शीर्ष नेताहरुको घरदैलो चहार्दै निजी क्षेत्र

समानुपातिक कोटावाट सभासद र मन्त्री बन्नका लागि लबिङ गर्न शीर्ष नेताहरुको घरमा कार्यकर्ताहरुको भिड लागि रहेका बेलामा उद्योगी-व्यवसायीहरु पनि थपिएका छन् । संविधानसभाको मत परिणाम सार्वजनिक हुनासाथ कार्यकर्तासँगै व्यवसायीहरु पनि शीर्ष नेताको घरदैलोमा पुग्न थालेका हुन् । कार्यकर्ताहरु सभासदका लागि लबिङ गर्न भिड लागेपनि व्यवसायीहरु भने व्यवसायिक वातावरणको माग गर्दै शीर्ष नेताहरुको घर-घरमा पुगेका हुन् ।meet-2
व्यवसायिहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले शीर्ष दलका प्रमुखहरुसँग भेट गरी नयाँ संविधान र व्यवसायिक वातावरणको सुनिश्चितता गर्न दबाब दिन थालेका छन् । यहि क्रममा महासंघको प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, राप्रपा नेपालका अध्यक्ष कमल थापासँग भेट गरिसकेको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आजभोलीमा भेट्ने कार्यक्रम रहेको महासंघका उपाध्यक्ष पशुपती मुरारकाले अनलाइनखबरलाई बताउनुभयो । उहाँका अनुसार त्यसपछि मधेशवादी दलहरुसँग पनि भेटेर निजी क्षेत्रका कुराहरु राखिने छ । दलहरुलाई जनताले दिएको म्याण्डेडतर्फ झकझकाउने आफुहरुको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
व्यवसायीहरुले दलका प्रमुखहरुलाई छिटो भन्दा छिटो संविधान निर्माण गरी मुलुकभित्र उद्योग-व्यवसाय फस्टाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । साथै, घोषणापत्रमा उल्लेख गरिएका आर्थिक एजेण्डाहरुको बुँदा-बुँदा कार्यान्वयनका लागि समेत दबाब सिर्जना गरेको उपाध्यक्ष मुरारकाले बताउनुभयो । आर्थिक विकाससँग गाँसिएका कतिपय महत्वपूर्ण मुद्धाहरु थन्किएर रहेकाले तीनलाई अगाडी बढाउन पनि व्यवसायीले नेताहरुसँग माग गरेका छन् । जनताले लामो समयदेखि प्रतिक्षा गरेर बसेको संविधान एक वर्षभित्रमै दिएर मुलुकको आर्थिक विकासमा अगाडी बढ्न भेटवार्तामा महासंघका अध्यक्ष सुरज वैद्यले शिर्ष नेताहरुलाई आग्रह गर्नुभएको थियो । नयाँ संविधान बनेमा आर्थिक एजेण्डाहरुले प्राथमिकता पाउने व्यवसायीहरुको विश्वास छ ।meet-1
व्यवसायीहरुले सरकार गठन गर्दा महत्वपूर्ण मन्त्रालयहरु उर्जा, अर्थ, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक योजना तथा निर्माण, श्रम मन्त्रालयहरुमा सक्षम व्यक्ति ल्याउन शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । आर्थिक क्षेत्रसँग जोडिएका मन्त्रालयमा सक्षम व्यक्ति ल्याएमा मुलुक अगाडी बढ्ने व्यवसायीहरुले बताएका छन् । भेटवार्तामा व्यवसायीहरुले स्वदेशभित्रै रोजगारी सृजना, भारतसँगको व्यापार घाटा कम गर्न विद्युत निर्यात, बारामा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र सुदूरपश्चिममा क्षेत्रीय विमानस्थलहरुको निर्माण, मध्यपहाडी राजमार्गको निर्माण लगायतका विषयहरु अबको सरकारको मुख्य प्राथमिकतामा हुनुपर्नेमा जोड दिएका छन् ।meet-3
कांग्रेस सभापति कोइरालाले निजी क्षेत्रकै नेतृत्वमा आर्थिक विकासलार्य अगाडी बढाउन आफ्नो पार्टी सदैव तयार रहेको विश्वास दिलाउनुभयो । उहाँले निजी क्षेत्रलाई मुलुकको इन्जिन अफ ग्रोथको रुपमा हेरेको बताउँदै निजी क्षेत्रबाट आएका सुझावहरुलाई कार्यान्वयन गर्ने आश्वासन दिनुभयो । एमालेका अध्यक्ष खनालले दलहरुको प्रमुख एजेण्डा आर्थिक मुद्धा हुने र त्यसको नेतृत्व निजी क्षेत्रले लिनुपर्ने बताउनुभयो । राप्रपा अध्यक्ष थापाले निजी क्षेत्रले उठान गरेका विषयहरुलाई सशक्त रुपमा अगाडी बढाउन रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.