ढलबाट भाग्ने कैदी रक्सौलमा पक्राउ
केन्द्रीय कारागारबाट बुधबार फरार कैदीलाई शुक्रबार रक्सौलबाट पर्सा प्रहरीले पक्राउ गरेको छ । १८ महिनादेखि लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका सर्लाही रहुवा ५ का सुरज सिंह कारागारको ढलबाट भागेका थिए । अपराध महाशाखा प्रहरीको समन्वयमा सिंहलाई रक्सौलको डन्कन अस्पतालअगाडिबाट दिउँसो ३ बजे नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताए । अस्पतालको गेटघि मास्क लगाएर उभिरहेका सिंहलाई सादा पोसाकका प्रहरीले पक्राउ गरेका हुन् । कैद सजाय सकिन ४ महिनामात्र बाँकी रहँदा सिंह भागेका थिए । उनी असार २ गते हजार एम्पुल ब्रुपिनफिर्न र डाइजेपामसहित काठमाडौंमा पक्राउ परेका थिए । उनले भारतीय नाकाबाट लागूऔषध ल्याएर काठमाडौंमा बिक्री गर्थे । काठमाडौं जिल्ला अदालतले साउनमा उनलाई २ वर्ष कैद सजाय र १ लाख जरिवाना तोक्दै केन्द्रीय कारागार पठाएको हो । कैद सजाय काटे पनि जरिवाना तिर्ने कोही नहुँदा भागेको उनले बताए । 'जरिवाना तिर्न नसके थप २ वर्ष कैद सजाय भोग्नुपथ्र्यो,' उनले भने । मंगलबार राति १२ बजे कैदीले प्रयोग गर्ने शौचालय र लुगा धुने पानी जाने ढलमा छिरेर भोलिपल्ट बिहान ७ बजे कारागार पछाडि रहेको नेपाल टेलिकम नजिकबाट बाहिर निस्केको बताए । 'साँघुरो ढलमा घसे्रर बिहान निस्कँदा प्रहरीले ढललै अघि देखेका थिए,' सिंहले भने, 'शरीर हिलाम्मे भएकाले चिनेन ।' प्रहरीले के गरेको भनेर सोध्दा ढला सफा गरेको भनेको उनले बताए । 'छिरेपछि कहीँ न कहीँ निस्किनेमा ढुक्क थिएँ,' उनले भने, ढल साँघुरो भएकाले निस्कन ७ घन्टा लाग्यो ।' ढलमा घस्रेकाले हात, खुट्टा र छातीमा घाउ भएका छन् । कारागारबाट भागेर दक्षिणकालीको बाटो हुँदै बिहीबार उनी वीरगन्ज आइपुगेका थिए । कैदी फरार भएको जानकारी पाउनासाथ काठमाडौंबाट निस्कने प्रत्येक नाका र चौकीमा सिंहको हुलियासहित तस्बिर पठाएको थियो ।


0 comments
Write Down Your Responses