मोरङमा रेल कुदेको हेर्ने रहर


आफन्तकहाँ बिहार जाँदा चढेको रेल अब घर नजिकैबाट गुडेको देख्न पाइने दिन धेरै पर छैन । विराटनगर १८ कठकुप्पाका वृद्ध खुदनारायण यादवलाई रेल कुदेको हेर्ने रहर छ । तर, माटो भरेर ठूलो लामो बाँध जसरी बनाउन लागिएको रेलवे ट्रयाकको काम अन्य निर्माणका काम जसरी हतारको छैन । 'यो रेलको बाटो बन्ने भएपछि मेरो २ कठ्ठा जग्गा गयो । मुआब्जाका कुरामा विभेद गरे, मन कुँडिएको छ,' उनले भने, 'तर रेल कुदेको हेर्न पनि मन छ ।'
धमाधम काम भए सिमाना नजिक मोरङको बुधनगर र कटहरीवासीले अबका केही वर्षमै आफ्नै गाउँ भएर रेल गुडेको हेर्न पाउने छन् । रेलले यात्रु ओसारपसार मात्रै नगरेर सुनसरी-मोरङ औद्योगिक करिडोरका कच्चा सामान र उत्पादित वस्तु पनि ढुवानी गर्ने छ ।
राष्ट्रपति रामवरण यादवको गत वर्ष दिल्ली भ्रमणताका नेपालका प्रमुख पाँच सीमावर्ती औद्योगिक क्षेत्रमा 'इलेक्ट्रोनिक ब्रोडगेज रेल्वे' मार्ग विस्तार गर्ने सम्झौता भएको थियो । जोगबनीबाट विराटनगर, रुपेडियाबाट नेपालगन्ज, न्युजलपाइगुडीदेखि काँकडभिट्टा, नौतनवाबाट भैरहवा र जयनगर बिजुलपुरबाट बर्दियासम्म रेल लाइन विस्तार गरिने सम्झौताअनुसार मोरङमा काम भइरहेको हो ।
भारतीय योजनाअन्र्तगत सीमावर्ती बथनाहादेखि मोरङको कटहरीसम्म १८ दशमलव १ किलोमिटर 'ब्रोडगेज रेल्वे' मार्ग निर्माणका लागि ट्रयाक खोल्ने पहिलो चरणको काम सम्पन्न हुन लागेको
छ । ट्रयाकका लागि नेपाल सरकारले १ सय १९ बिघा जमिन अधिग्रहण गरेर 'इन्डियन रेल्वे कन्स्ट्रक्सन इन्टरनेसनल' लाई गत वर्ष हस्तान्तरण गरेपछि उक्त निर्माण कम्पनीले 'ट्रयाक' खोल्नेसँगै 'कल्भर्ट' र पुल बनाउने काम सुरु गरेको हो ।
बथनाहा कटहरी १८ दशमलव १ किलोमिटर रेलमार्गमध्ये नेपालतर्फ बुधनगर गाविसदेखि कटहरीसम्म १३ दशमलव १ किलोमिटर पर्छ । बुधनगरदेखि भारततर्फको बथनाहाको ५ किलोमिटर क्षेत्रमध्ये रेल्बेका नाममा रहेको अढाइ किलोमिटर क्षेत्रमा भारतीय पक्षले पनि ट्रयाक खोलिसकेको छ । बाँकी अढाइ किलोमिटर क्षेत्रमा भारतीय पक्षले पनि सम्बन्धित जग्गाधनीलाई मुआब्जा वितरण गर्न सुरु गरेको छ ।
'रेल्बे ट्रयाक' खोल्न र 'कल्भर्ट' तथा पुल निर्माणका लागि 'इन्डियन रेल्वे कन्स्ट्रक्सन इन्टरनेसनल
-इरकन)' ले कोलकाताको तातिया कन्स्ट्रक्सनलाई पहिलो चरणको काम 'ट्रयाक' खोल्ने, माटो भर्न र कल्भर्ट बनाउन ४० करोड भारुमा ठेक्का दिएपछि दसगजा क्षेत्रबाट माटो भर्ने र पुल तथा साना कल्भर्ट बनाउने पहिलो चरणको काम अन्तिम चरणमा पुर्‍याएको रेल तथा मेट्रो विकास आयोजना विराटनगर शाखा खण्डका निमित्त प्रमुख सूर्य पौडेलले बताए । ट्रयाकमा करिब ८० लाख क्युविक फिट माटो लाग्नेछ । उनका अनुसार ट्रयाकको उचाइ जमिनको सतहबाट तीनदेखि पाँच मिटर अग्लो हुने छ । उनले भने, 'जग्गा अधिग्रहणपछि कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको छ । धेरै माटो चाहिने भएकाले वषर्ामा काम हुन सकेन । अब हिउँदमा स्पिड पक्रन्छ ।'
दुई सरकारबीच गत वर्ष कात्तिकमा नेपालका सीमावर्ती पाँच औद्योगिक नाकामा भारतीय लगानीमा 'इलेक्ट्रोनिक ब्रोडगेज' रेलमार्ग दुई वर्षभित्रमा विस्तार गर्ने सम्झौता भएको थियो । निर्माणका लागि नेपाल सरकारले भारतीय पक्ष्ालाई जग्गा मात्र उपलब्ध गराउनुपर्ने सम्झौता हो । पौडेलले भने, 'भारतले बथनाहा-कटहरी खण्डको रेलमार्गका लागि २ अर्ब ८० करोड भारु लागतमा निर्माण गर्ने छ ।' दुई वर्षभित्रमा रेलमार्ग निर्माण गरिसक्ने सम्झौता छ, तर त्यो अवधि अपुग हुने उनको अडकल छ । 'अबको ६ महिनामा माटो भर्ने र पुल कल्भर्ट बनाउने काम सकिन्छ,' उनले भने, 'त्यसपछि दोस्रो चरणको गिट्टी, ढुंगा भर्ने, स्ल्याब बनाउनेलगायतका काम सुरु हुन्छ ।'
रेलमार्गका लागि नेपाल सरकारले आफ्नोतर्फको १ सय १९ बिघा जमिन अधिग्रहण गरेर 'इन्डियन रेल्वे कन्स्ट्रक्सन इन्टरनेसनल' लाई कामको बाटो खुला गरेको हो । अधिग्रहण गरिएको जमिनको हालसम्म ५३ करोड मुआब्जा सम्बन्धित जग्गाधनीले पाइसकेका छन् । अब अझै ५० जना जग्गाधनीलाई करिब १० करोड मुआब्जा वितरण बाँकी छ । रेल्वे मार्ग निर्माणका लागि कटहरी, बुधनगर गाविस र विराटनगर १८ जतुवाका ५ सय ६५ जनाको १ सय १९ बिघा जमिन अधिग्रहण गरेको हो । अधिग्रहण गरिएको जमिनको प्रतिकठ्ठा न्यूनतम ९० हजारदेखि २५ लाखसम्म मूल्यांकन गरेर मुआब्जा वितरण गरेको हो ।
सुनसरी-मोरङ औद्योगिक करिडोर जोड्ने बथनाहा-कटहरी रेलमार्ग भारतको २ अर्ब ८० करोड भारुमा निर्माण सुरु भएको हो ।


 

0 comments

Write Down Your Responses

Powered by Blogger.