तीन महिनामा साढे ८१ अर्ब भारु खरिद

शिव दुवाडी,काठमाडौं
भारतसँगको परनिर्भरता बढ्दै गएका कारण पछिल्लो समयमा भारतीय रुपियाँ (भारु) को मागसमेत बढेको छ। भारतबाट नेपालमा हुने अस्वभाविक आयात, अध्ययन, भ्रमण र उपचारलगायतका नाममा हुने खर्च र पुँजी पलायनले मुलुकको भारतसँगको परनिर्भरता बढ्दै गएको हो।
सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७०⁄७१ को पहिलो तीन महिनासम्मको अवधिमा नेपाल राष्ट्र बैंकले अमेरिकी डलर ८२ करोड बिक्री गरी ८१ अर्ब ५३ करोडबराबरको भारु खरिद गरेको छ। भारतीय रुपियाँको माग बढेपछि त्यसलाई थेग्न अमेरिकी डलर बिक्री गरी भारु खरिद गर्ने गरिन्छ।
राष्ट्र बैंककै तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ७० करोड बिक्री गरी ६० अर्ब ९९ करोड बराबरको भारु खरिद भएको थियो। उक्त तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको असोज महिनासम्ममा मात्रै झण्डै २२ अर्बभन्दा बढी भारुको माग बढेको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले आवश्यकता अनुसार भारु खरिद गर्ने प्रचलन रहेको बताउनुभयो। उहाँका अनुसार भारुको माग भए अनुसार राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकमा अमेरिकी डलर बिक्री गरी त्यहाँबाट भारु खरिद गर्ने गर्दछ।
सामान्यतया एक देशको मुद्रा अर्को दशले खरिद गर्ने वितरण गर्ने प्रचलन हुँदैन। यद्यपि नेपाल र भारतबीचको खुल्ला सिमा, नेपालको भारतसँगको आर्थिक कारोबारमा बढ्दै गएको परनिर्भरतालगायतका कारणले केन्द्रीय बैकले नै बजारको मागअनुसार भारुको व्यवस्थापन गर्दै आएको छ। यद्यपि, सर्वसाधारण मानिसले भने माग अनुसार भारु पाउन नसकेको गनासो गर्ने गरेका छन्। उनीहरूले तोकिएको विनिमय दरभन्दा बढी तिरेर भारु खरिद गर्ने गरेको बताउँदै आएका छन्। यस्तो कारोबार सामान्यतया सिमा क्षेत्रमा बढी हुने गरेको छ।
गतवर्ष एटीएम कार्डको प्रयोग गरी भारतीय बजारबाट भारु ल्याई नेपाली बजारमा बिक्री गर्ने क्रम समेत ह्वात्तै बढेको थियो। त्यस्तो कारोबार बढ्न थालेपछि बैंकिङ संस्थाहरूले देखाएको सक्रियता र एटीएमको कारोबारमा तोकेको सिमासँगै त्यस्ता गतिविधिमा भने सुधार आएको राष्ट्र बैंकका अर्का एक अधिकारीले बताए। ती अधिकारीका अनुसार भारुको बढी माग हुनुको मुख्य कारण निकासी पैठारी व्यापारबीचको चर्को असन्तुलन नै हो। आर्थिक वर्ष २०७०⁄७१ को तीन महिनासम्ममा मुलुकको कुल वस्तु व्यापार घाटा ११ दशमलव ३ प्रतिशतले वृद्धि भई १२८ अर्ब ७९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४० दशमलव ८ प्रतिशतको उच्च दरले बढेको थियो।
राष्ट्र बैंकका अनुसार कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको घाटा समीक्षा अवधिमा १४ दशमलव २ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा भारतसंँगको यस्तो घाटा ४२ दशमलव ७ प्रतिशतले बढेको थियो। सोही अवधिमा कुल वस्तु निर्यात ११ दशमलव ३ प्रतिशतले वृद्धि भई २३ अर्ब ७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४ दशमलव ९ प्रतिशतले वृद्धि भई २० अर्ब ७३ करोड रहेको थियो।
उक्त अवधिमा कुल वस्तु आयात ११ दशमलव ३ प्रतिशतले बढेर १ खर्ब ५१ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३६ दशमलव १ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ४८ करोड पुगेको थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.