एक गाग्री पानी भर्न रातभर जाग्राम

Print Friendly and PDF 
अनामनगर घट्टेकुलामा डेरा बस्दै आएका धनकुटाका विशाल श्रेष्ठ खानेपानी भर्न साताको एक दिन जाग्राम नै बस्छन् । खानेपानी भर्न उनी मात्र होइन्, उपत्यकाका कैयौं व्यक्ति खानेपानीको पर्खाइमा रातभर अनिदो बस्छन् । फरक यति हो, अन्य व्यक्ति खानेपानी अभाव टार्न आफूखुसी जाग्राम बस्छन्, विशाल भने घरबेटीको उर्दीका कारण रातभर अनिदो बस्छन् ।
कोठा पाउनै मुस्किल काठमाडौं उपत्यकामा घरबेटीको उर्दी मान्नु विशालको बाध्यता हो । तर रातभर अनिदो बस्दा पनि धारामा पानीको अनुहार नदेख्दा उनी साह्रै दुःखी बन्छन् । ‘सातामा एक दिन पानी आउँछ भनेर रातभर कुरिन्छ, तर धारामा पानी खस्दैन, यस्तो समस्या मैले धेरै पटक भोगेको छु,’ उनले अनुभव सुनाए ।
दुईजना साथीसहित दुईओटा कोठा लिएर बसेका उनी कतिपटक जारको पानी किनेर भाँडा माझ्नुपरेको समेत सुनाउँछन् ।
विशालको मात्र होइन, बीएस्सी दोस्रो वर्षमा अध्ययन गरिरहेकी धरानकी सुनिता राईको पनि साताको एक दिन जाग्राममै बित्छ । तोकिएको बारमा पनि पानी आउने निश्चित समय नभएकाले उनी रातभर अनिदो नै हुन्छिन् । रातभर अनिदो बस्दा पनि साताभरका लागि चाहिने पानी जोहो गर्न उनले नसकेको राजधानी दैनिकमा खबर छ । ‘रातभर नसुतेर भरेको पानीले भाडाँ माझ्न पुग्दैन,’ उनले सुनाइन । ‘सातामा एक घण्टा पानी आउँछ, त्यसले लुगा धुन र सरसफाइ गर्न पनि पुग्दैन्,’ उनले गुनासो गरिन, खाना पकाउन र पिउने पानी त सँधै जारको किन्नुपर्ने अवस्था छ ।’ कतिपटक पानी नभएर नुहाउन नपाएकोसमेत उनले दुखेसो गरिन् ।
एक मानिसका लागि दैनिक ८० देखि १०० पानी आवश्यक भएपनि राजधानीमा यसको पयाप्तता नभएको विशेषज्ञहरुको भनाई छ । खानेपानी तथा सरसफाइ महासंघका अध्यक्ष राजेन्द्र अर्यालले पनि राजधानी नै खानेपानीका लागि काकाकुल सहर भएको बताएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.