नेपालमा भ्रष्टाचार निवारणमा उल्लेख्य सुधार : ट्रान्सपरेन्सी इन्टरनेशनल
काठमाडौँ । भ्रष्टाचार विरोधी अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टाचार निवारणमा उल्लेख्य सुधार आएको जनाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सूचांकमा विश्वका १ सय ७७ देशमध्ये नेपालले ३१ अंक पाउँदै १ सय १६ औं स्थानमा छ । सन् २०१२ मा नेपालले २७ अंक पाएर १५४ औं स्थानमा रहेको थियो । यस सूचकाङ्कमा १०० अङ्कले कम भ्रष्टाचार र ० अङ्कले अधिकतम भ्रष्टाचार रहेको जनाउँछ ।
यो वर्ष ४ अंक बढ्नुमा सरकारले सुशासनका क्षेत्रमा गरेको पहल, रिक्त संवैधानिक निकायहरुमा नियुक्ति, भ्रष्टाचारसम्बन्धी मुद्दाका फैसला, अख्तियारको सक्रियताजस्ता केही कदमहरुले मदत पुर्याएको बताइएको छ । सूचीले ५० भन्दा कम अंक पाउने मुलुक भ्रष्टाचारग्रस्त रहेको दर्शाउने भएकाले नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न अझ प्रभावकारी कदम चाल्नुपर्ने अवस्था रहेको टीआई नेपालका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो ।
यस वर्षको सूचीमा डेनमार्क र न्युजिल्याण्ड कूल १०० मध्ये ९१ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकहरु भएका छन् भने अफगानिस्तान, उत्तर कोरिया र सोमालिया ८ अङ्क प्राप्त गरी सबैभन्दा बढीभ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन् ।
दक्षिण एसियाली राष्ट्रहरुमध्ये भुटानले ६३, श्रीलङ्काले ३७, भारतले ३६, नेपालले ३१, पाकिस्तानले २८,बंगलादेशले २७ र अफगानिस्तानले ८ अङ्क पाएका छन् । माल्दिभ्स यो सूचीमा समावेश छैन ।
0 comments
Write Down Your Responses