सुशील चितवन छाड्ने तयारीमा कोइरालाले छाडेपछि को उम्मेदवार बन्ने चर्चा सुरु

दुइटा निर्वाचन क्षेत्रमा विजयी कांग्रेस सभापति शुशिल कोइरालाले चितवन छोड्ने मनसाय देखाएका छन् । पार्टीभित्र पनि उपनिर्बाचनमा सजिलै जित्ने क्षेत्र छोड्नुपर्ने बहस चलेपछि क्षेत्र नं ४ नै छोड्ने कोइरालाले इच्छा देखाएका हुन् ।
बाँके क्षेत्र नं ३ बाट पनि विजयी भएपछि कोइरालाले छोड्ने निर्बाचन क्षेत्रमा चुनाव लड्न कांग्रेस भित्र जिल्ला तहमा बहस सुरु भएको छ । कोइरालाको रोजाईमा पनि गृह जिल्ला बाँके नै परेकोले चितवनको क्षेत्र छोड्ने संकेत मिलेको कांग्रेस जिल्ला समिति स्रोतले जनाएको छ । तर यस बिषयमा अहिलेसम्म जिल्ला कार्य समिति भित्र औपचारिक छलफल सुरु भएको छैन ।
पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार, दुई/दुई स्थानमा जितेका बरिष्ठ नेता शेरबहादुर देउवा र कोइरालाका एक/एक क्षेत्रमा अब हुने उपनिर्बाचनमा सिट सुरक्षित बनाउन कांग्रेसको पकड क्षेत्रमा छोड्नुपर्ने दवाब पर्न थालेको छ । तर जिल्ला तहमा भने सुशीलले चितवनको क्षेत्र छोड्न नहुने चाहना राखेका छन् । पार्टीले पनि यहाँको क्षेत्र नं ४ कांग्रेस प्रभावितको रुपमा देख्दै आएको छ ।
कोइरालाले बाँकेको तुलनामा चितवनबाट धेरै मतअन्तरले प्रतिस्पर्धीलाई जितेपछि यो क्षेत्रमा फेरि हुने चुनावमा कांग्रेसले आफ्नो सिट सुरक्षित ठानेको छ । यहाँबाट सुशीलले एमाओबादीका चित्रबहादुर श्रेष्ठलाई १० हजार मतले पछि पारेका हुन् भने बाँके ३ मा राप्रपा नेपालका धबलशमशेर जबरालाई करिब २ हजार मतले जितेका थिए ।
चितवनमा कोइरालाले २० हजार ७ सय ६० र श्रेष्ठले १० हजार ७ सय ३९ भोट ल्याएका थिए । बाँकेमा कोइरालाले १० हजार ७ सय ५३ र प्रतिश्पर्धी धबलशमशेरले ८ हजार ८ सय ९ मत ल्याएका हुन् । २०६४ सालको चुनावमा भने बाँकेमा कोइराला तेस्रो स्थानमा झरेका थिए । यहि मतको आधारमा पनि कांग्रेस केन्द्रबाट अर्को उम्मेदवारलाई चितवनबाट लडाउने सोच बनाएको स्रोतले जनायो ।
'हामीले सकभर सभापतिज्यूलाई चितवन नछोड्न आग्रह गरेका छौं,' राजधानीमा रहेका जिल्ला सभापति टेकप्रसाद गूरुङले टेलिफोनमा कान्तिपुरसँग भने, ' तर, पार्टीको केन्द्र तहमा चितवन छोड्नैपर्ने आवाज उठेको छ ।' पार्टीभित्रको बहसलाई बुझेर पनि कोइरालाले पनि चितवन छोड्न सक्ने मनसाय देखाएको उनले जानकारी दिए ।
उम्मेदवार मनोनयनका बेला दुईटा क्षेत्रबाट चुनाव लड्ने सभापति कोइरालाले इच्छा देखाएपछि पार्टीले सुरक्षित क्षेत्रको रुपमा निर्णय गरेर यहाँको क्षेत्र नं ४ मा पठाएको थियो । त्यहिबेला यो क्षेत्रमा उम्मेदवार धेरै आकांक्षी देखिएपछि कोइराला उठ्ने भएकोले विवाद साम्य भएको थियो । तर, जिल्लाका कार्यकर्ताले भने कोइरालाले चितवन छोड्न नहुने दबाब दिन थालेका छन् । यहि क्षेत्रसँगै जोडिएको नवलपरासीको क्षेत्र नं १ मा बीपी पुत्र शशांक कोइरालाले लगातार दुई पटक चुनाव जितेपछि सभापति कोइरालाले पनि चितवन नछोडे कांग्रेस भित्रको कोइराला प्रभाव यो क्षेत्रमा पार्न सकिने बिश्वास कांग्रेस कार्यकर्ताले अपेक्षा राखेका छन् ।
' हामीले यहाँको दुबै जिल्लामा हुने प्रभावलाई स्थापित गर्न सभापतिज्यूलाई चितवन नछोड्न अनुरोध गर्नेछौं,' जिल्ला सभापति गूरुङले भने, 'बिराटनगरपछिको कांग्रेसको प्रभाव क्षेत्रको केन्द्र नारायणगढ बनाउने हाम्रो सोच छ ।' कोइरालाले छोड्दा फेरि हुने उपनिर्वाचनमा कांग्रेसको उच्च गरिमा घट्न सक्ने उनले तर्क गरे ।
सभापति कोइरालाले चितवन छोड्ने हल्लाले जिल्लामा कांग्रेसभित्र को उम्मेदवार हुने चर्चापरिचर्चा सुरु हुन थालेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.