मन्त्रीले बारीको पाटोलाई एयरपोर्ट बनाएः विमान सञ्चालक युरोपेली कालोसूचीमा पर्नुमा सरकार दोषी

युरोपेली यूनियनले नेपालको वायुसेवा सुरक्षित नभएको भन्दै कालोसूचीमा राखेपछि नेपालका वायुसेवा सञ्चालक आक्रोशित भएका छन् । नेपालको वायु सेवाले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुरक्षा प्रणाली अपनाइरहेको दाबी गर्दै एयरलायन्स अपरेटर्स एसोसियसन अफ नेपालका अध्यक्ष रामेश्वर थापाले सरकार निरीह भएका कारण युरोपेली मुलुकबाट हेपिनुपरेको गुनासो गर्नुभयो । तर, नेताहरुका कारण नेपालले यस्तो समस्या भोग्नुपरेको थापाको आरोप छ । ‘हाम्रो देशमा ३-४ महिने मन्त्री आउँछन्, ठूला–ठूला सपना देखाएका हुन्छन्, कहीँ बारीको ठूलो पाटो देख्न हुन्न, एयरपोर्ट बनाउँछन्’ विमान चालकसमेत रहनुभएका थापाले अनलाइनखबरसँग भन्नुभयो–‘हाम्रो सरकार निरीह भएका कारण यो समस्या आएको हो ।’
नेपालले चीनबाट जहाज ल्याउन लागेको हुँदा युरोपियन र चाइनिज सरकारको व्यापारिक प्रतिपस्र्धाका कारण नेपालको वायुसेवालाई कालोसूचीमा राखिएको उहाँको आरोप छ । कालोसूची प्रकरणबारे थापाको विचार उहाँकै शब्दमाः
RameshworThapaहामीले बाजागाजासहित अन्तर्राष्ट्रिय उड्डयन दिवस मनाइरहे पनि यूरोपले आफ्नो चीनसँगको व्यापारिक स्वार्थलाई लिएर नेपालको वायुसेवामा प्रतिबन्ध लगाएको छ । हामीले वायुसेवामा अन्तर्राष्ट्रिय मापदण्ड पालना गरिरहेका बेला युरोपियन युनियनले कालोसूचीमा राख्नु अत्यन्त दुःखदायी कुरा हो । चाइनिज सरकार र युरोपियन सरकारको व्यापारिक प्रतिस्पर्धाका कारण हामी आज प्रतिबन्धमा पर्न बाध्य भयौं ।
चाइनिज जहाज एमए–६० लाई हामीले टाइप एप्रुभल सर्टिफिकेट दिएर पनि यूरोपियनहरुले त्यसो गरेका हुन सक्छन् । अन्तर्राष्ट्रिय सिभिल एभिएसन अर्गनाइजेसन (अ–इकाओ)ले हाम्रो सेफ्टी मापदण्ड मनिटर गरिरहेको छ ।
एयरक्राफ्ट अपरेटरहरुले पनि सेफ्टीमा कुनै सम्झौता गरेका छैनन् । विश्वको सुन्दर पहाडी हिमश्रृङ्खला भएका कारण उडानका लागि समस्या रहेका छन् । हामीले ती समस्याहरुलाई हामीले चिर्दै अगाडि बढिरहेका छौं । हाम्रो सरकार निरीह भएका कारण यो समस्या आएको हो । हाम्रो देशमा ३÷४ महिने मन्त्री आउँछन्, ठूला–ठूला सपना देखाएका हुन्छन्, कहीँ बारीको ठूलो पाटो देख्न हुन्न, एयरपोर्ट बनाउँछन् ।
नेपाल आइकाओको सदस्य भएका कारण उसले तोकेका मापदण्ड नेपालले पालना गर्दै आइरहेको छ । हामीले संसारका जुनसुकै देशसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा छौं । भौगोलिकरुपमा अनुकुल भएका देशहरुमा त ठूला–ठूला हवाई दुर्घटना भइरहेका छन् भने हाम्रो देशमा हुने एकाध दुई दुर्घटना सामन्य मान्छि । हाम्रो देश हवाई उड्डयनका लागि चुनौतीपूर्ण रहेको छ ।
बुद्ध, एयर, यति एयर, सिम्रिक एयरजस्ता निजी क्षेत्रका एयरलाइन्सहरुले अन्तर्राष्ट्रिय स्तरको सेफ्टी स्टान्डर्ड पालना गरिरहेका छन् । नेपाल भ्रमणमा आउने हजारौं युरोपियन पर्यटकहरुलाई अग्ला गगनचुम्बी हिमालमा उडाएर सन्तुष्टी प्रदान गर्दै आएका छन् । हिमालमा हराएका, फसेका युरोपियनहरुलाई यिनै एयरक्राफ्टहरुले उद्धार गररहेको अवस्था छ ।
हाम्रो वायुसेवा प्रतिबन्ध लगाउने अवस्थामा छैन । हाम्रो वायुसेवा अन्तर्राष्ट्रिय सेफ्टी स्टान्डर्डमै रहेका कारण प्रतिबन्ध लगाउनुपर्ने अवस्थामा छैनौं । हाम्रो वायुसेवामाथि प्रतिबन्ध लागउनुमा अन्य हिँड्न फ्याक्टरहरुले काम गरेका छन् । नेपालमा भएका प्लेन दुर्घटनामा केही युरोपियनहरुको मृत्यू भएको छ । तर, यस्ता घटनाहरु सामान्यतया संसारभरि घट्छन् । संसारभर वायुसेवाको सेफ्टी स्टान्डर्ड हेर्ने आइकाओले मनिटरिङ गरेर अन्तर्राष्ट्रिय स्टान्डर्डमा ल्याइसकेको छ ।
हामी आफ्नो सेफ्टी स्टान्डर्ड कायम गरेर अगाडि बढ्छौं । राज्यले यस विषयलाई सिरियस भएर हेर्नुपर्छ । हामी वायुसेवा सञ्चालकहरुले आफ्नो सेफ्टी स्टान्डर्डलाई कुनै तलमाथि हुन दिँदैनौं । अझै स्टान्डर्ड बढाउन भरमग्दुर प्रयासरत छौं । आइकाओले स्टान्डर्ड मापन गर्ने एउटा रेसियो तोकेको हुन्छ । त्यो विश्वव्यापी रेसियो अनुसार ३९ मा हुनुपर्छ । २०१२ मा ५७ मा थियौं, २०१३ मा ४५ मा आयौं, यो घट्ने क्रम जारी रहेको छ । अर्को ६ महिनामा हामी ३९ मा झर्छौं । यो रेसियोमा पुग्दासाथ हामी वल्र्डवाइड स्टान्डर्डमा पुग्छौं ।
एक्सिडेन्ट इन इन्सिडेन्ट हो, यो जहाँ पनि हुन सक्छ । यसलाई समस्याका रुपमा लिनुहुन्न । विदेशमा नेपालभन्दा ठूला दुर्घटना भइरहेका छन । ठूला देशमा घटेका दुर्घटनालाई साना घटना बनाइन्छ, साना र निरिह देशमा घटेका दुर्घटनालाई ठूला मुद्दा बनाइन्छ, त्यतिमात्र हो ।
हाम्रो सरकार लाचार छ । अन्तर्राष्ट्रिय विमानस्थल कमतिमा २ वटा चाहिन्थ्यो । विदेशी एयरलाइन्सहरुको फ्लो हेर्दा हामीलाई २ वटा एयरपोर्ट आवश्यक छन् । एउटा एयरपोर्टले काम चलाइरहेका छौं । पुरानो हुँदासम्म हामीले मेन्टेनेन्स गर्न सकेका छैनौं, जस्ले गर्दा समय–समयमा समस्या उत्पन्न भइरहेको छ । देशभर अहिले ५३ वटा एयरपोर्टहरु रहेका छन् । केही एयरपोर्ट राम्रा छन् भने केही एयरपोर्ट स्तरोन्नतीको अवस्थामा छन भने केही नाजुक अवस्थामा पनि रहेका छन् ।
कलोसूचीमा पर्दा वित्तिकै यूरोपियनहरु नेपालमा उड्न शंका गर्छन् कि भन्ने मात्र हो । तर, यूरोपियन पर्यटकहरुले जे भए पनि हामी उड्छौं, हामीलाई त्यस्तो केही छैन भनेर नेपाली वायुसेवामा मज्जाले उडिरहेका छन् । तर, कालोसूचीमा पर्दा हिमाली उडान प्रभावित हुन सक्छ ।
प्रस्तुतीः नविन अर्याल

0 comments

Write Down Your Responses

Powered by Blogger.