यिनै हुन् प्रचण्डलाई हाराबारा खेलाउने लीलानाथ अझै भन्दैछन्- प्रचण्डलाई जित्छु
२० मंसिर, काठमाडौं । सिरहा क्षेत्र नं. ५ मा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग झिनो मतान्तरले पराजित उमेदवार हुनुहुन्छ लीलानाथ श्रेष्ठ । प्रचण्डलाई कडा टक्कर दिनुभएका एमाले उम्मेद्वार श्रेष्ठ धाँदली गरेर आफूलाई हराइएको भन्दै मुद्दा मामिलाका लागि काठमाडौ आउनुभएको छ । सिरहा ५ का दुईवटा गाविसका ६ वटा बुथमा धाँदली गरेर आफूलाई हराएको भन्दै श्रेष्ठले संवैधानिक अदालतमा उजुरी दिइसक्नुभएको छ ।
राजधानी छिरेपछि श्रेष्ठले केही युवाहरुका साथमा एमाले अध्यक्ष झलनाथ खनालदेखि अन्य ठूला नेतालाई पनि भेट्न भ्याइसक्नुभएको छ । संवैधानिक अदालतले आफूलाई जीत दिलाउने विश्वासमा रहनुभएका श्रेष्ठले सिराहा ५ का जनताका लागि प्रचण्ड भन्दा आफू अब्बल रहेको दाबी गर्न खोज्नुभयो । जनताले आफूलाई जिताएको भन्दै श्रेष्ठले प्राविधिकरुपमा मात्र आफू हारेको कुरा पटक-पटक दोहोर्याउनुभयो ।

को हुन् लीलानाथ ?
विन्देश्वरी क्याम्पस राजविराजमा पढ्ने क्रममै ०३५ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य भएर राजनीतिक यात्रा थाल्नुभएका श्रेष्ठले ०३८ सालमा सोही क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा पनि अनेरास्ववियुबाट प्रतिस्पर्धा गर्नुभएको थियो ।
०४१ सालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल ल क्याम्पसमा सह-सचिवमा निर्वाचित हुनुभएका श्रेष्ठले ०४६ सालको राजनीतिक परिवर्तनपछि पनि राजनीतिक यात्रालाई तीव्र पार्नुभएको थियो । काठमाडौंबाट सिरहा फर्केपछि एमालेको राजनीतिमा निरन्तर सकृय रहेर ०४८ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको पहिलो जिल्ला सचिव बन्नुभएका श्रेष्ठको राजनीतिक पकड अन्य नेताहरुको भन्दा दह्रो रहेको छ ।
‘मैले राजनीतिक यात्रामा कहिल्यै थकाइ मारेको छैन । ०५२ सालबाट मैले एमालेको मूल राजनीति शुरु गरेको हुँ । पार्टीमा जिल्ला सदस्य, उप सचिव, सचिव हुँदै अहिले पार्टीको सिरहा जिल्ला अध्यक्षको रुपमा भूमिका निर्वाह गरिरहेको छु ।’, श्रेष्ठले भन्नुभयो, ‘मैले २ कार्यकाल पार्टीको जिल्ला अध्यक्षको भूमिका निर्वाह गरिरहेको छु ।’
एमालेको राजनीतिसँगै जिल्लाको विकासका लागि पनि सकृय श्रेष्ठ ०५४ सालको स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समितिको उपसभापति बन्नुभएको थियो
‘माओवादीको सशस्त्र संघर्षका समयमा पनि मैले सिरहा छोडिँन । जस्तोसुकै चुनौतिलाई जनतामाझ बसेर झेल्नुपर्छ भन्ने अडानका साथ म जनताका माझमा रहेर उनीहरुको सुखदुखलाई सधैं साथ दिइरहेको छु ।’ श्रेष्ठको भनाइ छ । प्रचण्डसँग ९ सय २१ मतले पराजित हुनुभएका श्रेष्ठ अहिले जीतको खोजीमा राजधानी पस्नुभएको हो । पहिलो संविधानसभामा ५ हजार बढी मतले पराजित भएको एमालेको पडक बलियो बनाउन श्रेष्ठको सामाजिक सकृयतालाई प्रमुख मानिएको छ ।
अनलाइनखबरसँगको भेटमा श्रेष्ठ भन्नुहुन्छ :
जनताले मलाई मत दिएका हुन् । मैले आफूले जनताको मतले जितेको हो, प्राविधिक कारणले मात्र मलाई हराइएको हो । जनताको मत मैले आफूले जितेको ठानेको छु । जनताले मत दिएर मैले जितेको हो तर धाँदली गरेर मलाई हराइएकाले म न्यायका लागि काठमाडौं आएको हुँ । मैले न्याय पाउने विश्वासका साथ संवैधानिक अदालतमा उजुरी गरेको छु ।
२ वटा गाविसका ६ वटा बुथमा पुनः निर्वाचन गर्नुपर्ने माग गर्दै काठमाडौंमा आएको छु । मैले संवैधानिक अदालतमा मुद्दा दायर गरेपछि अदालतले बहसका लागि शुक्रबार बोलाएको छ ।चुनावमा धाँदली गरेकाले मेरा प्रतिस्पर्धी एमाओवादीका अध्यक्ष प्रचण्डलाई संसदमा उपस्थित नगर्न नगराउन र सपथग्रहण नगराउन मैले मुद्दा दायर गरेको हुँ ।
‘राजधानीमा आएपछि मलाई पार्टीका नेताहरुले तपाईंलाई बास्तवमा अन्याय गरिएको हो, तपाईंको जीत भएको अवस्थामा पनि हराइएकाले तपाईंलाई न्याय दिलाउन हाम्रो साथ छ भनेका छन् । धाँदली गरेर चुनाव हराइएकाले संवैधानिक अदालतमा मुद्दा दायर गरेर न्यायका लागि लड्न पार्टीकै नेताहरुले सुझाव दिनुभएकाले म संवैधानिक अदालतमा गएको हुँ ।’
काठमाडौंमा आएर पार्टी अध्यक्ष झलनाथ खनाल, केपी ओली, ईश्वर पोखरेल, माधवकुमार नेपाल र विद्यादेवी भण्डारीलाई भेटेको थिएँ ।चुनावी परिणामपछि जनताले तपाईंलाई मत दिएर जिताएको हो तर धाँदली गरेर मात्र प्रचण्डले जितेको हो । त्यसैले तपाईं न्यायको लागि अघि बढ्नुस्, तपाईंको साथमा हामी छौं भनिरहेका छन् सिरहाबासी जनताले ।
सिरहा ५ मा म कसैको आर्शिवाद पाएर उठेको होइन । पहाडी मूलको भए पनि मैले सिराहामै बसेर लामो राजनीतिक संघर्ष गरेको छु । तराई जिल्ला भएर पनि सिरहामा अशिक्षा र गरिवीको समस्या गम्भीर छ । त्यहाँ जो पढेका छ्रैनन्, जसको प्रशासनसम्म पहुँच छैन म उनीहरुको सहारा बनेर बसेको हो ।अशिक्षा र गरिवीको चपेटामा रहेका सिरहाबासीको समस्या भनेको उनीहरुको पहुँच सरकारी अड्डासम्म नहुनु हो । मेरै निर्वाचन क्षेत्रमा १० हजार बढी दलित समुदायको बसोबास छ । उनीहरुले सरकारी निकायबाट काम लिन कित घुस नै खुवाउनुपर्छ कि त नेताकै सहारा लिनुपर्छ । त्यस्तो अवस्थामा मैले उनीहरुलाई सदैव साथ दिइरहेको छु ।
पछौटेपनाले पिरोलिएका सिरहाबासीका लागि म जस्तै नेतामात्र उपयुक्त हुन्छ । प्रचण्डजस्ता हेलिकोप्टरमा चढेर हिंड्ने नेताले ती जनताको सुख दुःखमा कसरी साथ दिन सक्छन् ।
सिरहा जिल्लामा जनताको नेताका रुपमा स्थापित छु भन्ने आधार जनताले मलाई दिएको समर्थन हो । ०५४ साल देखि ५९ सालसम्म जिविस उपसभापति हुँदा मैले गरेको कामको जनताले मूल्याङ्कन गर्नुभएको छ । मैले लोभलालच गरेको भए ती अशिक्षित जनतालाई ठूलो अन्याय हुने थियो । मैले लोभलालच नगरेकै कारण कसैले पनि मलाई औंलो ठड्याउने हिम्मत गरेका छैनन् ।
मेरो कार्यकालमा जिल्ला विकास समितिमा पनि स्रोतसाधन सम्पन्न बनाएर जिल्लाको विकासका लागि आवधिक योजना तयार गर्न सफल भएपछि सिरहाको विकासले फड्को मार्न सफल भयो । जनताको बीचमा निरन्तर रहेर काम गरेको हुनाले म सिरहा ५ मा एमालेको मात्र होइन अन्य दलको पनि साझा उमेदवार भएको थिएँ । मलाई सबै जनताले साथ दिएकैले ०६४ सालको भन्दा दोब्बर मत ल्याउन सफल भएको हुँ । पहिलो संविधानसभामा हाम्रा उमेदवारले ७ हजार १ सय मत ल्याएका थिए भने मैले अहिले १४ हजार तीन सय २१ मत ल्याउन सफल भएँ ।
चुनाव हुनुभन्दा अघि देखि नै माहोल मेरो पक्षमा थियो । सबै जनताले मेरै जित हुन्छ भन्ने ठानेका थिए । बुथ कव्जा नगरेको भए सिरहाबासी जनता यो बेला विजयोत्सवमा हुन्थे । म कानुनको विद्यार्थी हुँ, म विरुद्द धाँदली भएको कुरा प्रष्ट छ । मतपत्र दिंदा कर्मचारीले अर्धकट्टी राखेर मतपत्रमात्र दिनुपर्नेमा अर्धकट्टीसहित मतपत्र खसाइएको छ । धेरै मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छैन । सिरहा ५ मा धाँदली भएको कुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले पनि बोलेका छन् ।
यसरी भयो धाँदली
मतदान केन्द्र बाहिर शान्त वाताबरण थियो, तर मतदान केन्द्र भित्र भने कर्मचारी र सुरक्षाकर्मी मिलेर धाँदली गरेका हुन् । भित्र भएको धाँदलीको कुरा बाहिर आउन सकेन । मतपत्र लिंदै छाप लाउँदै कल्याणपुर कालाबन्जारमा भोट हालिएको छ । ११ सय मतमा ९० प्रतिशत मत एमाओवादीलाई मात्रै मत खसेको छ ।
११ गाविसमा मेरो मत पहिलो छ । २ वटामा प्रचण्डजी अगाडि र ३ वटा गाविसमा बुथ कव्जा भएको छ । बुथ कव्जाबारेमा मैले निर्वाचन कार्यालय र सुरक्षानिकायमा पनि खबर गरेको छु ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन धेरै भएकाले धाँदली होला भन्ने लागेन । हाम्रा कम्जोर ठाउँमा एमाओवादील बुथ कव्जा गरेका हुन् ।सिराहा ५ मा चुनाव लडिरहँदा प्रचण्डसँग भेटघाट भएन । प्रचण्ड सिराहा आएपछि प्रहरीले नै हाम्रो रुट अलग अलग गरिदिन्थ्यो । प्रचण्डको कार्यक्रम पूर्व भएमा मेरो कार्यक्रम पश्चिमको हुन्थ्यो ।
मेरो चुनावी प्रचारमा आमसभामा विद्या भण्डारीले सम्वोधन गर्नुभएको थियो । मेरो चुनावी कार्यक्रममा साथ दिन माधवकुमार नेपाल, केपी ओली पनि आउनुभयो । अध्यक्ष झलनाथ खनाल पनि चुनावी प्रचारका समयमा आउनुभएको थियो । बन्द भएका ठूला नेतालाई सहभागी गराएर चुनावी सभा गराउन सकिएन ।पार्टी केन्द्रले मेरो क्षेत्रलाई गम्भीरतापूर्वक लिएर नै सबै ठूला नेता पुग्नुभएको थियो । मेरा पार्टी नेताले मलाई पूर्ण साथ दिनुभएको हो ।
चुनावअघि मलाई मिर्चैयामा इन्सपेक्टर नरेशराज सुवेदीले हाम्रा कार्यकर्तालाई दुख दिएर एकीकृत माओवादीलाई सघाउने काम गरेका थिए । अन्यका हकमा भने प्रजिअ र एस्पीले निष्पक्ष भएर काम गरेका हुन् । उनीहरुले चुनाव अघि र पछि पनि सकेसम्म निष्पक्ष भएर चुनावी सुरक्षाको बन्दोबस्त मिलाएका हुन् ।
अब के गर्ने
म निरन्तर जनताको साथमा रहेको मान्छे । चुनाव हारे पनि म जनताको निरन्तर साथमा रहनेछु । जिल्लाको विकासका लागि म पुनः जिल्ला फर्केर जनतासँगै काम गर्नेछु ।जिल्लामा विकासका गम्भीर समस्या छन् । राजमार्ग भन्दा उत्तरका गाविसमा रहेको खानेपानीको संकटलाई अन्त्य गर्नुछ । अर्का तिर दलित समुदायको ठूलो संख्या शिक्षाबाट बञ्चित छ । उनीहरुलाई शिक्षाको मूलधारमा ल्याउने योजनालाई म अघि बढाउनेछु ।
सिराहा जिल्ला सिचाईंको गम्भीर संकटबाट गुजि्ररहेको छ । सिचाईं अभावमा लाखौ हेक्टर जमीन बाँझो छ । सिचाईंमात्रै राम्ररी पुर्याउन सकेमा यहाँको गरिवी ५० प्रतिशत घटाउन सकिन्छ । काठमाडौंले हेर्दा सिरहा तराई मधेसको सुगम जिल्ला हो तर हामीलाई थाहा छ, त्यहाँको गरिवी र अशिक्षाको अवस्था । त्यसैले यी समस्याको समाधान गर्न स्थानीय नेतालेमात्र सक्छ । प्रचण्ड जस्ता नेताहरुले त्यहाँको समस्या केही बुझेका छैनन् ।जनताले मलाई जिताए पनि प्रचण्डले धाँदली गरेर चुनाव जितेकाले जनताको माझमा रहेर म कानुनी लडाईं जारी राख्छु ।
0 comments
Write Down Your Responses