तरकारीको भाउ ३५ प्रतिशतले बढ्यो, माछा मासु र फलफूलको वृद्धि पनि उच्च
कार्तिक महिनामा भान्छाका अत्यावश्यक वस्तुहरु तरकारी, माछा-मासु, खाद्यन्न तथा फलफूलको मूल्य अप्रत्यासित रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकको शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्याङ्कअनुसार कार्तिकमा तरकारीको मूल्य ३५ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मूल्य वृद्धि जम्मा ३ दशमलव ४ प्रतिशतमात्र रहेको थियो ।
ठूला चाडपर्व र संविधानसभाको निर्वाचन लगातार परेपछि तरकारी, माछामासु र फलफूलको मूल्य अत्यधिक मात्रमा बढ्न गएको विज्ञहरूको भनाइ छ । चाडपर्व र चुनावको बेलामा खाद्य वस्तुहरुको खपत अन्य बेलामा भन्दा बढी खपत हुने गर्छ । चुनावको समयमा सरकार, राजनीतिक दल, पर्यवेक्षकहरुले बढी रकम खर्च गर्ने हुँदा बजारमा मुद्रा प्रदाय बढी हुन्छ ।
खाद्य वस्तुमा अत्यधिक मूल्य वृद्धि भएपनि वाषिर्क विन्दुगत उपभोक्ता मुद्रास्फीति भने घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा १० दशमलव ५ प्रतिशतले बढेको मूल्य वृद्धि समिक्षा अवधिमा १० प्रतिशतमा झरेको छ । यस अवधिमा खाद्य तथा खाद्यजन्य वस्तुको मूल्य वृद्धि १२ दशमलव ६ प्रतिशत, रोष्टुरेण्ट तथा होटलको बिल ११ दशमलव ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यी वस्तुको मूल्य क्रमशः ५ दशमलव ३ प्रतिशत र ११ दशमलव ७ प्रतिशतले बढेको थियो ।
यस अवधिमा लत्ता कपडा तथा जुत्ता-चप्पलको मूल्य वृद्धि ११ दशमलव ७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ९ दशमलव ५ प्रतिशत, अन्य वस्तुहरुको ८ दशमलव ३ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
क्षेत्रगत आधारमा मूल्य सुचाकाङ्क हेर्दा सबैभन्दा बढी तराईमा १० दशमलव ६ प्रतिशतले वुद्धि भएको छ भने काठमाडौं उपत्यकामा १० दशमलव ४ प्रतिशत र पहाडमा ८.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त क्षेत्रहरुको यस्तो वृद्धि क्रमशः १० दशमलव ८ प्रतिशत, ९ दशमलव ६ प्रतिशत र १० दशमलव ८ प्रतिशत रहेको थियो ।


0 comments
Write Down Your Responses