दमकमा गुन्जियो नेपथ्य

 

गायक अमृत गुरुङलाई जोगले दमक ल्यायो कि मायाले दमकलाई सम्झाएको त्यो थाहा भएन । धेरै समय अगाडि दमक बजार गाउँजस्तो हुँदा यतातिर गाउँदै आएका गुरुङले मंगलबारचाहिँ दमकले रूप परिवर्तन गरेर सहर बनाएको अवस्थामा गाए गीता 'जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना...' दर्शकहरू भन्दै थिए- 'उहिले दमकतिर आउँदा अमृतले माया लाएका रहेछन् र अहिले सम्झेर आए ।'
पहिले माया लाउन नलाउन तर यसपालिले चाहिँ दमकेलीले अमृतसँग माया लाए । मंगलबार गोर्खा स्पोर्टिङ क्लबले गरेको नेपथ्य सांगीतिक कार्यक्रममा उही चिरपरिचित गायक अमृतले दमकेलीको भीड जम्मा गरे दमक चित्र मन्दिरमा । नेपथ्य सांगीतिक अभियानअन्तर्गत देशव्यापी दौडाहामा आएको अमृतको टोलीसँग रमाइलो गर्ने अवसर पाएर दमकेली धेरै खुसी भए । 'अमृत गुरुङको नाम सुन्नेबित्तिकै दर्शक-श्रोता त त्यतिकै हौसिँदा रहेछन् । उहाँलाई हाम्राे सहरमा पाउनु खुसीको कुरा हो,' दमक ११ का केन्द्र प्रसाईंले भने ।
हल नभरिएको धेरै समय बितेको थियो । तर मंगलबार खचाखच दर्शक-श्रोता देखेर सबै आफैंमा छक्क परेका थिए । कयौं दशर्कले उभिएरै २ घन्टा मनोरञ्जन लिए । अमृतले आफ्ना चर्चित गीतहरू 'चरी मर्‍यो सिसैको गोलीले, भेडाको ऊन जस्तो, यो जिन्दगी, सानोमा सानो कमलको हाँगा' देखि रामेशको गाउँगाउँबाट उठसम्मका गीत गाउन भ्याए । जतिवटा गीत गाउँथे त्यति नै पटक दर्शकले वान्स मोर दिएका थिए गुरुङलाई । स्कुले नानीहरूदेखि वृद्ध उमेरका मानिससम्म दर्शकका रूपमा थपडी बजाएर आनन्द मानिरहेका थिए । नेपथ्य ब्यान्डको संगीत पनि दर्शक लोभ्याउने अर्को साधन थियो । अमृतले केही पश्चिमेली दोहोरीका भाका पनि हाल्न भ्याए । पश्चिमेली भाकामा पूर्वका ठिटाहरूले कम्मर मर्काएर नाचेको कम्ती रमाइलो थिए । मसिरको साँझ चिसो बढे पनि हलमा भएको जनघनत्व र गीतको तालले जाडोको अनुभूति कसैले गर्न गरेनन् ।
शान्तिका लागि शिक्षा अभियानअन्तर्गत भएको सांगीतिक कार्यक्रमबाट उठेको रकम विद्योदय निमाविको शैक्षिक गुणस्तर वृद्धिका लागि खर्च गरिने क्लबका सचिव सुमन कार्कीले जानकारी दिए ।




0 comments

Write Down Your Responses

Powered by Blogger.