मधेसमा विजय गच्छदार पहिलो, उपेन्द्र यादव तेस्रो मधेसी दलले ३३ सीट गुमाए, ५० सीट पाए
१३ मंसिर, काठमाडौं । पहिलो संविधानसभा निर्वाचनमा ८३ सीटको प्रतिनिधित्व गरेर महत्वपूर्ण भूमिकामा रहेका मधेसवादी दलहरु यसपटक ३३ सीट गुमाएर ५० सीटमा खुम्चिएका छन् ।
पहिलो संविधानसभा चुनावमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी मधेसी जनअधिकार फोरम नेपालले ५२ सीट जितेको थियो भने तमलोपाले २०, सद्भावना पार्टीले ९ र सद्भावना आनन्दीदेवीले २ गरी कुल ८३ सीट जितेको थियो । पछि पार्टी विभाजन भए पनि मधेसवादी दलहरुले मोर्चा बनाएर एमाओवादीसँग सहकार्य गरेका थिए ।
अघिल्लो संविधानसभामा ४ वटा रहेका मधेसवादी दलहरु यसपालि ९ वटा बनेर संविधानसभामा उपस्थित हुने भएका छन् । तर, दलको संख्या दोब्बर भए पनि सीटसंख्या भने पहिलेको भन्दा झण्डै आधा घटेको छ । दोस्रो संविधानसभामा फोरमका ३ वटा समूहले ३५ सीटको नेतृत्व गरेका छन् भने तमलोपाले ११ सीट जितेको छ । राजेन्द्र महतोको सद्भावना पार्टी ३ सीट गुमाएर ६ सीटमा खुम्चिएको छ ।
दोस्रो संविधानसभामा प्रत्यक्ष र समानुपातिक गरी फोरम लोकतान्त्रिकले १४ सीट जितेर आफूलाई सबैभन्दा ठूलो मधेसी दल बनाएको छ । ११ सीट जितेर तमलोपा दोस्रो मधेसी दल बनेको छ भने उपेन्द्र यादवको फोरम नेपाल १० सीट जितेर मधेसको तेस्रो दल बनेको छ ।
यसैगरी सद्भावनाले ६ सीट , तराई मेधस सद्भावनाले ३ र राष्ट्रिय मधेस समाजवादीले ३ जितेका छन् भने फोर गणतान्त्रिक, मधेस समता पार्टी र संघीय सद्भावनाले १/१ सीट समानुपातिकतर्फबाट हात पारेका छन् ।
पार्टी विभाजन र सत्तामा रहँदाको बद्नामीको शिकार चभएर पराजय भए पनि मधेसीले एकमुष्ट ५० सीटको प्रतिनिधित्व गर्नुल उनीहरुको उपस्थितिलाई साहै्र दयनीय मान्न सकिँदैन । तर, च्याउजस्तै फुटेका मधेसवादी दलहरु एमापसमा मिल्ने र मोर्चा बनाउने सम्भावना भने निकै गाह्रो छ । उपेन्द्र यादवको दल एमाओवादीसँग मोर्चावद्ध भएको छ भने यादव संलग्न भएको ठाउँमा विजय गच्छदार सहभागी हुने सम्भावना निकै कम छ । यो अवस्थामा यादव एमाओवादीसँग धु्रवीकृत भएको अवस्थामा १४ सीटका कमाण्डर गच्छदार कांग्रेस एमालेसँगै मिलेर सरकारमा नजालान् भन्न सकिँदैन ।
यद्यपि नयाँ संविधानसभा निर्माण प्रक्रियामा ५० सीटको प्रतिनिधित्व गर्ने मधेसी दलको गणितीय भूमिका पनि बलियै हुने देखिएको छ । कांग्रेस र एमालेले दुइ तिहाइ बहुमत नपाएका कारण मधेसवादी दलहरुको महत्व फेरि पनि बढेको छ ।
0 comments
Write Down Your Responses