संस्मरण- भावुक बनाउने खोटाङका दुई प्रसङ्ग
झन्नै तीस वर्ष पूरा भएछ मैले खोटाङ छाडेको । त्यहाँका उत्साहपूर्ण आँखाहरुले गहभरी आँसु पारी बिदा दिएको, त्यहाँका परिश्रमी हातहरुले जीवनमा कर्मठताको ज्ञान दिएको, रावा, सावा र साप्सु खोलाहरुले माया गरेका कुराहरु हिजैजस्तो लाग्दछ । तर दिनहरु यसरी बितिसकेछन् र आफू बुढो भएको थाहा हुन्न रहेछ ।
खोटाङ अझ दिक्तेल सम्झनासाथ त्यहाँका धेरै प्रसङ्गहरु, परिवेशहरु र सम्झनाहरु आउँछन् । एक प्रशासकको हैसियतले तीनै वर्ष देशका लागि महत्वपूर्ण र उल्लेखनीय कार्यहरु गरी आएको (जनमतसंग्रह २०३६, रा.पं. सदस्यको निर्वाचन २०३७ र जिल्ला तथा गापं. सदस्यहरुको निर्वाचन २०३८) सम्झदा गर्वको अनुभव हुन्छ । अहिलेको पुस्ताका लागि अस्वाभाविकजस्तो लागे पनि कर्मचारी भएर तात्कालीन सरकारको नुन खाएको नाताले दिएको जिम्मेवारी पूरा गर्नु मेरो कर्तव्य थियो ।
प्रशासक भएका बेला त्यस जिल्लाका केही निरीह आँखाहरुलाई सहयोग पुर्याई तिनको जीवनलाई उज्यालो बनाएका केही संस्मरणहरु मसँग सजीव छन् । तिनलाई उल्लेख गर्न चाहन्छु ।
एकपटक जिल्लाको उत्तरी क्षेत्रको भ्रमणमा थिएँ । ऐंसेलुखर्कबाट उत्तरतिर बाकाचोल गइरहेको थिएँ । त्यहाँबाट देखिने हिमालको दृष्य सार्है मनमोहक र रमाइलो थियो । हिमाल एकदम प्रष्ट देखिन्थ्यो र त्यसले आमन्त्रण गरिरहेको अनुभव हुन्थ्यो । तर एकैछिनमा दृश्य बदलियो र घनघोरसँग पानी पर्न लाग्यो । लेकको ठाउँ हुनाले जाडो पनि भयो । बाटो धेरै कठिनसँग काटिरहेको थिएँ । अचानक बाटोमा यौटी ४५-५० उमेरकी स्वास्नीमान्छे त्यस्तो मुसलधारे पानीमा बाटोमा बसी रोइरहेकी भेट्टाएँ । मैले नसोधिरहन सकिन- “तिमीको हौ र यो पानीमा बसेर किन रोइरहेकी छ्यौ ?”
“म सि.डि.ओ. साहेबलाई भेट्न बसेकी ।” उसको बोली प्रष्ट थिएन ।
“म नै सि.डि.ओ. हुँ र तिमीलाई के भयो ?” मैले भने ।
पानी दर्किरहेको थियो । जङ्गल धेरै बाक्लो थियो र पानीको आवाजले जङ्गलका पातहरु कराउँदा यौटा भयावह वातावरण उपस्थित थियो । उसले धेरै लामो बेलिबिस्तार लगाई मैले केही बुझेँ, केही बुझिनँ । तर यत्तिचाहिँ बुझेँ कि ऊ आफ्ना ४-५ जना छोराछोरीहरुलाई लिएर बसाईँ जान लागेकी छ, यस ठाउँलाई छाडेर । उसको लोग्नेले आजभन्दा २०-२५ वर्षअघि लिएको ऋण तिर्न नसकी लोग्ने मर्यो । त्यही रुपैयाँबापत घर, गाईवस्तु जग्गापात सबै साहूले (एकजना लामा वा तामाङ्ग के हो ?) लिन लाग्यो । उसको सहारा केही छैन र अब कहाँ जाने हो, उसलाई केही पनि थाहा छैन । ‘भोलि बिहान पञ्चायतमा आउनू’ भनी म त्यहाँबाट हिडेँ ।
त्यो रातभरी मैले उसैलाई सम्झिरहेँ । ऊ उमेरभन्दा बूढी देखिएकी थिई र उसका आँखाहरुमा भयानक दुःख र पीडा थियो । एकजना प्रशासकको कर्तव्य हो, उसलाई यी सबबाट मुक्ति दिने । मलाई लाग्यो- शायद यही स्वास्नीमान्छेको उद्धारका लागि म यहाँ आएको छु । भगवानले मलाई यहाँ ल्याएका हुन् । मैले भगवानलाई सम्झिरहेँ-सम्झिरहेँ ।
बिहान भयो आकाश राम्रोसँग खुल्यो । म पञ्चायत पुगेँ । जिल्ला पञ्चायत सदस्य पूर्णबहादुर श्रेष्ठ मसँग हुनुहुन्थ्यो । सो आइमाई आइसकेकी थिई र मलाई देख्नासाथ हात जोडी । मैले उसको कुरा बुझिसकेको थिएँ ।
“तिम्रो घरबार लिने साहू कहाँ छ ?”
“यहीँ गाउँको हजुर !”
मैले साहूलाई लिन पठाएँ । यौटा पुड्को, मोटोमोटो, बूढो तामाङ्ग आएर हात जाडी भन्न लाग्यो- “२०-२५ वर्षदेखि यस आइमाईले मेरो ऋण तिरिन हजूर । यसको लोग्नेले ऋण लिएको थियो- गार्हो-सार्हो खाँचोमा मैले गर्जो टारेको थिएँ । अब म के गरुँ हजुर !”
“तिम्रो तमसुक खै ?” मैले तमसुक लिएँ र हेरेँ । २०१५-१६ सालतिरको तमसुक रहेछ ४-५ सय रुपैयाँको होला । भूमिसुधार लागू भएपछि त्यस तमसुकको ऋण निश्चित पनि गरेको रहेनछ । त्यस आइमाईका चार छोरा र एक छोरी पनि त्यहाँ आइपुगिसकेका थिए र मलाई क्वारक्वारर्ती हेर्न लागेका थिए । मैले सबै जनसमूहका अगाडि त्यस तमसुकलाई धरधरी च्यातिदिएँ र भने-”यसको ऋण सिद्धियो । तिमीले आफ्नो घर-बार, जग्गा केही छाड्न पर्दैन । निश्फ्रिक्रीसँग बस्नु र बसाई जाने जरुरत छैन । यसले केही गरे मलाई खबर गर्नु ।”
“म अन्यायमा परेँ हजूर ! महाअन्यायमा ।” तामाङ्ग करायो ।
“मैले ठीक गरेँ । तिमीले यसको केही लिन पाउन्नै । यसलाई दुःख दियौं भने म तिमीलाई थुनिदिन्छु ।” म दर्हो भएँ । अनि त्यस स्वास्नीमान्छेलाई त्यसका केटाकेटीहरुलाई हेरेँ । तिनका आँखामा, अनुहारमा खुशीका जुन लहरहरु, जुन उद्वेगहरु मैले पाएँ । (म लेख्न सक्तिन, मसँग शब्दहरु छैनन्, म क्षमा पाऊँ !) भगवानले तिनको रक्षा गर्न मलाई पठाए- भगवानलाई धन्यवाद । यौटा नेपाली परिवारलाई बरबाद हुनबाट मैले जोगाएँ ।
पछि सुनेँ- तामाङ्गले मेरो नाममा धेरै माथिमाथिसम्म उजुरी गर्यो रे, राजदरबारसम्म पनि । ऊ सधैँ मलाई गाली गरेर बस्छ, श्राप दिएर हिँड्छ…. । आदि इत्यादि । तर मैले जो गरेँ- ठीक गरेँ- मलाई यस्तै केही अहिले पनि लागिरहन्छ ।
फेरि अर्को प्रसङ्ग छ । म पश्चिम-दक्षिण क्षेत्र हलेसीको भ्रमणमा थिएँ ।
एउटा गाउँमा पुगेँ- दूधकोशी छेउको । त्यहाँ पुग्नासाथ एकहूल मान्छेहरुले मलाई घेरे । ती सबको यौटा आवाज थियो- “गाउँको जङ्गल सखाप भयो, बोट विरुवाको नाम निशान देख्न पाइएन । दाउरा र घाँसपातलाई त जङ्गल नहुने भयो, भयो । लास समेत जलाउन पाइएन ।”
“जङ्गल कसरी कसले नास पर्यो ?” मैले त्यस हूललाई सोधेँ ।
“यही बस्नेतले हजूर ! जङ्गल मेरो हो भन्छ र दिनहुँ एक-दुई रुख ढलाउँछ । अब त बुट्यान मात्र बाँकी छन् ।”
मैले त्यस बस्नेतलाई बोलाउन पठाएँ । कुरा बिल्कुलै साँचो थियो । ऊ केही बोल्न सकेन । मैले उसलाई त्यही पक्राउ गरी सदरमुकाम लिएर हिडेँ । उसमाथि वन मुद्दामा कारवाही भयो । उसलाई केही दिन जेल राखियो । पछि धरौटीमा छाडियो ।
पछि दुईटा कुरा एकैपटक मैले सुने- बस्नेत बसाई सरेको र त्यो ठाउँमा अब राम्रो जङ्गल भएको ।
( कृष्ण अविरलद्वारा सम्पादित प्रधानको प्रकाशोन्मूख आत्मसंस्मरण ‘जिन्दगीका मोडहरु’बाट )
0 comments
Write Down Your Responses