राजदूतहरू सक्रिय

नेपाल समाचारपत्र,काठमाडौं
नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले राजनीतिक स्थायित्व कायम गरी जतिसक्दो छिटो संविधान लेखनमा जुट्न आग्रह गर्नुभएको छ। मंगलबार नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँगको भेटवार्तामा राजदूत बोडेले सबै राजनीतिक दलबीच सहमति गराई विश्वासमा लिएर अघि बढ्न आग्रहसमेत गर्नुभएको छ।
उहाँहरूबीच संविधानसभाको निर्वाचन सम्पन्न भएपछिको अवस्था, संविधान लेखनलगायतका विषयमा छलफल भएको थियो। जवाफमा कोइरालाले नेपाली कांग्रेस सहमतिका आधारमा अघि बढ्न प्रतिबद्ध रहेको बताउँदै सबै दललाई विश्वासमा लिएर अघि बढ्ने धारणा राख्नुभएको थियो।
यसैका लागि सोमबार आफूले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग छलफल गरेको कोइरालाले राजदूत बोडेलाई अवगत गराउनुभएको थियो। त्यसै गरी एकीकृत नेकपा माओवादीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पार्टी शान्ति र संविधान निर्माण प्रक्रियामै रहने बताउनुभएको छ।
नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेसँगको भेटमा भट्टराईले निर्वाचनमा उठेका प्रश्नबारे छानबिन हुनुपर्छ मात्र भनेको हो प्रक्रियामा सहभागी नहुने भन्ने कुरा होइन भनी स्पष्ट पार्नुभएको छ। राजदूत बोडेले निर्वाचनबाट आएको परिणामलाई स्वीकार गरी संविधान निर्माणमा सहभागी हुनु नै उपयुक्त हुने सुझाव दिएको बताइएको छ।
राजदूत बोडेले नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि भेटिसक्नुभएको छ। त्यसै गरी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत बु चिन्ताईबीच पौडेल निवास बोहोराटारमा भेटवार्ता भएको छ। सो भेटवार्ता निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि उत्पन्न राजनीतिक अवस्था तथा दलहरूबीच सहमतिका लागि भइरहेको प्रयासजस्ता विषयमा छलफल भएको थियो।
चिनियाँ राजदूत बु चिन्ताईले उपसभापति पौडेलसँगको सो भेटवार्तामा नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिनुभएको थियो।
चाँडो संविधान निर्माण गरेर नेपालको शान्ति, विकास र स्थिरताको मार्ग अघि बढोस् भन्ने चीनको इच्छा रहेको चिनियाँ राजदूतले बताउनुभएको थियो।
‘चाँडो संविधान बनोस्, नेपालमा शान्ति, स्थिरता र विकासको कामले तीव्रता लिनुपर्छ भन्ने चीनको चाहना छ।’ –चिनियाँ राजदूतलाई उद्धृत गर्दै उपसभापति पौडेलले भन्नुभयो। सो अवसरमा उपसभापति पौडेलले निर्वाचनमा चीनका तर्फबाट भएको सहयोग र विकासका काममा पुर्याउँदै आएको सहयोगका लागि आभार व्यक्त गर्नुभयो।
साथै राजनीतिक दलहरूबीच सहमती जुटाएर संविधान लेखनको काम सक्ने र मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान अब ध्यान केन्द्रित गरिने जानकारी पनि गराउनुभएको थियो। ‘उत्साहपूर्ण जनसहभागितामा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ, अब हामी सहमति जुटाएर संविधान लेखनमा जुट्छौं र देशमा विकासको कामलाई पनि तीव्रता दिन्छौं।’ –उपसभापति पौडेलको भनाइ थियो। त्यसअघि पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भारतीय राजदूत रञ्जित रेले भेट गर्नुभएको थियो।
भेटमा रेले नेपालमा संविधानसभाको दोस्रो निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र पूर्वप्रधानमन्त्री नेपाल उक्त निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट निर्वाचित भएकामा नेपाली जनता एवम् पूर्वप्रधानमन्त्री नेपाललाई बधाई दिँदै नेपालमा अब बन्न लागेको संविधानसभाले दलहरूबीच उच्चस्तरको समझदारी कायम गर्दै छिट्टै नयाँ संविधानको निर्माण गरी नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरोस् भन्ने आफ्नो देशको चाहना भएको बताउनुभएको छ। निर्वाचनपछि नेपालसँग अमेरिकी, चिनियाँ, रुसी र युरोपियन युनियनका प्रतिनिधिले भेटिसकेका छन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.