सिंहदरबारभित्रै बैंक, क्लिनिक र किराना

१६ मंसिर, काठमाडौं । सरकारले मुलुको प्रमुख सचिवालय सिंहदरबार परिसरभित्र कर्मचारीको सेवा सुविधाका लागि सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । सहरी विकास मन्त्रालयले माघदेखि सुरु गर्ने सेवाकेन्द्रमा क्लिनिक, बैंक, क्यान्टिन, किराना पसललगायत अति आवश्यक सेवा उपलब्ध गराइनेछ ।
हाल सिंहदरबारमा क्यान्टिनबाहेकका अन्य सुविधा छैनन् । सिंहदरबारभित्र हरेक मन्त्रालयका छेउमा टहरा बनाएर क्यान्टिन सञ्चालन भइरहेका छन् । यस्ता क्यान्टिन अव्यवस्थित भएकाले सबै हटाई एउटै भवनबाट सेवा दिइने भएकोछ । सेवा केन्द्र सुरु भएपछि मन्त्रालयमा चियाबाहेक केही उपलब्ध हुनेछ्रन ।
‘यी सबै सेवा सञ्चालनका लागि सहरी विकास मन्त्रालयको पछाडि छुट्टै भवन बनिसकेको छ,’ मन्त्रालयका प्रवक्ता किशोर थापाले भने, ‘छिट्टै बोलपत्र आह्वान गरेर २ महिनाभित्र पूर्ण सञ्चालनमा ल्याइनेछ ।’
मुलुक चलाउने केन्द्रीय निकाय भए पनि सिंहदरबार सफा र व्यवस्थित नभएको भन्दै मन्त्रालयले यस्तो कदम चालेको कारोबार दैनिकमा खबर छ । तत्काल सुधारका लागि सेवाकेन्द्र खोल्ने र सिंहदरबार पुर्नसंरचना समितिको अध्ययनका आधारमा थप सुधार गर्दै लगिने पनि थापाले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.