लोफर ल्याउँदै, लज्जा बनाउँदै

Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF lofar नेपाली फिल्म क्षेत्रलाई लगतार हिट फिल्म दिँदै आएका निर्माता तथा वितरक छवि ओझा आफ्नो पछिल्लो फिल्म लोफर रिलीजमा ल्याउँदै छन् भने यससँगै अर्को नयाँ फिल्म लज्जा बनाउँदै छन्। उनीद्वारा निर्मित लोफर यही शुक्रबारबाट देशभर एकसाथ रिलिज हुँदै छ भने अर्को नयाँ फिल्म लज्जा भोलि बिहीबारबाट सुटिङ फ्लोरमा जानेछ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा लोफरका निर्देशक आदित्यविक्रम लम्सालले तीन वर्ष लगाएर फिल्मको लेखन गरेकाले फिल्मले सफलता पाउनेमा विश्वस्त रहेको बताए। ‘तीन वर्ष लगाएर फिल्मको स्क्रिप्ट लेखनमा मेहनत गरेको छु, कुनै पनि फिल्मको सिको नगरिएको दाबी गर्दै यी डेब्यु डाइरेक्टरले भने– ‘हलिउड बलिउडको कपी यसमा गरिएको छैन। उनीहरुसँग हामीले कम्पिट गर्ने आधार भनेकै कन्टेन्ट मात्रै हो। यसमा हामीले हाम्रो सोसाइटीको कुरा गरेका छौं।’ कार्यक्रममा निर्माता छवि ओझाले पनि फिल्मले राम्रो व्यापार गर्नेमा विश्वास व्यक्त गर। प्रोमो हेरेपछि कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले नेपाली दर्शकलाई फिल्मले आकर्षित गर्नेमा विश्वास व्यक्त गरे। नेपाल चलचित्र संघका महासचिव तथा सो फिल्मका वितरक प्रदीप उदयले नेपालभर गरेर सय हलमा फिल्म एक साथ प्रदर्शन हुने जानकारी गराएका थिए। फिल्मका नायक आर्यन सिग्देल भने आफू सिग्देलकै चरित्रमा देखिने खुलाए। ‘सिनेमा जगत् नै लोफर भइरहेको बेला यस फिल्मले बाटो देखाओस्।’ –आर्यनले भने। अर्का अभिनेता दयाहाङ राईले फिल्म राम्रो बनाउने कोसिस गरेको दाबी गर्दै भने– ‘आम मानिसको मनोविज्ञानसँग अघि बढिरहेका फिल्म पनि असफल हुन्छन्, र सफल फिल्मले पनि सबैको चित्त बुझाइरहेको हुँदैन। तर यस फिल्मले यी दुवै काम गर्छ भन्ने विश्वास छ।’ दर्शकले आफूलाई कुनै न कुनै चरित्रका रुपमा पर्दामा नपाउँदा फिल्म पट्यार लाग्दो हुने पनि बताए। यसै फिल्मबाट डेब्यु गरेकी नायिका रजनी केसीले आर्यनको अभिनय धेरैदेखि हेर्ने गरेको बताउँदै उनीसँग Lofarफिल्म खेल्न पाएकामा खुसी व्यक्त गरिन्। दयाहाङको पनि अभिनय उनलाई मन पर्ने बताइन्। फिल्मका अर्का कलाकार कमलमणि नेपालले भने हरेक फिल्मले समाज बोल्नुपर्ने धारणा व्यक्त गरेका थिए। फिल्ममा आर्यन, दयाहाङ, कमलमणि र रजनीका साथमा सुशीलराज पाण्डे, कमलकृष्ण पौडेल, ध्रुव कोइराला, अमित श्रेष्ठ, सरोज बखुरेल, अनुपम शर्मा र सागर लम्सालको प्रमुख भूमिका रहेको छ। आदित्यविक्रमकै लेखन रहेको फिल्ममा कार्यकारी निर्माताका रूपमा छविराज ओझा रहेका छन् भने निर्माता दिजेन्द्र शाक्य रहेका छन्। मदन कास्यप घिमिरेको छायांकन रहेको फिल्ममा कविराज गहतराजको नृत्य, चन्द्र पन्तको द्वन्द्व, सोनाल कृष्ण सापकोटा, आदित्यविक्रम लम्साल र बाबुराम प्रधान शैलेन्द्रको संगीत रहेको छ भने राजेश पायल राई, उदेश श्रेष्ठ, सुगम पोखरेल र आशीष पराजुलीले स्वर दिएका छन्। सञ्चारकर्मी किरण खनालद्वारा सञ्चालित कार्यक्रममा फिल्मका प्रोमोसँगै ओखरे साइँला, ओखरे साइँली र मलाई किन बोलको गीतको भिडियो देखाइएको थियो। सोही अवसरमा निर्माता ओझाले बिहीबारदेखि अर्को फिल्म लज्जा सुटिङ फ्लोरमा जाने घोषणा गरे। यसमा उनले दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी मोडल शिल्पा पोखरेललाई डेब्यु दिने भएका छन् भने आर्यन सिग्देल अनुबन्धित भइसकेका छन्। यसको निर्देशन नवल नेपालले गर्दै छन्। द्वन्द्व चन्द्र पन्त, गीत किरण खरेल, नृत्य कविराज गहतराज, संगीत चेतन सापकोटा र छायांकन मदन कास्यप घिमिरेकै रहनेछ।

0 comments

Write Down Your Responses

Powered by Blogger.