एक सय दुईको धरौटी जफत

बाँके /बाँकेको चारमध्ये तीन वटा निर्वाचन क्षेत्रमा २२ वर्षपछि एमालेले जित्दा नेपालगञ्ज बजार समेटिएको क्षेत्र नं. ३ का उम्मेदवारको जमानत जफत भयो । यो क्षेत्रकी उम्मेदवार विजया धितालले २ हजार ४ सय ९७ मत ल्याउनु भयो । क्षेत्र नं. ३ बाट एमालेलाई समानुपातिकमा तीन हजार ५ सय २ मत प्राप्त भयो । नौ सय बढी क्रियाशील सदस्य रहेको यहाँ नेताहरुले संगठन पनि बलियो रहेको दावी गर्दै आएका थिए । तर, निर्वाचनको परिणाम लज्जास्पद आयो । समानुपातिकमा झरेको मतलाई एमालेका केही नेताले यहाँको वास्तविक मत मानेका छन् । यसो हो भने समानुपातिकमा आएको मत किन प्रत्यक्षमा गएन ?
एमालेका प्रतिबद्ध नेता तथा कार्यकर्ताले किन आफ्नै उम्मेदवारलाई छोडेर अर्कालाई मत दिए ? अहिले सोधीखोजीको विषय बनेको छ । क्षेत्र, जिल्ला र अञ्चल हुँदै प्रत्यक्षका लागि छनौटमा परेका पदम धितालको नाम अन्त्यमा केन्द्रले हटाएर विजयालाई टिकट दिंदा नै कांग्रेसले एमालेसँग साँठगाँठ रहेको हल्ला फिजाइसकेका थिए । कांग्रेसका सभापति सुशील कोइरालालाई जिताउन एमालेले ‘कमजोर’ उम्मेदवार दिएको चर्चा चलाइएपछि एमालेलाई विज्ञप्ती नै निकालेर त्यसको खण्डन गर्नु परेको थियो ।
चुनावको नतिजाले कांग्रेसको तर्कमा केही न केही वास्तविकता रहेको देखायो पनि । एमालेका एक हजार नेता तथा कार्यकर्तामध्ये धेरैले सुशील र केहीले राप्रपा नेपालका उम्मेदवार डा. धवल शमशेर राणालाई मत दिएको प्रष्ट भएको स्रोतले बताएको छ । क्षेत्र नं. ३ को लज्जास्पद हारका कारण बाँकेको अन्य सबै क्षेत्र जित्दा पनि एमालेले समानुपातिकमा कांग्रेसलाई उछिन्न सकेन । क्षेत्र नं. ३ मा झण्डै आठ हजार मतको फरक परेपछि एमाले धेरै क्षेत्र जितेर पनि खुम्चियो ।
२०५४ सालको स्थानीय निर्वाचनमा नेपालगञ्ज नगरपालिकाका १७ मध्ये ९ वटा वडा जितेको एमालेले नगर प्रमुख र उपप्रमुख पनि जितेको थियो । जिल्लाका ४६ मध्ये दुई दर्जन बढी गाविसमा जितेको थियो । ‘संगठन राम्रो हुँदाहुँदै र २२ वर्षपछि पहिलो पटक अन्य क्षेत्र जित्दा ३ नम्बरमा जमानत जफत हुनुले गम्भीर बनाएको’ एक नेताले बताउनुभयो ।
बाँकेमा जमानत जफत हुनेमा एमाले, एमाओवादीसहितका एक सय २ जना छन् । सदर मतको १० प्रतिशत नल्याउने उम्मेदवारको धरौटी वापत राखेको तीन हजार रुपैया जफत हुने व्यवस्था रहेको छ । बाँकेमा ३८ दलका एक सय १५ जनाले चुनाव लडेकोमा १३ जनाको मात्रै धरौटी फिर्ता भएको छ ।
धरौटी जफत हुनेमा एनेकपा माओवादीका क्षेत्र नं. २ का उम्मेदवार परमानन्द कुर्मी, २०६४ सालमा कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गरेर चर्चा कमाएका पूर्वमन्त्री सर्वदेवप्रसाद ओझा, क्षेत्र नं. १ का राप्रपाका उम्मेदवार पूर्वमन्त्री प्रेम भण्डारी र क्षेत्र नं. ४ का राप्रपाका उम्मेदवार पूर्वमन्त्री फत्तेसिंह थारुको पनि जमानत जफत भएको छ ।
बाँके क्षेत्र नं. १ बाट २२ जनाले प्रतिस्पर्धा गरेकोमा तीन जनाले मात्रै जमानत जोगाएका छन् । क्षेत्र नं. २ मा २९ मध्ये २६ जनाको जमानत जफत भएको छ । क्षेत्र नं. ३ मा ३६ जनामध्ये ३२ र क्षेत्र नं. ४ मा २८ मध्ये २५ जनाको धरौटी गएको छ ।
बाँकेको यसपाली एक लाख ७७ हजार ८ सय ७ मत खसेको  थियो । त्यसमा ६ हजार ४ सय ७७ बदर भयो । क्षेत्र नं. १ मा ४९ हजार ८ सय ४५, क्षेत्र नं. २ मा ४० हजार ४ सय ७, क्षेत्र नं. ३ मा ४२ हजार ४७ र क्षेत्र नं. ४ मा ४५ हजार ५ सय ८ मत खसेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.