राप्रपा नेपालका महामन्त्रीसहित ३१ जनाको धरौटी जफत

१२ मंसिर, स्याङ्जा । दोस्रो संविधानसभा निर्वाचनमा स्याङ्जाका ३१ जना उम्मेदवारको धरौटी जफत भएको छ । कुल खसेको सदर मतमा ल्याउनुपर्ने १० प्रतिशत मत नल्याउँदा एक स्वतन्त्रसहित १६ दलका ३१ उम्मेदवारको जमानत जफत भएको हो ।
जफत हुने उम्मेदवारमा एकीकृत नेकपा माओवादी क्षेत्र नं २ की उम्मेदवार कल्पना अर्यालले दुई हजार ८ सय ९ मत ल्याए पनि सदर मतको १० प्रतिशत नपुग्दा धरौटी जफत भएको छ । त्यसैगरी राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङसहित उम्मेदवारहरू दिलीप श्रेष्ठ र अग्निधर ढकाल, राप्रपाका बुद्धसिंह थापा, द्रोणबहादुर गुरुङ र वेदप्रसाद भट्टराई, राष्ट्रिय जनमोर्चाका हिरामती शाही, राजेन्द्रप्रसाद गैरे र लालबहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टीका दीपेन्द्रबहादुर थापा, लोकबहादुर थापा र विजय सिंह थापाको पनि धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
स्याङ्जा क्षेत्र नं १ बाट राप्रपा नेपालका महामन्त्री गुरुङले  कुल एक हजार ८ सय ८१ मत मात्र ल्याउँदा धरौटी जफत भएको हो । जमानत जफत हुनेमा सङ्घीय समाजवादी पार्टीका हेमन्त थापा मगर, डिलबहादुर थापा र विनोद खवास तथा नेपाल परिवार दलका बन्धुराज रेग्मी रहेका छन् ।
त्यसैगरी डालबहादुर खड्का र सुन्दर बस्याल, अखण्ड नेपाल पार्टीका गोपालबहादुर क्षत्री र भक्तबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका हिरामणि विक र तेजबहादुर मल्ल, नेकपा संयुक्तका ठाकुरप्रसाद शर्मा र सद्भावना पार्टीकी खैरुन निसा धरौटी जफत हुनेमा रहेका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै अन्य जमानत जफत हुने उम्मेदवारहरूमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका कुलबहादुर खत्री, सहकारी पार्टीका आसु विक, नेकपा (माले)का शिवराज रिजाल, देशभक्त समाज पार्टीका लीलाराज गुरुङ, जन कम्युनिटी सहकारी पार्टीका हरिप्रसाद अधिकारी र स्वतन्त्र उम्मेदवार गणेशप्रसाद ढकाल रहेका छन् ।
तीन निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ३८ दल र एक स्वतन्त्र गरी कुल ३९ जना चुनावी प्रतिस्पर्धामा रहे पनि काँग्रेस, एमालेका ६ जना तथा एकीकृत माओवादीका क्षेत्र नं १ र ३ का  उम्मेदवारले आफ्नो धरौटी जोगाउन सफल भएको निर्वाचन कार्यालयले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.