हस्तकला निर्यात प्रोत्साहन १० प्रतिशत पुर्‍याउन माग (फोटो फिचरसहित)

काठमाडौं । नेपाली हस्तकलाको उत्पादन तथा निर्यात प्रवर्द्धनका लागि सरकारले सहुलियत ब्याजदरमा ऋण र नगद सहुलियतको व्यवस्था गर्नुपर्ने व्यवसायीहरुले माग गरेका छन् । बुधबार राजधानीमा आयोजित ११औं हस्तकला मेलाको समुद्घाटन कार्यक्रममा बोल्दै उनीहरुले हस्तकलाको उत्पादन तथा निर्यात प्रवर्द्धनका लागि ४ प्रतिशत ब्याजदरमा सहुलियत ऋण र निर्यात रकमको १० प्रतिशत प्रोत्साहनको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
Hastakala-7
सहुलियत ऋण र नगद प्रोत्साहनले व्यवसायीहरुलाई उत्पादन बढाउन र निर्यातका लागि बजार खोज्न उत्साहित बनाउने नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्यले बताउनुभयो । छिमेकी मुलुकहरुले हस्तकलाको निर्यात प्रवर्द्धनका लागि १५/१६ प्रतिशतसम्म नगद प्रोत्साहन दिने गरेको उल्लेख गर्दै उहाँले अहिले नेपाल सरकारले व्यवसायीहरुलाई उपलब्ध गराएको नगद प्रोत्साहन अत्यन्त कम भएको गुनासो गर्नुभयो ।
सरकारले प्रोत्साहनका कार्यक्रमहरु ल्याएमा हस्तकलाको निर्यात ६ अर्ब रुपैयाँसम्म पुर्‍याउन सकिने अध्यक्ष शाक्यले दाबि गर्नुभयो । गत आर्थिक वर्षमा नेपालबाट करिव ४ अर्ब रुपैयाँ बराबरको हस्तकला निर्यात भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कारले सामुहिक व्यापार चिन्ह -कलेक्टिभ ट्रेडमार्क)मा जानुपर्नेमा जोड दिनुभयो । मुलुकभित्र पूर्वाधारको विकास नहुन्जेल निकासी बढाउन नसकिने बताउँदै उहाँले त्यसतर्फ ध्यान पुर्‍याउन सरकारलाई आग्रह गर्नुभयो ।
Hastakala
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्र कुमार शाक्यले हस्तकलाको निर्यात प्रवर्द्धनका लागि व्यवसायीहरुसँग सहकार्य गरेर अगाडी बढ्ने आश्वासन दिनुभयो । उद्योग सचिव कृष्ण ज्ञवालीले हस्तकला ग्राम, महिला शिल्प ग्राम र अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनी केन्द्र निर्माणका लागि सरकार लागिपरेको बताउनुभयो । त्यस्तै, वाणिज्य तथा आपूर्ति सचिव माधव प्रसाद रेग्मीले हस्तकलाको निर्यात प्रवर्द्धनका लागि प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्यातयोग्य वस्तुलाई उपलब्ध गराउँदै आएको नगद प्रोत्साहन आगामी दिनमा बढाउँदै लैजाने आश्वासन दिनुभयो ।
मेलामा २ सय स्वदेशी विदेशी हस्तकलाका स्टल
बुधबारदेखि शुरु भएको मेलामा १२ वटा प्याभिलियनसहित २ सयवटा स्टलहरु रहेका छन् । मेला संयोजक धर्मराज शाक्यका अनुसार मेलामा पाकिस्तान, बंगलादेश, ओमान लगायतका देशहरुको सहभागिता रहेको छ । नेपालका विभिन्न २० जिल्लाका कलाहरुको प्रर्दशन गरिएको मेलाको उद्देश्य उत्पादन तथा निर्यात प्रवर्द्धन गर्नु रहेको छ । नेपाललाई हस्तकलाको सार्कस्तरिय बिजनेश हब बनाउने लक्ष्य रहेको व्यवसायीहरुले बताएका छन् ।
गत वर्ष ७ करोड रुपैयाँ बराबरको कारोबार भएको र ३ लाख सर्वसाधारणले अवलोकन गरेको आयोजकले बतायो । यस वर्ष ३ लाख दर्शक मेलामा भित्राउने र १० करोडको कारोबार गर्ने लक्ष्य आयोजकको रहेको छ । सोही अवसरमा ५ करोडभन्दा बढीको निर्यात गर्ने निर्यातकर्ता, उत्कृष्ट कलाकार र नवौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनीका बिजेता कलाकारहरुलाई सम्मान गरिएको थियो । मेला ५ दिनसम्म चल्ने बताइएको छ ।
Hastakala-2
Hastakala-3
Hastakala-4
Hastakala-5
Hastakala-6

0 comments

Write Down Your Responses

Powered by Blogger.