१० डीआइजीको सरुवा, सेनामा व्यापक हेरफेर संविधानसभाको अध्यक्षता सूर्यबहादुरले गर्ने, उदघाटन कसले ?
सरकारले १० जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गर्नुका साथै नेपाली सेनामा समेत दर्जनौं अधिकृतहरुको बढुवा र सरुवा गरेको छ । विहीबार बसेको मन्त्रि परिषद् बैठकले संविधानसभाका ज्येष्ठ सदस्यले संविधानसभा बैठकको अध्यक्षता गर्ने गरी अध्यादेशसमेत पारित गरेको छ । तर, संविधानसभाको उद्घाटन कसले गर्ने भन्नेबारे अध्यादेश मौन छ ।
१० डीआइजी को कहाँ सरुवा भए ?
मन्त्रिपरिषदको विहीबारको निर्णयअनुसार १० डीआइजीको सरुवा भएको छ । सरुवा हुनेमा डीआजी राजेन्द्रसिंह भण्डारीलाई सुर्खेतबाट प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ । डीआइजी नारायण बास्तकोटीलाई दिपायबाट एकेडेमीमा सरुवा गरिएको छ भने डीआइजी सुरेन्द्र पाल पोखराबाट अपराध अनुसन्धानमा सरुवा हुनुभएको छ ।
त्यसैगरी डीआइजी विज्ञानराज शर्मालाई हेटौडाबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ भने केशरबहादुर शाहीलाई सुर्खेत सरुवा गरिएको छ । डीआइजी श्यामबहादुर खड्कालाई हेडक्वार्टरको प्रवन्ध विभागमा खटाइएको छ भने बमबहादुर खड्कालाई विशेष ब्यूरोबाट पोखरा सरुवा गरिएको छ । एकेडेमीमा कार्यरत डीआइजी जयबहादुर चन्दलाई दिपायल सरुवा गरिएको छ ।
सेनामा व्यापक सरुवा बढुवा
मन्त्रिपरिषद बैठकले नेपाली सेनामा पनि व्यापक सरुवा बढुवा गरेको छ । बैठकको निर्णयअनुसार ३ जनालाई महासेनानीबाट सहायक रथीमा बढुवा गरिएको छ भने ४ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरिएको छ । त्यस्तै २ जना सहायक रथीलाई उपरथीमा बढुवा गरिएको छ । त्यसैगरी ६ जना सहायक रथी र ४ जना उपराथीलाई सरुवा गर्ने निर्णय गरिएको मन्त्रिपरिषद् सचिवालयले जनाएको छ ।
सहायकरथी हेमन्तराज कुँवर र राजेन्द्रबहादुर कार्कीलाई उपरथीमा बढुवा गरिएको हो । महासेनानी दामोदर थापा, नवलशम्शेर राणा र शशिबहादुर सिंहलाई सहायक रथीमा बढुवा गर्ने निर्णय भएको छ ।
जेष्ठ सभासदले संविधानसभाको अध्यक्षता गर्ने
सरकारले संविधानसभाका जेष्ठ सदस्यको शपथ राष्ट्रपतिबाट गराउने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले संविधानसभा निर्वाचन दोस्रो संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
संविधानसभाको पहिलो बैठकको अध्यक्षता सबैभन्दा जेष्ठ सदस्यले गर्नेछन् । दोस्रो संविधानसभामा सबैभन्दा ज्येष्ठ सदस्य पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा हुने अनुमान गरिएको छ ।
जेष्ठ सदस्यले संविधानसभा बैठकको अध्यक्षता गर्ने भनिए पनि उनले कसरी र कोसँग शपथ लिने भन्ने व्यवस्था संविधान र ऐनमा नभएपछि सरकारले राष्ट्रपतिसमक्ष सपथ खाने गरी अध्यादेश ल्याएको हो । ०६४ सालको निर्वाचनपछि बनेको पहिलो संविधानसभामा जेष्ठ सदस्य कुलबहादुर गुरुङले सबै सदस्य सामु शपथ लिएर अन्य सदस्यलाई सपथ गराउनुभएको थियो । तर, अहिले राष्ट्राध्यक्ष रहेकाले जेष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिने व्यवस्था गर्न लागिएको हो ।
अध्यादेश अनुसार अन्य सदस्यहरुले भने जेष्ठ सदस्य समक्ष सपथ लिनेछन् ।
संविधानसभाको बैठक उद्घाटन कसले गर्ने ?
संविधानसभाको अध्यक्षता कसले गर्ने भन्नेबारे अध्यादेशले टुंगो लगाए पनि संविधानसभा बैठकको उद्घाटन राष्ट्रपतिले गर्ने कि मन्त्रिपरिषद अध्यक्ष रेग्मीले गर्ने भन्ने अन्योल कायमै रहेको छ ।
संविधान अनुसार प्रधानमन्त्रीले संविधानसभाको उद्घाटन गर्ने व्यवस्था छ भने अन्तररतष्ट्रिय प्रचलन अनुसार राष्ट्रपतिले गर्नुपर्ने बताइँदै आएको छ । यसबारे मन्त्रिपरिषद् स्रोत भन्छ,’ संविधान अनुसार रेग्मीबाटै उद्घाटन हुन्छ, यसलाई परिवर्तन गर्ने र राष्ट्रपतिबाट उद्घाटन गराउने हो भने दलहरुले पहलकदमी लिएर संविधान संशोधन गर्नुपर्छ ।’
0 comments
Write Down Your Responses