पूर्वमा छाताले छेकेन सूर्यलाई

उपाध्यक्ष अशोक राई नेतृत्वमा संघीय समाजवादी पार्टी बनेको एक वर्ष नपुग्दै एमाले संविधानसभा निर्वाचनमा होमियो ।
पूर्वी पहाडी जिल्लामा संघीय समाजवादी पार्टीले एमालेलाई अप्ठ्यारो पार्ने अड्कल गरिए पनि त्यस्तो देखिएन । अड्कल गरिएभन्दा अपत्यारिता केही ठाउँमा भने एमाले पराजित हुनुमा संघीय समाजवादी पार्टीको भूमिका देखियो । मत काटाकाटमा एमाले सात वटा निर्वाचन क्षेत्रमा थोरै भोटले पराजित त भयो तर पूर्वको ठूलो पार्टी पनि बन्यो ।
संघीय समाजवादीको शीर्ष नेतृत्व पूर्व एमालेको भए पनि संविधानसभामा उम्मेदवार बनेका र तल्लो तहका कार्यकर्ता भने एमाओवादी र कांग्रेसका बराबरीजस्तो देखिए ।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङका दुवै निर्वाचन क्षेत्रमा सूर्य चिन्हधारी एमालेले किल्ला कायमै राख्दा संघीय समाजवादीको गोलाकारभित्रको छाता चुनाव चिन्हले पानी पिउन पनि सकेन । क्षेत्र नं. १ मा सातौं स्थानमा रहेको संघीय समाजवादीले १६८ मत पायो भने क्षेत्र नं. २ मा मात्रै १६४ मत ।
पाँचथर- १ मा एमालेले राम्रो मतले विजयी भए नि क्षेत्र नं. २ मा एमाले र संघीय समाजवादीको भोट जोड्दा पनि कांग्रेसका विजयी भीष्मराज आङ्देम्बेको मत धेरै देखियो ।
इलाम क्षेत्र नं. १ र २ मा एमाले विजयी भयो । ती क्षेत्रमा तेस्रो र चौथो भएको संघीय समाजवादी पार्टीले राम्रै भोट पाएको छ । छाताको असर इलाम- ३ मा परेको छ । २१ सय मतले एमाले उम्मेदवार पराजित हुँदा छातामा २५ सय भोट खसेको छ ।
झापाका सात मध्ये ४ क्षेत्र जितेको एमालेलाई संघीय समाजवादीले दुई क्षेत्रमा धक्का दिएको छ । क्षेत्र नं. २ मा ५ सय मतले एमाले उम्मेदवार पवित्रा निरौला पराजित हुँदा संघीय समाजवादीका भूपालबहादुर राईले एक हजारभन्दा बढी भोट पाएका छन् ।
क्षेत्र नं. ५ मा एमालेका एलपी साँवा २ सय मतले पराजित हुँदा संघीयका देउप्रसाद लिम्बूले ७ सय ४६ मत पाए ।
संखुवासभा- १ मा एमालेका हेमराज घिमिरे झण्डै पाँच सय मतले पराजित हुँदा संघीयका नारदकुमार राईले १५ सय भन्दा बढी भोट पाए ।
धनकुटा क्षेत्र नंं. २ मा राप्रपाका सुनिलकुमार थापाले एमालेका राजेन्द्रकुमार राईलाई चार सय मतले हराउँदा संघीयका राजकुमार राईले ७ सय ४२ मत पाए । राजकुमार एमालेका पूर्वसभासद् हुन् । यद्यपी उनले अनुमान गरिएभन्दा ज्यादै कम मत पाए ।
मोरङ- ३ मा पनि एमाले उम्मेदवार गुरुप्रसाद बराल तीन सय मतले पराजित हुँदा संघीयकी मिनु राईले १९ सय भन्दा बढी मत पाइन् ।

पूर्वी तराई जिल्ला सप्तरी- ५ मा पनि संघीयको छाताले एमालेको सूर्यलाई छेकिदिएको छ । एमालेका गोविन्दबहादुर न्यौपाने तीन सय मतले पराजित हुँदा संघीयका विनोदकुमार चौधरीले चार सयभन्दा बढी मत पाए ।
संघीय समाजवादीका आश गरिएका पूर्वका तीन जना उम्मेदवारहरु अजम्बर काङबाङ राई भोजपुर- १, ध्यानबहादुर राई सुनसरी- १ र रकम चेम्जोङ- धनकुटा- १ बाट नराम्रोसँग पराजित भए । अजम्बर तेस्रो स्थानमा रहे भने रकम र ध्यानबहादुर चौथो ।
आश नगरिएका देवेन्द्रकुमार राईले भने एमाले अध्यक्ष झलनाथ खनालको इलाम- १ बाट ४ हजार ५ सय २९ मतसहित तेस्रो हुन सफल भए । मोरङ- ३ बाट गुरु बराल बाहेक एमालेका कुनै पनि केन्द्रीय नेतालाई संघीय समाजवादीले छुन सकेन ।
संघीयका अध्यक्ष अशोक राईको गृहजिल्ला खोटाङमा एमालेले किल्ला तोड्दा संघीय समाजवादीले जमानत जोगाउन पनि सकेन ।
सात स्थानमा धक्का दिए पूर्वका ५६ मध्ये २५ स्थानमा विजयी भएर एमाले पूर्वको पहिलो पार्टी बन्यो । कांग्रेस २३, एमाओवादी ५ सहित फोरम लोकतान्त्रिक, फोरम नेपाल र राप्रपाले एक एक स्थानमा जित हात पारे ।
पूर्वका ८० प्रतिशत सिट जित्ने दाबी गरेको एमाओवादी मेची अञ्चलमा शुन्य रहृयो भने कोशीमा एक सिटमै चित्त बुझायो ।

प्रकाशित मिति: २०७० मंसिर १७ ०२:४७

अरु फोटोहरु »


0 comments

Write Down Your Responses

Powered by Blogger.