छाता र लठ्ठी बोकेर हिँड्ने मान्छे प्रधानमन्त्री बन्दा धेरैले अचम्म माने ! किशुनजी आश्रममा राष्ट्रकविको सम्बोधन
सन्त नेता कृष्णप्रसादप्रति हार्दिक श्रद्दा अर्पण गर्दछु । उहाँकी सहयोगी अमिता कपालीज्यूप्रति हार्दिक धन्यवाद अर्पण गर्न चहान्छु । यो पवित्र आश्रममा म पहिले पनि आउन खोजेको थिएँ । तर, नभ्याएकाले आउन पाएको थिइँन । यहाँको वातावरण र यहाँको शान्ति देख्दा मेरो हृदय प्रफुल्ल भयो ।
हाम्रो योगसूत्रमा के भनेको छ भने राजयोगमा सबभन्दा पहिलो स्थान, पहिलो पाइला भनेको वातावरण हो । वातावरण शान्त भयो भने मात्र त्यसलेमात्रै चेतनाको अन्तिम शान्तिमा मानिस पुग्छ भनिएको छ । किसुनजीको आश्रममा जुन शान्तिको वातावरण छ जसले सबैको मनलाई प्रफुल्लित बनाउँछ । यहाँको ठाउँ रोजेर आश्रम बनाइदिनेहरुलाई म धन्यवाद दिन चाहान्छु ।
किसुनजी भन्नासाथ एउटा चित्र हाम्रो आँखा अगाडि आउँछ, छाता काँधमा लिएको, लठ्ठी टेकेको र पान चपाउँदै गरेर निस्केको तस्वीर हाम्रा आँखा अगाडि घुमिरहन्छ । छाता र लठ्ठी बोकेर हिंड्ने किसुनजी प्रधानमन्त्री भएको देख्दा धेरैले अचम्ममा मानेका थिए । प्रधानमन्त्री हुँदा पनि कृष्णजीको काँधमा छाता र लठ्ठी कहिल्यै छुटेन ।
यो पनि पढ्नुस्
प्रधानमन्त्री भइसकेपछि पनि काँधमा छाता ओढेर मैले पीरमा पर्नु छैन, हातमा लठ्ठी लिएर मैले कसैलाई दण्डित गर्नुछैन र सुराही बोकेर मैले सुरा गर्नुछैन भन्दै आफ्ना स्वार्थ त्यागेर निरन्तर देश र जनताको सेवामा लागिरहनुभयो । यस किसिमको विम्ब प्रस्तुत गर्ने कृष्णजी एउटा सन्त नेता हुनुहुन्थ्यो, प्रष्ट छ ।
कृष्णजी प्रधानमन्त्री भएका बेलामा मैले बधाइँ दिन फोन गर्न खोजें । मैले फोन गरेपछि सबैभन्दा पहिले बधाइ र धन्यवाद दिएँ । मैले बधाइ दिएपछि कृष्णजीले मलाई भन्नुभएको एउटा कुराले अहिले पनि शरीरमा झन्कार दिन्छ । ‘मेरो जीवनको लक्ष मुक्ति हो’ उहाँले भन्नुभएका यी शब्दले मेरो हृदयमा झन्कार पैदा गरेको थियो ।
एउटा नेता मुक्तिको कुरा गरिहेको छ, जुन चानचुने कुरा होइन । एउटा नेता तथा देशको प्रधानमन्त्रीले मलाई सहयोग गर्न आग्रह गर्नुभयो । मेरो के सहयोग चाहिएको थियो ? त्यो व्यंग्य थियो या साँचो अभिव्यक्ति ? त्यो पनि मैले सुनें ।
उहाँले मुक्ति चहान्छु भनेको कुरालाई मैले दुईवटा अर्थमा लिएको छु । जनताको निम्ति, स्वतन्त्रता प्राप्तिका लागि जुन मुक्ति चाहिएको थियो, त्यसको चहाना म गर्दछु भन्ने उहाँको बाहिरी अभिप्राय थियो ।
उहाँको व्यक्तिगत जीवनको उद्देश्यचाँहि वास्तविकतामै मुक्तिकै चहाना थियो । उहाँको जीवन पनि मुक्तिको चहानाकै लागि बनारसमा बितेको थियो । जसले अन्तिम समयमा मुक्तिको चहाना गर्छ, त्यसले यो लोकप्रति कुन आग्रह राख्दैन, त्यो निरपेक्ष हुन्छ । त्यो निरपेक्षता कृष्णजीको हरेक अवस्थामा प्रष्ट देखिन्थ्यो ।
कसैलाई केही भन्नुपरेमा कृष्णजी हरेक कुरालाई ठट्टाका रुपमा लिनुहुन्थ्यो । कृष्णजी कसैसँग गम्भीर भएर बोल्नुभएन तर उहाँले ठट्टामै बोल्दा पनि गम्भीर कुराहरु लुकेका हुन्थे ।
कृष्णजीले कसैसँग पनि आग्रह पूर्वाग्रह राख्नुभएन । हाम्रो पूर्वीय र नेपाली जीवनमा जीवनको उद्देश्य र त्यसको आचारण कस्तो हुनुपर्छ ? हाम्रो गृहस्थ जीवन कस्तो हुनुपर्छ ? हाम्रो जीवन निरपेक्ष र पूर्वाग्रहरहित हुनु आवश्यक छ । यसको परिकल्पना पहिलेदेखि भएको थियो ।
खासगरी कृष्णप्रसादजी सधैं पाठ गर्नुहुने गीतामा ज्ञानको प्रसंगमा, कर्मको प्रसंगमा र भक्तिको प्रसंगमा उल्लेखित कुराहरु जस्तै सबैको, मानिसको जीवन कस्तो हुनुपर्छ ? उहाँ सधैं चिन्ता गर्नुहुन्थ्यो । कृष्णजीले सधैं अहिंसाको मार्ग अपनाउनुभयो । कृष्णजीले भागवत गीतामा उल्लेखित कुराहरुलाई सधैं अबलम्बन गर्दै हिँड्नुभएको थियो । त्यसैले उहाँको जीवन सबैका लागि प्रेरणादायी छ ।
-पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको ९० औं जन्मजयन्तीको अवसरमा बाँडेगाउँमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले सोमबार गर्नुभएको सम्बोधन)


0 comments
Write Down Your Responses