पहिले नेपाल, पहिला नेपाली
अहिलेसम्म मैले भेटेका कोही पनि नेपालीले नेपाललाई टुक्राउनुपर्यो, अर्को देश बनाउनुपर्यो, मलाई अर्कै मातृभूमि चाहियो भनेर अहिलेसम्म भनेको सुनेको छैन । सबैको चिन्ता के छ भने हाम्रो देश नेपालको प्रगति कसरी हुन्छ र त्यो प्रगतिमा मेरो प्रगति कसरी हुन्छ, मेरो परिवारको प्रगति कसरी हुन्छ? सबैले के भन्नुहुन्छ भने जबसम्म नेपाल नै छैन भने हामी नेपाली कसरी रहुँला ? हामी कसरी गर्व गरौंला ?
पहिलो संविधानसभा अवसान हुन पुग्यो, दोस्रो संविधानसभा निर्माण भएको छ । तर, हामी हिजो जहाँ पुगेर अड्किएका थियौं, त्यहीँ पुगेर फेरि रोकिन्नौं भन्ने के ग्यारेन्टी छ ? यो प्रश्न धेरै युवा साथीहरुले मलाई सोध्नुहुन्छ । पहिलो संविधानसभा अवसान हुनुअघि यस्तो एउटा मोड पनि आयो कि- अब नेपालै रहन्न कि क्या हो ? भन्ने त्रास देखियो । म यो जातको, म यो क्षेत्रको, म यो बर्गको भन्ने नारा सडकभरि लाग्न थाले र निकै पेचिलो अवस्था बन्यो । धेरै नेपालीको त्यो बेला बोध गरे कि म नेपाली भन्नेचाहिँ खै त ?
हामीले दोस्रो संविधानसभाको यात्रा सुरु गरेका छौं । तर, फेरि त्यहीँ पुग्ने हो त ? त्यसो हुँदा मुलुक अकल्पनीय दुर्घटनामा फस्छ । त्यसैले हामी नेपालीले सबैभन्दा पहिले हामी नेपाली हौं र त्यसपछि मात्र हामी जातजाति, बर्ग, क्षेत्रको कुरा गर्ने हो । त्यसका लागि हामीले अहिलेदेखि नै ‘पहिले नेपाल र पहिला नेपाली’ भन्ने भावनालाई आत्मसात गर्नुपर्छ ।
हामीले फुटवल र क्रिकेटका म्याचहरुमा हेर्यौं, त्यहाँ त सबैले अनुहारभरि नेपालकै झण्डा पोतेको हुन्छ, सबैले नेपालकै नक्शालाई आफ्नो सान मानेको हुन्छ । दशरथ रंगशाला र कीर्तिपुर मैदान भरिँदा कसैले पनि म फलानो जातको भनेर नारा लगाएन् । फलानो जातको खेलाडीले जित्यो, त्यो मेरो हैन पनि भनेनन् । सबैले चन्द्र र सूर्यलाई आफ्नो प्रतीक मानेर रंगशाला र कीर्तिपुर मैदान जुरुक्क उठेको देख्दा अध्याँरोभित्र मैनवत्तीको सानो उज्यालोजस्तो महसुस भयो । त्यसपछि हामीले सोच्यौं- यस्तै एक ढिक्का हुने नेपालीपनको विकाश गर्नुपर्छ, त्यसका लागि अभियान नै चलाउनुपर्छ ।
कलेज पढिरहेका युवा विद्यार्थीहरुसँग मिलेर हामीले निकै सानो अभियान सुरु गरेका छौं । अहिलेका लागि हामीले एउटा स्टिकर बनाएका छौं, जहाँ नेपालको नक्शामाथि झण्डा राखिएको छ । त्यसमा केही पनि नारा छैन । पहिलो चरणमा हामीले झण्डै १ लाख यस्ता स्टिकर टाँस्ने अभियान चलाइरहेका छौं । ट्याक्सी, गाडी, मोटरसाइकल, माइक्रोबस, रिक्सा, कार्यालयको ढोका, ल्यापटप जहाँ पनि हामी यस्ता स्टीकर टाँस्छौं, ताकि जसले जहाँ हिँड्दा पनि पहिले नेपाल र पहिले नेपाली भन्ने कुरा नबिर्सियोस् ।
स्टीकरको उत्पादन लागत ५ रुपैयाँ छ, तर हामी २० रुपैयाँमा बेच्छौं । जसले एउटा स्टीकर किन्नुहुन्छ उहाँले बाँकी अन्य ३ वटा स्टीकरका लागि प्रायोजन गरिदिनुहुन्छ । त्यस्ता स्टीकर हामी सार्वजनिक सवारीसाधनमा टाँस्छौं ।
तपाईंलाई लाग्ला, यो दुई-चारवटा स्टीकर टाँसेर पनि कहीं नेपालीपन जोगिन्छ ? कहीँ राष्ट्रियता जोगिन्छ ? म तपाईलाई एउटा उदाहरण दिन्छु । समुद्री किनारमा एउटी किशोरी धमाधम पानीको छालले बाहिर ल्याएका माछा टिप्दै पानीमै फाल्दै थिइन् । छेवैमा पुगेका एक वृद्धले सोधेछन्- नानी तिमी यो के गर्दै छौ ? किनारभरि हजारौं माछा यसरी छटपटाइरहेका छन्, तिमीले दुई चारवटा पानीमा फालेर केही अर्थ छैन । किशोरीले हातमा भएको माछा देखाउँदै भनिछन्- कम्तिमा मैले यो एउटालाई त बचाएँनि । तपाईले कतिवटालाई बचाउनुभयो ?’ त्यसपछि ती वृद्धले पनि धमाधम छट्पटाएका माछालाई पानीमा फाल्न थालेछन् । अरु पनि त्यसमा लागेछन् र दुई-चार हजार माछाको त ज्यान जोगियो नी । हाम्रो अभियान पनि त्यही किशोरीको जस्तो हो । चाहे नेता होस्, चाहे सरकारी अधिकारी होस्, चाहे उद्यमी व्यवसायी होस, चाहे ब्याङ्कर होस् । जसले पनि म पहिले नेपाली हुँ, मेरो शीरमा पहिले नेपाल छ भन्ने नबिर्सियोस् ।
यो अभियान कसको त ? के अनिल शाहको हो ? वा अरु कसको हो ? म त भन्छु, जसले दुई मिनेट समय दिएर यो स्टीकर आफ्नो ल्यापटप, कार्यालय वा सवारीसाधनमा टाँस्छ, ती सबैको अभियान हो यो । उत्ति नै मेरो अभियान हो, जति उहाँहरुको हो । मैले पनि त्यही स्टीकर टाँस्ने काम गरेको छु । किनभने मेरो पहिलो दायित्व नेपालका लागि छ, म पहिले नेपाली हुँ । के यो स्टीकर नटाँस्ने नेपाली नै हैन त ? त्यो पनि हैन । हामी सबैमा नेपाल र नेपाली हुनुको गौरव उत्तिकै छ । तर, कहिलेकाहीँ हामीले बाटो भुल्छौं, बिर्सिन्छौं र ठूलो-ठूलो स्वरले म यो जातको, म यो क्षेत्रको, म यो धर्मको भन्न थाल्छौं । हाम्रो स्टीकरको काम त्यस्तो बेलामा नेपाल र नेपाली सम्झाइदिने मात्र हो ।
संविधानको बहस
अब कस्तो संविधान लेख्ने भन्ने बिषयमा देशब्यापी बहस हुन्छ, कस्तो व्यवस्था, कस्तो शासकीय स्वरुप, कस्ता प्रदेश, कति प्रदेश आदि विषयमा पेचिलो बहस हुन्छ । तर, त्यो बेला पनि हामीले बिर्सनु हुँदैन, हामी केका लागि संविधान लेखिरहेका छौं, कसका लागि संविधान लेखिरहेका छौं । हामी नेपालको संविधान लेखिरहेका छौं र नेपालका लागि लेखिरहेका छौं भन्ने कुरा बोध हुनुपर्छ । त्यसैले आम जनतादेखि सभासद्सम्मलाई मुलुकप्रतिको दायित्ववोध र नेपाली हुनुको गौरव महसुस गराउन पहिले नेपाल, पहिला नेपाली अभियानलाई फैलाउनु जरुरी छ ।
चुनावको परिणाम आयो । हार्नेले पनि धाँधली भयो त्यसैले हार्यौं भनेका छन् भने जित्नेले पनि हाम्रो पार्टी यति पुरानो थियो, हाम्रो संगठन यस्तो थियो, हाम्रो एजेण्डा यस्तो थियो भनेका छन् । यहाँ हार्नेले पनि जनताले भोट दिएनन् र हार्यौं भनेनन्, जित्नेले पनि जनताले हामीलाई विश्वास गरे त्यसैले जित्यौं भनेनन् । संविधानसभाको सपथ नलिँदै राजनीतिक दलहरुले जनता भन्ने चिजलाई बिर्सन थालिसके ।
हामी अहिले संविधान लेखनको महत्वपूर्ण घडीमा भएकाले योबेला यो अभियान जति बृहत बनाउन सक्यो, त्यति नै राम्रो नतिजा आउँछ । नेपाल र नेपालीपनसहितको संविधान बन्न सक्यो भने हाम्रो अभियानले सार्थकता पाएको महसुस गर्ने छु । अब कस्तो संविधानलाई नेपालीपन भएको संविधान भन्नुहुन्छ भन्ने कुराचाहिँ अहिले म भन्दिँन, त्यो गर्ने अधिकार सभासद्हरुलाई छ । तर, हामीले नेपालीपन नबिर्स, यो जात र त्यो जातलाई पहिलो प्राथमिकतामा राखेर नेपालीपनलाई नबिर्स भनेर सम्झाउने हो । नेपालीलाई मात्र संविधान चाहिएको हैन, हामीलाई यस्तो संविधान चाहिएको छ, जसले नेपालको अखण्डता, नेपालको सार्वभौमसत्ता, सुरक्षा र सम्वृद्धिलाई समेटोस् ।
दोस्रो संविधानसभाबाट जुन परिणाम आएको छ, त्यसले पनि नेपाली जनताको भावना बुझ्न सकिन्छ । उहाँहरुले प्रष्ट सन्देश दिनुभएको छ कि नेपालीपन हाम्रा लागि प्राथमिक कुरा हो, बाँकी कुरा तपशील भनेर ।
जातीय भेदभाव हुनुहुँदैन
हाम्रो अभियानको उद्देश्य जातकै कुरै छाड, त्यसको कुरा नै नगर मात्र नेपाल र नेपाली भन भन्ने हैन । हामी सवैलाई आफ्नो जातमाथि गर्व छ, त्यसविरुद्ध कसैले कुरा गर्यो भने सैह्य हुँदैन । तर, हामीले जातको कुरा गरेको किन हो त भन्दा पछाडि परेको जातको आर्थिक सम्वृद्धि हुनुपर्यो, समान अवसर पाउनुपर्यो । जातका आधारमा भेदभाव हुनुभएन भनेको हो । मेरै जात ठूलो, मेरै नाममा राज्य हुनुपर्छ, बाँकी कसैको पनि अस्तित्व छैन भन्ने तरिका चाहिँ राम्रो हैन, यसले राष्ट्रियतालाई नै कमजोर बनाउँछ । विविधतामा एकता नै हाम्रो नेपालको पहिचान हो, ती रंगहरुलाई मिलाएर एउटा राम्रो चित्र बनाउँ भनेको हो, सेतो कागजमात्र बनाउँ भनेको हैन । हाम्रो अभियान पहिचानको बिरोधमा हैन ।
म स्याङ्जाको भीरकोटबाट आएको हुँ । मेरो हजुरबुबा त्यहाँको राजा हुनुहुन्थ्यो । अब अहिले मैले मलाई त्यही भीरकोट राज्य चाहिन्छ, त्यहीँको राजा बनाइदिनुपर्छ भन्यो भने त्यो समायानुकुल हुन्छ त? त्यो नेपाली जनताले मान्छन् त ? पक्कै पनि मान्दैनन् । त्यसैले नेपालीले स्वीकार्ने, समय सुहाउँदो र प्रजातान्त्रिक प्रणाली अनुकूल हुनुपर्यो ।
यो अभियान सुरु भएको भर्खरै एक सातामात्र भएको छ । केही राजनीतिकर्मीलाई पनि हामीले यसवीचमा भेटेर स्टीकर दियौं । उहाँहरुले निकै उत्साहका साथ आफ्नो मोटरमा टाँस्नुभयो । साँच्चिकै यो कुनै दल विशेष, समुदाय विशेष वा वर्ग विशेषको अभियान हैन । पहिले नेपाली र पहिले नेपाल भन्ने भावना भएका सबै नेपालीको अभियान हो ।
त्यसैले मैले यो स्पष्ट पार्न चाहान्छु कि यो संघीयताको विरुद्ध पनि हैन, यो पहिचानसहितको संघीयताको विरुद्ध पनि हैन, कुनै वाद, कुनै नेता वा कुनै जात वा समुदायको बिरोधमा पनि हैन । नेपाल आमाको समर्थनका लागि मात्र हो । आउनुस् हातेमालो गरौं, एउटा स्टीकरले पनि देश बदल्न सक्छ, नेपाल र नेपालीपनको रक्षा गर्न सक्छ । सयौंलाई छहारी दिने पिपलको बोट पनि सानै बिजबाट उमि्रने हो । हामी यो स्टीकर अभियानलाई त्यही बिज ठानेर अगाडि बढाऔं ।


0 comments
Write Down Your Responses