अवैध ठहरिए साहासिक खेल पर्यटन व्यावसाय

१३ मंसिर, काठमाडौं । साहासिक तथा मनोरञ्जनात्मक खेल पर्यटन व्यवसायले अबदेखि इजाजत लिएरमात्र सञ्चालन हुन पाउने भएका छन् । बिना इजाजत सञ्चालनमा रहेका यस्ता व्यवसायलाई सरकारले पहिलोपटक अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । पछिल्लो समय साहासिक खेलका गतिविधि बढ्दै जान थालेपछि त्यसलाई व्यवस्थित गर्न सरकारले इजाजत लिनुपर्ने व्यवस्था गरेको हो ।
पर्यटन ऐन-२०५३ मा अन्य शिर्षकमा राखिएका यस्ता व्यावसायलाई अनिवार्य इजाजतको व्यवस्था गरी सरकारले निर्देशिका जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन उद्योग महाशाखाले अन्य शिर्षकमा राखिएका क्षेत्रहरुको विस्तृत व्याख्या गर्दै उक्त निर्देशिका जारी गरेको हो । हाल नेपालमा सञ्चालित साहासिक तथा मनोरञ्जनात्मक व्यवसायले इजाजतपत्र लिएका छैनन् ।
bungee-jump
यी हुन साहासिक पर्यटन व्यवसाय
नेपाल साहासिक पर्यटन व्यवसायका लागि विश्वकै उत्कृष्ट मुलुक मानिन्छ । यहाँ दर्जनौं प्रकारका साहासिक खेल पर्यटन व्यवसाय सञ्चालन गर्न सकिन्छ । हाल नेपालमा ‘बञ्जिम्प’, ‘क्यानोनिङ’, ‘स्काई डाइभिङ’, ‘जिप फ्लाइङ’, ‘प्याराग्लाइडिङ’, ‘बेलुनिङ’ ‘केबलकार’ फनपार्क लगायतका यस्ता व्यवसायहरु सञ्चालनमा रहेका छन् ।
यी मध्ये प्याराग्लाइडिङ व्यवसायले मात्र हवाई उड्डयन महाशाखामा दर्ता भई अनुमति प्राप्त गरेको छ । निर्देशिका अनुसार अन्य व्यवसायहरु अवैध ठहरिएका छन् । निर्देशिका जारी भइसकेको अवस्थामा अब सबै प्रकारका साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसायले अनिवार्य रुपमा इजाजत लिनुपर्ने भएको छ । अन्यथा सरकारले नै यस्ता व्यवसायहरु बन्द गरिदिने बताएको छ ।
इजाजत तथा नविकरण दस्तुर
निर्देशिकामा साहासिक खेल तथा क्रियाकलापको आधारमा सरकारले छुट्टा-छुट्टै इजाजत र नवीकरण दस्तुर तोकेको छ । केबुलकार सञ्चालन गर्न इजाजतपत्रका लागि ५० हजार रुपैयाँ र नवीकरणका लागि २५ हजार रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै, एम्युजमेण्ट पार्क र फनपार्कका लागि इजाजत दस्तुर ५० हजार तथा नवीकरण दस्तुर २५ हजार रुपैयाँ तिनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । केवुलकारसहित एम्युजमेण्ट पार्क सञ्चालनका लागि इजाजत दस्तुर ७५ हजार र नवीकरण दस्तुर ३५ हजार रुपैयाँ तोकिएको छ ।
Canyonning
बञ्जी जम्प र जीप फ्लायर सञ्चालनका लागि इजाजत दस्तुर ४० हजार र नवीकरण दस्तुर २० हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, क्यानोनिङका लागि इजाजत दस्तुर ३० हजार र नवीकरण दस्तुर १५ हजार रुपैयाँ तोकिएको छ । अन्य साहासिक गतिविधिहरु सञ्चालन गर्न चाहेमा इजाजत दस्तुर ५० हजार र नवीकरण दस्तुर २५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
इजाजतपत्रका लागि के गर्नुपर्छ ?
निर्देशिकाअनुसार यस्तो व्यावसाय सञ्चालन गर्न चाहनेले इजाजतका लागि सम्भाव्यता अध्ययन प्रतिवेदनसहित खेलको विवरण, कम्पनी दर्ताको प्रमाणपत्र, उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि पर्यटन उद्योग महाशाखामा बुझाउनुपर्ने छ । साथै, प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय मूल्याङ्कनको स्वीकृत प्रतिवेदन, सुरक्षा, बीमा तथा अन्य प्रबन्धबारे पनि उल्लेख गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
इजाजतपत्रको अवधि ५ वर्षको हुने र त्यसपछि पुनः नवीकरण गर्नुपर्ने बताइएको छ । साथै, साहसिक तथा मनोरञ्जनात्मक खेल पर्यटन व्यवसायीले इजाजत प्राप्त गर्दा तोकिएका शर्त तथा मापदण्ड पूरा नगरे दर्ता खारेज हुनेसम्मको कडा व्यवस्था गरिएको छ । व्यवसायीले अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त कम्पनीबाट उत्पादित र सुरक्षाका सबै मापदण्ड पूरा गरेका खेल सामग्रीमात्र प्रयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
बीमा र सुरक्षाको प्रयाप्त व्यवस्था गर्नुपर्ने
खेलमा भाग लिने हरेक व्यक्ति, कर्मचारी तथा कामदारको बीमा र सुरक्षाको प्रयाप्त व्यवस्था गर्नुपर्ने, खेलमा भाग लिने व्यक्ती र कामदारलाई चोटपटक लागेमा तत्काल उद्धार तथा उपचारको प्रबन्ध मिलाउनुपर्ने, नीजको मृत्यु भएमा कानुनबमोजिम क्षतिपूर्ति बीमाको व्यवस्था गर्नुपर्ने लगायतका प्रावधान निर्देशिका राखिएको छ ।
cable-car

0 comments

Write Down Your Responses

Powered by Blogger.