सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकपको तयारी तीव्र

यूएईमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले २० ओभरको विश्वकप छनोटको नजिक पुगिरहेको बेला नेपालमा भने ५० ओभरको विश्वकपको तयारी जोडतोडका साथ शुरु भएको छ। आगामी वर्षको जनवरीमा अर्थात् डेढ महिनापछि न्युजिल्यान्डमा हुने ५० ओभरको विश्वकप नेपाली क्रिकेटका लागि अर्को ठूलो अवसर र चुनौतीको रुपमा उभिएको छ। त्यसका लागि नेपाललाई ठूलोभन्दा ठूलो प्रतियोगिताको अभ्यास आवश्यक भएकाले नेपाल क्रिकेट संघको संयोजनमा यही मंसिर १७ गते काठमाडौंमा ५० ओभरको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकप क्रिकेट’ को आयोजना हुन लागेको हो।
जोरा इन्टरनेसनल प्रालिको आयोजनामा तथा सगरमाथा सिमेन्टको मुख्य प्रायोजनामा हुने प्रतियोगितामा नेपालको राष्ट्रिय टोलीले सिंगापुर, भारतको एयर इन्डिया र भारतकै दिल्ली वन्डरर्ससँग खेल्नेछ। भारतीय क्लबहरूमा भारतको चर्चित लिग आईपीएलका चर्चित खेलाडीहरू तथा रणजी ट्रफीका खेलाडीहरूको सहभागिता हुने भएका छन्।
नेपालका प्रशिक्षक पुबुदु दासानायकेले पनि नेपाली टोली अहिले २० ओभरको प्रतियोगितामा खेलिरहेको हुनाले सो प्रतियोगिताले टोलीलाई ५० ओभरको प्रतियोगिताको ढाँचामा लाने बताउनुभएको छ। उहाँले यूएईबाट सन्देश पठाउँदै भन्नुभएको छ– ‘हामी अहिले २० ओभरको विश्वकपमा पुग्ने तयारीमा केन्द्रित भएका छौं र नेपाल फर्किनासाथ खेलाडीहरूलाई ५० ओभरको खेलतिर ढाल्नु परेको छ। त्यसैले अन्तर्राष्ट्रिय टोलीसँग खेलेर अभ्यासको थालनी गर्दा खेलाडीहरूलाई निकै फाइदा पुग्नेछ।’
प्रशिक्षक दासानायकेले थप्नुभयो– ‘न्युजिल्यान्डको विश्वकप छनोट नेपाली क्रिकेटको परिवर्तको अर्काे ठूलो कोसेढुंगा सावित हुन सक्छ। यसका लागि आधारभूत अभ्यासमात्र होइन, ठूलो म्याच प्राक्टिसको केटाहरूलाई जरुरी छ।’ कीर्तिपुर क्रिकेट मैदानमा एक सातासम्म हुने सो प्रतियोगितालाई न्युजिल्यान्डको हावापानीसँग मेल खाने हुनाले फाइदा पुग्ने विश्वासमा छन् पूर्वकप्तान विनोद दास। प्रतियोगिताको टेक्निकल डाइरेक्टरसमेत रहनुभएका दासले भन्नुभयो– ‘न्युजिल्यान्ड र नेपालको मौसममा यति बेला खास अन्तर हुने छैन। यस्तोमा ठूला प्रतियोगिताले खेलाडीहरूलाई एउटा खाका दिनेछन्। अनि प्रशिक्षकले पनि खेलाडीहरूको कमजोरीको विश्लेषण गर्ने राम्रो अवसर भेट्ने मलाई विश्वास छ।’
नेपाली राष्ट्रिय क्रिकेट टोली हरेक ठूला प्रतियोगिता खेल्नुअगाडि अभ्यासका लागि विदेशमा जाने वा नेपालमै अभ्यास गर्ने गर्दथ्यो। यसपाली अभ्यासका लागि कममात्र समय भएकाले नेपाल क्रिकेट संघले न्युजिल्यान्ड उड्नु अगाडीसम्मको टोलीको तालिका बनाइसकेको छ। सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकप त्यो अभियानको शुरुआत हो।
यूएईमा विश्वकप छनोट खेल्न जानुपूर्व नै प्रशिक्षक दासानायके र नेपाली कप्तान पारस खड्काले यो प्रतियोगिताको आयोजनाबाट खुसी व्यक्त गरेका थिए। कप्तान पारस खड्काले भिडियो सन्देशमा भनेका छन्– ‘प्रतियोगिताजस्तो राम्रो अभ्यास नेटमा हुँदैन। यो खेलमा हुने जितहार न्युजिल्यान्ड जानुपूर्व हाम्रो लागि शिक्षा लिने पहिलो खुड्किलो हुनेछ। घरेलु समर्थकअगाडि खेल्दाको जस्तो राम्रो अभ्यास र गम्भीरता अरु बेला हुनेछैन।
प्रतियोगिताको आयोजनाको जिम्मा लिएको जोरा इन्टरनेसनल प्रालिले पनि प्रतियोगितको तयारी जोडतोडका साथ हुन लागेको जनाएको छ। प्रतियोगिता प्रवद्र्धनका लागि मुख्य प्रायोजक सगरमाथा सिमेन्टले पनि योजनाहरू अगाडि सारिरहेको जनाएको छ। सगरमाथा सिमेन्टद्वारा मुख्य प्रायोजित यस प्रतियोगिता सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकपले नेपाली टोलीलाई उत्साहका साथै हौसला प्रदान गर्नेछ। सगरमाथा सिमेन्ट घोराही सिमेन्ट इन्डष्ट्रि प्रालिको उत्कृष्ट उत्पादन हो।
फेरि नेपाली राष्ट्रिय टोलीको खेल दर्शकहरूले कीर्तिपुरमा प्रत्यक्ष नहेरेको धेरै समय भइसकेको छ। त्यसैेले २० ओभरको विश्वकपमा छनोट भएर फर्केको नेपाली टोलीलाई दर्शकहरूले कीर्तिपुरमा न्यानो स्वागत र समर्थन गर्ने विश्वास पनि गरिएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.