मोबाइलमै पैसा

नगद बोक्दाको जोखिम कम गर्न प्लास्टिक मनीको आविष्कार भयो । त्यो आफैंमा ठूलो क्रान्ति थियो । अब त्यही कार्ड पनि बोक्नु नपर्ने भएको छ । कार्डको स्थान लिएको छ हाते मोबाइलले । यसलाई के भन्ने ? प्रविधिको बेजोड सम्मिश्रण । 'सबै प्रकारका आर्थिक कारोबारलाई मोबाइलमा समेट्न सकियो भने मानिसले पैसा बोकेर हिँड्ने झन्झट गर्नु पर्दैन,' मोबाइलमार्फत नगद कारोबार गर्ने हेल्लो पैसा प्लेटर्फम उपलब्ध गराउने फिनासेस कम्पनीका प्रबन्ध निर्देशक संजयबहादुर शाह भन्छन्, 'त्यस्तो दिन आउन अब धेरै समय कुनु पर्दैन ।'
फिनासेसको हेल्लो पैसा, एफवन सफ्टको फोन पे र ई-सेवा नाममा यस्तो सुविधा दिन थालिसकेका छन् । हेल्लो पैसा प्लेटर्फम ८ वटा बैंकहरूले प्रयोग गरिरहेको शाहले जानकारी दिए । यस्तै फोन पे सेवा १४ वटा बैंकले प्रयोग गर्दै आएको एफवन सफ्टका अध्यक्ष विश्वास ढकाल बताउँछन् । एफवन सफ्टको ई-सेवाले पेमेन्ट गेटवेका रूपमा मोबाइल वालेट सेवा प्रदान गर्दै आएको छ । एफवन सफ्टका अध्यक्ष ढकाल आगामी ५ वर्षभित्र मुलुकमा हुने पैसा लेनदेनका कारोबारको आधाभन्दा बढी मोबाइलबाटै गराउने योजना सुनाउँछन् । मोबाइल बैंकिङ सेवा लिएका व्यक्तिहरूले मोबाइलबाटै किनमेल गर्ने, विभिन्न टेलिकम कम्पनी/ डिसहोमको रिचार्ज कार्ड किन्ने, बिल तिर्ने, एयरलाइन्स/बस/ सिनेमा हलको टिकट किन्ने, रकम ट्रान्सफर गर्नेलगायतका सुविधा पाउँछन् । औपचारिक रूपमा बैंकिङ सिस्टममा समेट्न नसकिने दूरदराजका सेवाग्राहीलाई नगद कारोबार गर्न मोबाइल बैंकिङमा समेट्न सकिने हेल्लो पैसाका शाह बताउँछन् । 'बैंकिङ सिस्टममा ३० प्रतिशत जनता मात्र समेटिएका छन्,' उनले भने, 'बाँकी ७० प्रतिशत दुर्गममा बस्ने भएकाले बैंकले समेट्न सक्दैनन् ।' मोबाइलको नेटवर्क सबै बस्तीमा पुगेकाले उनीहरूलाई यस सिस्टममा समेट्न सकिन्छ ।
'गोजीमा रुपैयाँ बोकेर हिँड्दा चोरिने/लुटिने सम्भावना हुन्छ,' हेल्लो पैसाका शाहले भने, 'मोबाइल बैंकिङमा मोबाइल सेट हराए पनि रकम सुरक्षित हुन्छ । घरमा रकम राख्दा ब्याज आउँदैन । मोबाइलबाट चाहिएको बेला रकमको कारोबार गर्न सकिने भएकाले व्यक्तिले घरमा पैसा राखिरहनु पर्दैन । त्यसलाई बैंकिङ सिस्टममा ल्याएपछि अरू काममा लगानी गर्न सकिन्छ ।' 
हरेक व्यक्तिसँग अहिले मोबाइल छ । मोबाइल बैंकिङ सेवा लिने ग्राहकले मोबाइल नम्बरलाई व्यक्तिगत खाताका रूपमा उपयोग गर्छन् । मोबाइल बैंकिङ सेवा लिन कुनै मेसिन/इन्टरनेट कभरेजको जरुरत पर्दैन । मोबाइलको नेटवर्क टिप्ने क्षेत्रमा बसेका हरेक व्यक्तिले मोबाइल कारोबारमा आफूलाई सामेल गर्न सक्छन् । मुलुकमा हेल्लो पैसाको मोबाइल बैंकिङ सुविधा लक्ष्मी, बैंक अफ काठमाडौं, सिद्धार्थ, सानिमा, कमर्ज एन्ड ट्रस्ट, सिभिल बैंक, प्रभु विकास बैंक र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्सले उपलब्ध गराइरहेका छन् ।
फोन पेलाई ग्राहक कुन बैंकको हो भन्ने कुराले फरक पार्दैन । उसले आफ्नो रकम मोबाइलमार्फत जुनसुकै बैंकको नेटवर्कमा सार्न, ती बैंकबाट भुक्तानी, किनमेलको बिल तिर्न, टेलिफोन, बिजुलीलगायतको बिल तिर्न सक्ने एफवन सफ्टका अध्यक्ष ढकालले बताए । फोन पे सेवा लिने ग्राहकको संख्या २७ लाख रहेको उनको दाबी छ ।
एफवन सफ्टकै ई-सेवाले मोबाइललाई वालेटका रूपमा उपयोग गर्न सकिने बनाएको छ । कम्पनीले मुलुककै पहिलो पेमेन्ट गेटवेका रूपमा विकास गरेको यस सेवाको सदस्य बन्ने व्यक्तिले ई-सेवाको एकाउन्टमा बैंकबाट इन्टरनेट बैंकिङ वा मुलुकभर रहेका ५ हजार 'ई-सेवा जोन' एजेन्ट  नेटवर्कमार्फत रकम जम्मा गर्न सक्छन् । 'मोबाइलबाट एसएमएस पठाएकै भरमा ग्राहकले घरमै बसीबसी सबै काम गर्न सक्छन्,' एफवन सफ्टका अध्यक्ष ढाकालले ई-सेवाको विशेषता बताए ।
कसरी काम गर्छ हेल्लो पैसाले ?
हेल्लो पैसा सेवा लिन यसको प्लेटर्फम प्रयोग गरिरहेका बैंकका शाखा र तिनका एजेन्ट कहाँ गएर खाता खोल्नुपर्छ । त्यसका लागि नागरिकता वा पासपोर्टको फोटोकपीका साथमा एउटा फोटो आवश्यक हुन्छ । सेवा प्रदायक फिनासेसका प्रबन्ध निर्देशक संजयबहादुर शाहका अनुसार सेवा लिएपछि ग्राहकले पैसा जम्मा गर्न, झिक्न, सिनेमा/एयरलाइन्स/ बसको टिकट किन्न, टेलिकम कम्पनीहरूको रिजार्चकार्ड किन्ने, किनमेलको बिल तिर्नेलगायत सबै प्रकारका आर्थिक कारोबार गर्न सक्छन् ।
यसबाट कारोबार गर्न ग्राहकले मोबाइलबाट एसएमएस गर्नुपर्छ । त्यसपछि बैंकको सिस्टमले ग्राहकलाई मोबाइलमा फोन गरेर के कारोबार गर्न लागेको हो भन्ने कन्र्फम गर्छ । कन्र्फम गरेर ग्राहकले आफूलाई दिएको पिन नम्बर हालेपछि मात्र कारोबार पूरा हुन्छ । ग्राहकले पिन पहिल्यै हाल्नु नपर्ने भएकाले कतै स्टोर नहुने हुँदा हेल्लो पैसाको कारोबार सुरक्षित रहेको शाहले बताए । बैंकहरूले यस खातामा ब्याजसमेत प्रदान गर्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.