सर्लाहीका उखु किसान सुनिल झा पाँच दिनदेखि गत वर्षको उखुको पैसा लिन मिलमा धाइरहेका छन् । झा जस्तै गत वर्ष उखुको भुक्तानीका लागी रौतहट, बारा, सर्लाहीका धेरै किसान केही दिनदेखि मिलमा दिनहुँ धाइरहेका छन् । सर्लाहीका झाले गएको वर्ष रौतहटको श्रीराम सुगर मिलमा उखु दिएबापत करिब ५० हजार रुपैयाँ लिन बाँकी छ ।
यस्तै रौतहट सखुअवा गाविसका किसान सुरेश यादवले पनि मिलसँग करिब ६० हजार रुपैयाँ लिन बाँकी छ । पुरानै पैसा लिन बाँकी भए पनि उहाँले यो वर्ष पनि शून्य मूल्यमा बेच्नका लागि मिलमा उखु ल्याएका छन् । उहाँले भन्नुभयो, “किसान धेरै मारमा छन्, पुरानै पैसा पाएको छैन नयाँको त कहिले हो कहिले ।”
रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलले एक सयभन्दा बढी किसानको गत वर्षको उखुको करिब २० करोड रुपैयाँ किसानलाई भुक्तान गर्न बाँकी छ । समयमा नै चिनी मिलले उखुको पैसा नदिँदा केही उखु किसानले यो वर्ष उखु खादसारी -सक्खर उद्योग)मा बिक्री गर्न थालेका छन् ।
गत वर्ष चिनी उत्पादक सङ्घ र उखु उत्पादक महासङ्घबीच भएको सहमतिअनुसार उखु प्रतिक्विन्टल ४ सय ८१ रुपैयाँ रहेको थियो । यो वर्ष सहमति नहुँदा किसानले शून्य मूल्यमा उखु मिललाई दिएका छन् । रौतहटको सङ्ग्रामपुरमा रहेको खादसारीले प्रतिक्विन्टल ३०० रुपैयाँमा उखु खरिद गरिरहेको छ । सो ठाउँमा १० भन्दा बढी सक्खर उद्योगहरु सञ्चालनमा छन् ।
रौतहटमा यस वर्ष ६ हजार ८ सय १९ बिघामा खुटी र आठ हजार ३ सय ६६ बिघामा मुरहन गरी जम्मा १५ हजार ३ सय ९९ बिघा जमिनमा उखुबाली लगाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । श्रीराम सुगर मिलले यस वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ । गत वर्ष मिलले करिब २० लाख क्विन्टल उखु क्रसिङ गरेको थियो ।
सो मिलका महाप्रबन्धक अशोक सिंहले उखुको मूल्य निर्धारण हुन नसकेपछि प्रतिक्विन्टल ४ सय रुपैयाँ पेस्की दिने सहमतिमा मिल सञ्चालनमा आएको बताउनुभयो । रासस
राजधानीमा दिनहुँ सयौं सवारीसाधन भित्रिन्छन्। किनबेच र दर्ताप्रक्रिया पनि भइरहेको हुन्छ। तर सवारीधनी प्रमाणपत्र दर्ता र नवीकरणबाट सरकारले पाउने वार्षिक करिब पाँच अर्ब रुपैयाँ कहाँ जान्छ भन्ने हिसाब कुनै निकायसँग छैन।
यातायात व्यवस्था विभागको अभिलेखमा १६ लाख ३० हजार गाडी दर्ता छन्। विभागअन्तर्गत २०४६ सालपछि दर्ता भएका गाडी संख्याका आधारले वार्षिक औसत आठदेखि १० अर्ब राजस्व सवारी करबाट मात्रै असुल हुनुपर्ने हो। तर यस आर्थिक वर्षको पछिल्लो चार महिनामा सवारी करसहित सवारी इजाजत र चालक अनुमतिपत्र, सहरी सडक निर्माण तथा सम्भार दस्तुर, यातायात क्षेत्रको आयजस्ता सबै कर गरेर तीन अर्ब १४ करोडमात्र राजस्व संकलन भएको छ।
विभागले वर्षभरिमा सबै कर शीर्षकबाट आठ अर्ब राजस्व संकलन हुने अनुमान गरेको छ। अरू शीर्षकको कर कहाँ जान्छ?
विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकाल उठेको सवारी कर सन्तोषजनक नभएको स्वीकार्छन्। ‘राजस्व बढ्नुपर्ने हो। कर तिर्न मान्छे नआएका हुन सक्छन्। चुहावट केही कम त भएको छ,’ उनले भने, ‘सफ्टवेयरमा गएपछि समस्या घटेको छ। रोकिएकै त भन्न सकिन्न।’ उनले कर्मचारी र बिचौलियाको सहयोगमा करदाताले ६ वर्षको बक्यौता रहे पनि दुई वर्षको मात्रै तिर्ने गरेको बताए।
अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनी बजेटका लागि विभागले उपलब्ध गराउने राजस्व लक्ष्य र करको दररेट समायोजनमा मात्र मन्त्रालयको भूमिका रहने बताउँछन्। ‘दर्ता भएका सवारीसाधनअनुसार कर नउठेको विषय मन्त्रालयका लागि पनि नौलो हो। राजस्व महाशाखामा कुरा उठाउँछौं’, उनले भने।
पछिल्लो १० वर्षमा मोटरसाइकल सबैभन्दा धेरै दर्ता भएका छन्। पुराना भएर काम नलाग्ने, दुर्घटनाग्रस्त र मुद्दा परेर थन्किएका मोटरसाइकलको संख्या घटाउँदा पनि विभागले दुईपांग्रेबाट संकलन गरिरहेको वार्षिक राजस्व न्यून छ। यसले सडकमा गुडिरहेका मोटरसाइकलले नियमित राजस्व तिरेका होलान् भन्न कठिन रहेको अन्नपूर्ण पोस्टमा खबर छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी केशव अधिकारी ट्राफिक प्रहरीले नवीकरण फेल भएका दैनिक ४० देखि ६० वटासम्म ब्लुबुक (सवारीधनी प्रमाणपत्र) नियन्त्रणमा लिने गरेको बताउँछन्। ‘हामी नवीकरण फेल भएका सवारीसाधन नियन्त्रणमा लिन्छौं। राजस्व बुझाएको निस्सा ल्याएपछिमात्र छाड्ने गरेका छौं,’ अधिकारीले भने। उनले ब्लुबुक नवीकरण गरेको कागजात सक्कली हो कि होइन भन्ने ठम्याउन ट्राफिक प्रहरीलाई गाह्रो हुने बताए।
महानिर्देशक ढकाल चालक अनुमतिपत्रदेखि सवारीधनी प्रमाणपत्रसम्म सबै कागजपत्र डिजिटल भएपछि समस्या समाधान हुने बताउँछन्। तर अवस्था महानिर्देशक ढकालले सोचेजस्तो छैन।
चौबीसै घन्टा सीसीटीभी र सुरक्षकर्मीको उपस्थिति रहने यातायात व्यवस्था कार्यालय बागमतीबाटै एक दिन बिराएर ललितपुर प्रहरीले बिचौलिया पक्राउ गरिरहेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रमेश भट्टराईले पक्राउ परेकाबाट लाइसेन्स, ब्लुबुक र कार्यालयकै ढड्डासम्म बरामद हुने गरेको बताए।
उनले भने, ‘पक्राउ परेकाहरूले कार्यालयका कर्मचारीसँग कुनै सम्बन्ध नरहेको बयान दिन्छन् तर उनीहरूले लगेको काम सेवाग्राहीले लगेको भन्दा किन छरितो हुने गरेको छ, हामी पनि खोज्दैछौं।’
चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गीतानगर गाविस वडा नम्बर-४ स्थित देवनगरमा गुडिरहेको लु २ प ४१८७ नम्बरको मोटरसाइकल एक्कासि अनियन्त्रित भई सालको रुखमा ठोक्किदा मोटरसाइकल चालक प्रवीण खाणको मृत्यु भएको हो ।
२५ वर्षका खाँड गीतानगरको उज्ज्वल नगरबाट केशरनगरतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।
गएराति भएको द गर्दा मोटरसाइकल राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ । खाँडको घटनास्थलमै मृत्यु भएको थियो ।
कीर्तिपुर नगरपालिका-१४ स्थित चोभार क्षेत्र पदयात्रा एवम् अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै गएको छ ।
पर्यटकीय रुपमा अवलोकनका साथै चोभारको आदिनाथ डाँडासम्म पदयात्राका लागि दैनिक सयौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् । विशेषगरी सार्वजनिक बिदाका दिनहरुमा काठमाडौँ, ललितपुर र भक्तपुरका साथै विदेशी पर्यटकहरु प्नि चोभार क्षेत्रको भ्रमणमा आउन थालेको स्थानीयवासी दीपेश महर्जनले बताउनुभयो ।
पछिल्लो समयमा जलविनायक सामुदायिक वन उपभोक्ता समूहको पहलमा चोभार क्षेत्रमा रहेको एसियाकै दोस्रो लामो मञ्जुश्री गुफासहित यस क्षेत्रमा वनभोजस्थल लगायतका पूर्वाधारहरु व्यवस्थित गरेसँगै यहाँ पर्यटकहरुको आकर्षण बढिरहेको स्थानीयवासी बताउँछन् ।
चोभारको जलविनायक मन्दिरदेखि आदिनाथ मन्दिरसम्म पर्यटकहरु छोटो दूरीको पदयात्राका लागि पुग्ने गरेका छन् । काठमाडौँ उपत्यका उत्पत्तिसँग प्रत्यक्ष जोडिएको चोभार इतिहासको अध्ययन गर्ने अध्येताका साथै विभिन्न शैक्षिक संस्थाका विद्यार्थीका लागि महत्वपूर्ण अध्ययनको स्थल बनेको छ । रासस

