दुई–तीन वटा अधिकारका कुरा छन् । समावेशी ऐनका कुरा, नागरिकताका कुरा, मधेशीलाई सेनामा भर्नाका कुरा यी सम्पूर्ण कुराको आधारमा नै मधेशवादी पार्टीहरूले माओवादीलार्ई समर्थन गरेका थिए । र, ती मुद्दालाई जति हदसम्म लानुपर्ने हो, लागू गराउनु पर्ने हो विभिन्न कारणले भएन । एउटा त त्यसभित्र रहेका मन्त्रीहरूको निक्रियताले गर्दा अर्को सर्वोच्च अदालतको हस्तक्षेपले गर्दा मधेशका एजेन्डा कार्यान्वयन हुन सकेन । हामी जुन कामका लागि गएका थियौं ती एजेन्डाहरू नै पूरा हुनमा ढिलाइ भयो ।
० तपाइँहरू चौथौं शक्ति भएर आउनुभएको थियो । तर, पनि मधेशका मुद्दा सम्बोधन गराउन सक्नुभएन । यो कारणले पनि जनता विमुख भएका त होइनन् ? 
— शक्ति नै भन्नुहुन्छ भने त्यसबखत पनि सम्पूर्ण मधेशवादी पार्टी मिलेर चौथौं शक्तिको रूपमा थिए । आज पनि हेर्नुहुन्छ भने मधेशवादी पार्टीहरूको कुल सदर संख्या चौथौं स्थानमा नै पुग्छ । त्यो स्थानमा कतै कमी भएको छैन । जुन किसिमबाट हामी अगाडि जानुपर्ने थियो । मधेशको एजेन्डालाई स्थापित गर्न सद्भावना पार्टी र स्वयम् मैले संविधानसभामा महत्वपूर्ण भूमिका निर्वाह गरेँ । तर, ती कुरा जनतासमक्ष हामीले पु¥याउन नसकेको हो वा पुग्न नसकेको हो जसले गर्दा हामीलाई नोक्सान पु¥यायो । तर, एजेन्डा कहिले पनि मर्दैन । परिवर्तनका अग्रगामी एजेन्डाहरू सधैं जिवित रहनेछन् । ती एजेन्डामा कुठाराघात हुने प्रयास गरिए मधेशवादी पार्टीहरूले कहिल्यै पनि स्वीकार गर्ने छैनन् ।
० चुनावअघि सद्भावना पार्टीलाई मधेशवादी दलमध्येको सबैभन्दा ठूलो पार्टी भएर आउँछ भनेर विश्लेषण गरिँदै थियो । तर, परिणाम त उल्टो आए छ नि ?
— सद्भावना पार्टी मधेश र मधेशीका लागि इमान्दार पार्टी हो । मधेशी जनतालार्ई अधिकार दिलाउन इमान्दारी पूर्वक काम ग¥यो । त्यसकारण विभिन्न मधेशवादी पार्टीका पूर्वसाभसद्हरूले मधेशवादलाई अगाडि बढाउँछ सद्भावनामा प्रवेश गरे । जनताको लहर थियो । तर, यी सबै लहरलाई जनताले स्वीकार गर्दा गर्दै पनि निर्वाचनमा धाँधली गरियो । जसले गर्दा केही नोक्सानी भयो । तर, सद्भावना पार्टीले यो अवस्था त २३ वर्षअघि देखि भोगरहेको छ । र, सद्भावना मधेशलाई अधिकार दिलाउन  सदैव संघर्षरत रहनेछ । र, मधेशलाई हक दिलाएर नै छोड्छ ।
० चुनावअघि मधेशवादी दलहरूले एकतर्फ एकजुट भएर अगाडि बढ्छौं भन्दै आएका थिए भने अर्कोतर्फ आ–आफ्नै पार्टी विस्तारमा लागिरहे । पराजयको कारण यसलाई मान्नुहुन्छ ?
— मधेशवादी पार्टीहरू आफ्नो पार्टी विस्तारमा लागे । त्यो कुनै गलत गरेका होइनन् । आफ्नो पार्टीको विस्तार गर्नु स्वभाविक नै थियो । अलग विस्तार भएपनि मिलेर लड्नुपर्ने थियो । एक ठाउँमा एउटा उम्मेदवार दिनुपर्ने स्थिति थियो । त्यसका लागि सद्भावना पार्टीले बडो निष्ठापूर्वक इमान्दारी प्रयास ग¥यो । तर, कुनै पनि पार्टीले ५०÷६० सिटभन्दा कम हामी लिदैनौं भनेका कारण यो प्रयास सफल भएन । निश्चित रूपमा यसको असर हाम्रो मधेशवादको लडाईंमा परेको त छ नै ।
० मधेशवादीहरूको पराजयलाई स्वभाविक नै भनिएको छ । तर, एकीकृत माओवादीको पराजयलाई अप्रत्यासित भनिएको छ । यसमा तपाइँ के भन्नुहुन्छ ?
— मधेशवादीहरूको यो भन्दा बढी आउँथ्यो । यो संविधानसभा चुनावमा पहिलाभन्दा बढी सिट प्राप्त गर्छौ भन्ने मधेशवादी पार्टीहरूको आकंलन थियो । तर, एकीकृत माओवादीको सम्बन्धमा हामीसँग कुनै सहकार्य नभएकाले के कत्ति सिट ल्याउँछ भन्ने निश्चित आंकलन गरेका थिएनौं । एकीकृत माओवादीले मधेशवाट राम्रो परिणाम ल्याउन सक्दैन भन्ने नै हाम्रो आकंलन थियो । तर, एकीकृत माओवादीको सिट संख्या घट्ला जस्तो लागेको थिएन ।
० संविधानसभा चुनावको परिणामबाट मधेशवादी पार्टीहरूले के पाठ सिकेका छन् ?
—  यसबाट हामीले पाठ सिक्नैपर्छ । हामी मधेश र जनजातिका लागि पहिचानसहितको संघीयता आउनुपर्छ भनेर लडाईं गरेको हौं । त्यो लडाईंमा हामी इमान्दारी पूर्वक लाग्नुपर्छ । त्यो सडकमा होस् वा संविधानसभामा होस् सबै ठाउँमा मोर्चाबन्दी गरेर लाग्नुपर्छ । 
० मधेशी दलहरूबीच एकीकरण हुने सम्भावना छ ?
—  हामीले कुरा गरिरहेका छौं । र, गम्भीर रूपमा सोचिरहेका छौं ।

0 comments

Write Down Your Responses

Powered by Blogger.