कमल थापा भन्छन्- उपराष्ट्रपति वा उपसभामुख चाहियो राजतन्त्र विघटन भइसक्यो, नयाँ शिराबाट अघि बढ्छौं
१४ मंसिर, काठमाडौं । संविधान सभामा चौथो शक्ति बनेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो दललाई राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख गरी चारवटा पदहरुमध्ये चौथो दलको हैसियतमा कुनै एउटा पद चाहिने बताउनुभयो । प्रधानमन्त्री पदमा भने राप्रपा नेपालको कुनै दाबी नरहेको र सरकारमा समेत नगई प्रतिपक्षमै बस्ने थापाले बताउनुभयो ।

अध्यक्ष थापाले मनोनित हुने २६ सभासदमध्ये चौथो दलको भागमा पर्ने संख्या नदिए प्रतिरोध गर्ने चेतावनीसमेत दिनुभयो । ‘हाम्रो भागमा कति पर्छ थाहा भएन, तर भाग हामीलाई चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘प्रतिशतका आधारमा हामीलाई भाग लगाइएन भने जुन ढंगबाट प्रतिरोध गर्नुपर्छ, गर्छौ ।’
थापाले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमध्ये एउटा पद राप्रपा नेपाललाई चाहिने बताए पनि कुन पद भन्ने खुलाउनुभएन । तर, विगत संविधानसभामा उपराष्ट्रपति तत्कालीन चौथो दल मधेसी जनअधिकार फोरमको कोटामा परेको हुनाले राप्रपा नेपालले ‘ चौथो दलको हैसियतअनुसारको पद भन्दै उपराष्ट्रपति ताकेको संकेत देखिएको छ । २६ जना मनोनित सभासदलाई ठूला दलबाट भाग लगाउने हो भने राप्रपा नेपालका भागमा १ सीटसम्म पर्न सक्ने देखिन्छ । तथापि दलहरुले जनआन्दोलनका सहभागी दलहरुवीच यी सीटहरु भाग लगाउँदै आएकाले राप्रपा नेपालले पाउने सम्भावना भने कमै देखिन्छ ।
राजतन्त्रको घोषणा नउल्टाउने
पहिलो संविधानसभाले राजतन्त्रको अन्त्य गरेकोमा असहमत जनाउँदै आएको राप्रपा नेपालले राजतन्त्रको सवालमा आफूलाई लचिलो ढंगले प्रस्तुत गर्ने संकेत दिएको छ ।
पहिलो संविधानसभाले गरेको राजतन्त्रको घोषणालाई उल्टाउनुहन्छ कि हुन्न भन्ने अनलाइनखबरको प्रश्नमा अध्यक्ष थापाले भन्नुभयो- ‘त्यसलाई अब विवादमा ल्याइरहनुपर्ने जरुरी किन छैन भने त्यो विघटन भएर स्वतःरुपमा गइसकेको छ । त्यसको अब अस्तित्वै छैन । हामी त्यहाँ राजतन्त्रको प्रश्न उठाउँदैनौं । अब नयाँ शिराबाट अगाडि बढ्नुपर्ने छ, नयाँ ढंगबाट अघि बढिसकेपछि हामी पुरानो कुरा उठाउँदैनौं ।’
सरकारमा नगई प्रतिपक्षमै बस्ने
संविधानसभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रतिपक्षमा बस्ने भएको छ । ‘हामी वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित भएका छौं’ थापाले भन्नुभयो- ‘जनताले हामीलाई प्रतिपक्षमा बस्ने जनादेश दिएका छन् । हामी सत्ताको फोहोरी खेलमा लाग्दैनौं ।’
अध्यक्ष थापाले नयाँ जनादेशअनुसार राष्ट्रपति, उपराष्ट्रपतिसहितका संवैधानिक निकायको नयाँ निर्वाचन गर्न समेत माग गर्नु भएको छ । प्रत्यक्षतर्फ आफ्नो पार्टीका उम्मेदवाहरु हारेको तर एजेण्डाले जितेको भन्दै उहाँले संविधानसभामा शसत्त र रचनात्मक भूमिका खेल्ने बताउनुभयो ।
अघिल्लो संविधानसभाले गरेका निर्णयहरु स्वीकार्य नहुने भन्दै उहाँले भन्नुभयो-’मृत्युवरण गरेको संविधानसभाको विरासता बोक्न सक्दैन, पहिलो दिनबाटै हरेक विषयमा नयाँ शिराबाट बहस प्रारम्भ हुन्छ ।’ जनताले ०६२/०६३ आन्दोलनको बैचारिक अतिवाद र शक्तिलाई पनि कमजोर पारेको र आफूहरुलाई पनि बहुमत नदिएको भन्दै उहाँले मध्यमार्गी वैचारिक मागचित्र अनुसार अघि बढ्नु पर्ने बताउनुभयो ।
संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्रको एजेण्डामा पनि सम्झौता हुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो-अहिले हामी हाम्रो एजेण्डामा प्रतिवद्ध छौं । तर, संविधान निर्माणमा सहमति र सम्झौताको पक्षमा छौं ।’
चुनावमा धाँधली भयो, संसदीय समितिले छानविन गरोस्
राप्रपा नेपालले संविधानसभा निर्वाचनमा गम्भीर विकृति र विसंगती देखिएको भन्दै छानविनको माग गरेको छ । पैसाले मत किनेको देखि मत पेटिका संकलन, व्यवस्थापन र गणनामा लापर्वाही भएको र यसले गम्भीर आशंका उब्जाएको भन्दै अध्यक्ष थापाले आगामी दिनमा यस्तो हुन नदिन संसदबाट सर्वदलीय समिति गठन गर्न समेत गर्नु भएको छ । प्रत्यक्षमा भन्दा समानुपातितकमा ९ लाख ५७ हजार मत बढी देखिएको भन्दै उहाँले प्रष्ट पार्न निर्वाचन आयोगसँग माग गर्नुभयो ।
थापासँगको विस्तृत अन्तरवार्ता पढ्नोस्
0 comments
Write Down Your Responses