आफूखुसी औषधि खाँदा ज्यानै जाने खतरा
रुघाखोकी, ज्वरो र घाँटी दुख्ने समस्या देखिनासाथ कालोपुलकी दिया खनाल नजिकैको औषधि पसल पुगिन् । पसलले उनलाई तीन दिनका लागि एन्टिवायोटिक्स् थामाइदिए ।
एजिथ्रोमाइसिन र कफसिरफ तीन दिनसम्म खाँदा पनि उनलाई निको हुने छेकछन्द देखिएन् । बल्ल उनी हिमाल अस्पतालको क्लिनिक पुगेर चिकित्सकलाई देखाइन् ।
बल्ल थाहा भयो, उनलाई एन्टिबायोटिक्स खानुपर्ने किसिमको समस्यै रहेनछ । डा. लोचन कार्कीले दियालाई तातोपानी खाएर केही दिन आराम गर्न सल्लाह दिँदै कम नभए मात्र अलि कडा औषधि दिने बताउँदा मात्र उनले चाल पाइन, आफूले जथाभावी औषधि खाएको ।
डा. कार्कीले आफ्नो क्लिनिकमा मंगलबारमात्र साँझ साढे ६ बजे सम्म १० जना बिरामी हेरिसकेका थिए । जसमा अधिकांश रुघाखोकी र टन्सिलले सताइएका थिए । संयोगले उनीहरु सबै आफूखुसी औषधि खाएर निको नभएपछि कार्कीलाई देखाउन आएको नागरिक दैनिकमा खबर छ ।
‘धेरैजसोले औषधि पसलसम्म गएर दुईथरीसम्म एन्टिवायोटिक्स खाइसकेका रहेछन्,’ कार्कीले भने, ‘एन्टिवायोटिक्स अवस्था हेरेर पाँचदेखि सात दिन खानुपर्नेमा छिटो निको हुने आशामा उनीहरुले तीन दिनमात्र खाएका रहेछन् ।’
मंगलबार मात्र होइन, पहिलोपटक ओपिडी वा क्लिनिकमा पुग्ने ५० देखि ६० प्रतिशत बिरामीले लक्षणका आधारमा आफैं औषधि किनेर खाने गरेको अनुभव डा. कार्कीको छ ।


0 comments
Write Down Your Responses