खेलकुद
»
क्रिकेटको पूर्वाधार तत्काल तयार गर्न ३ करोड ८३ लाख ४९ हजार २ सय ७३
क्रिकेटको पूर्वाधार तत्काल तयार गर्न ३ करोड ८३ लाख ४९ हजार २ सय ७३

विश्वकप क्रिकेट तयारीका लागि एक साताभित्र बृहत् कार्ययोजनासहितको प्रतिवेदन बुझाउन गठन गरिएको कमिटीले करिब ४ करोडको बजेट आवश्यक रहेको प्रतिवेदन शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको छ ।
कमिटीले विश्वकप तयारी र क्रिकेटको पूर्वाधार तत्काल तयार गर्न ३ करोड ८३ लाख ४९ हजार २ सय ७३ रुपैयाँ आवश्यक पर्ने जनाएको छ । राखेप सदस्य सचिव युवराज लामालाई बुझाइएको कार्ययोजनाअनुसार पूर्वाधार निर्माणका लागि १ करोड ५३ लाख ८ हजार ३ सय ४३ रुपैयाँ र अभ्यास खेल र वान-डे प्रतियोगिताका लागि २ करोड ३० लाख ४० हजार ९ सय ३० रुपैयाँ आवश्यक रहेको बताइएको छ ।
नेपाल ट्वान्टी-ट्वान्टी विश्वकपमा छनोट भएपछि राखेप खेलकुद विकास प्रमुख प्रकाशचन्द्र घिमिरेको नेतृत्वमा गठित कमिटीले भौतिक पूर्वाधार, तयारी र सहभागिता गरी दुई भागमा विभाजन गरेर प्रतिवेदन दिएको हो । कमिटीका अन्य सदस्यमा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल, नेपाल क्रिकेट संघका प्रतिनिधि सञ्जीव पाण्डे र राखेप प्रमुख क्रिकेट प्रशिक्षक जगत टमाटालगायत थिए ।
'हामीले मौजुदा कीर्तिपुर मैदानको अध्ययन गरेर तुरुन्तै के भौतिक पूर्वाधार थप्न सक्छौं भन्नेमा पुग्यौं,' प्रतिवेदन बुझाउँदै आयोग प्रमुख घिमिरेले भने,'यस क्रममा क्यानका जिम्मेवार पदाधिकारीसँग छलफलको प्रयास गर्यौं तर सकेनौं ।' उनले कार्ययोजना तयार गर्ने क्रममा क्यान अध्यक्ष, महासचिव र कोषाध्यक्षसँग भेट हुन नसकेको गुनासो गरे ।
उनले दिएको प्रतिवेदनमा प्रतियोगिताको तयारीका लागि अम्यास खेल आवश्यक रहेको र पूर्वाधार सुधार गर्न कीर्तिपुर मैदानको जिम हलको सुधार, इन्डोर हलको निर्माण, नेट, टर्फको व्यवस्था र पोलको व्यवस्था गर्नुपर्ने रहेको छ ।
त्यस्तै तयारीका लागि श्रीलंका र न्युजिल्यान्डमा वान-डेको अभ्यास खेल र विश्वकप छनोट खेल्ने तथा ट्वान्टी-ट्वान्टीका लागि भारत अथवा श्रीलंकामा अभ्यास खेल खेल्ने उल्लेख गरिएको छ ।
'विश्वकप तयारीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको निर्माण तुरुन्त सुरु हुनेछ,' राखेप सदस्य सचिव लामाले भने, 'अहिले त्यसका लागि ४० लाख तुरुन्तै छुट्याएका छौं, मूलपानी मैदानको बजेट पनि सट्टाभर्ना गर्ने गरी प्रयोग गरिनेछ ।' उनले निश्चित समयभित्र सक्नुपर्ने गरी काम सुरु गरिने पनि बताए ।
Labels:
खेलकुद
0 comments
Write Down Your Responses