चुनावी बन्दको प्रभाव पर्यटनमा, पर्यटक आगमन ७ प्रतिशतले घट्यो
वैद्य माओवादी मोर्चाको बन्दले संविधानसभा चुनावलाई कुनै प्रभाव पार्न नसके पनि पर्यटक आगमनमा भने प्रत्यक्ष प्रभाव पार्यो । चुनाव असफल बनाउने उद्देश्यका साथ घोषणा गरिएको अनिश्चितकालिन बन्द हड्तालका कारण नोभेम्बर महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ७ दशमलव १ प्रतिशतले घटेको छ ।
नोभेम्बरमा ५५ हजार २ सय ४५ जना पर्यटकहरु अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही महिनाको तुलानामा ४ हजार १ सय ६६ जनाले कम हो । सन् २०१२ को नोभेम्बरमा ५९ हजार ४ सय ११ जना पर्यटक नेपाल भित्रिएका थिए ।
सन् २००९ को जुनदेखि नेपालमा पर्यटक आगमन निरन्तर बढ्दै गइरहेको भएपनि पछिल्लो महिना पर्यटक आगमन घट्न थालेको छ । ‘जुनसुकै देशले पनि बढी भन्दा बढी पर्यटक भित्राउन उनीहरुलाई शान्ती सुरक्षाको प्रत्याभूति गराउनुपर्ने हुन्छ’ पूर्व अर्थसचिव रामेश्वर खनालले भन्नुभयो, ‘हामीले शान्ती सुरक्षाको पूर्ण प्रत्याभूति दिन नसकेका कारण पर्यटकको गन्तव्य नेपाल बन्न सकेन ।’
मूख्य पर्यटकीय सिजनको बिचमा गरिएको संविधानसभा चुनाव र चुनाव लक्षित बन्द हड्तालका कारण पर्यटकहरु नेपाल भ्रमणमा आउन डराएको होटल एशोसियसन नेपाल (हान) का अध्यक्ष श्याम सुन्दरलाल कक्षपतिले बताउनुभयो । ‘कुनै पनि देशको भ्रमणमा जान विदेशीहरुले ६ महिना एक वर्ष अगाडी योजना बनाएका हुन्छन्, नेपालीहरु जस्तै भन्ने वित्तिकै झोला टिपेर हिँड्ने बानी उनीहरुको हुँदैन’ उहाँले भन्नुभयो- ‘चुनावलाई लक्षित गरी बन्द हड्ताल घोषणा गरेपछि अधिकांश पर्यटकहरुले नेपाल भ्रमणको बुकिङ रद्द गरे ।’
बन्द हड्तालका कारण नोभेम्बरमा फुल अकुपेन्सी हुने होटलहरु आधाभन्दा बढी खाली हुन पुगेको व्यवसायीहरुले गुनासो गरेका छन । पर्यटनमा कुनै पनि घटनाको दीर्घकालिन असर पर्ने बताउँदै पूर्व अर्थसचिव खानालले भन्नुभयो- ‘नोभेम्बरमा मात्र होइन, डिसेम्बरमा पनि पर्यटकको आगमन कम हुनेछ ।’
पर्यटक आगमन घट्नुमा हवाई भाडामा भएको वृद्धि, संविधानसभा चुनाव, बन्द हड्ताल, बम पडि्कएका तथा मारिएका घटनाहरु सञ्चार माध्यमहरुमा आउनु, आर्थिक मन्दीलगायत कारकका रुपमा रहेको विज्ञहरुको निश्कर्ष रहेको छ । विश्व आर्थिक विकास न्यून गतिमा अगाडी बढीरहेका कारण २०१२ को पहिलो ८ महिनाको तुलनामा २०१३ को ८ महिनामा विदेशी पर्यटक अगमन पनि न्यून दर ५ प्रतिशतले मात्र बढेको अन्तर्राष्ट्रिय सरोकारवाला संस्थाहरुले बताएका छन् ।
नेपालमा प्रशस्त पर्यटकीय सम्भवना भएपनि सरकार तथा सरोकारवाला निकायहरुले पर्यटन विकासमा आवश्यक भूमिका निर्वाह गर्न नसक्दा पछाडी पर्दै आएको बताइन्छ । सरकारले पर्यटन विकास गर्ने दीर्घकालिन नीति लिन नसक्नु, पूर्वाधार विकास गर्न नसक्नु, पर्यटकलाई सिमित क्षेत्रमा भ्रमण गराउनु लगायतका कारण पर्यटक बढी भित्राउन नसकिएको र भित्रिएका पर्यटकहरुको पनि बसाई लम्ब्याउन नसकिएको हो ।


0 comments
Write Down Your Responses