गिटी बालुवा नपाएको भन्दै सडक निर्माणमा ढिलाइ बाँके राष्ट्रिय निकुञ्जबाट बालुवा गिटी झिक्न पाउनुपर्ने माग

कोहलपुर-नेपालगन्ज सडकखण्डको राँझा विमानस्थलचौकदेखि जमुनाहसम्मको सडक निर्माणका लागि आवश्यक निर्माण सामाग्री गिटी बालुवा नपाएको भन्दै ठेकेदारले निर्धारित समयमा काम पूरा नहुने बताएका छन् ।
एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको नेपालगन्ज-कोहलपुर सडकखण्डको प्रोजेक्ट एनके-१ लाई आवश्यक पर्ने गिटी, ढुंगा, रोडालगायतका निर्माण सामाग्रीहरुको अभावमा तथा सडक निर्माणमा निर्धारित समयमा पूरा हुन नसक्ने गुनासो आएको हो ।
जिल्ला विकास समिति बाँकेअन्तरगत जिल्लाका विभिन्न खहरेखोलाबाट बर्षेनी १ लाख घनफिट मात्र झिक्न सक्ने प्रावधान रहेकोले पनि रोडा, ढुंगा र गिटी जस्ता सामाग्रीहरुको अभाव देखिएको निर्मार्णको जिम्मेवारी पाएको एमआर पप्पु जेभीले जनाएको छ ।
बाँकेमा सो परियोजनासँगै सिक्टा सिचाइँ आयोजना, हुलाकी सडक, नेपालगन्ज कोहलपुर सडक विस्तारलयायतका ठूला परियोजना एकैपटक सुरु भएर सम्पन्न हुने क्रममा छन् । ठेकेदारका अनुसार सो परियोजनालाई आवश्यक पर्ने गिटी, रोडा र ढुंगा करिव ७० लाख घनफिट आवश्यक पर्छ ।
वर्षेनी सरकारले खोलाबाट झिक्नका लागि १ लाख घनफिटमात्र स्वीकृति दिने गरेकाले निर्माण कार्य सुरुभएको मितिले २ वर्षभित्र सम्पन्न गर्नु पर्ने सो परियोजना निर्माणमा आवश्यक पर्ने सामाग्रीकै कारण ढीलो हुने अवस्था देखिएको हो ।
कम्पनीले निकुञ्ज क्षेत्र भित्रबाट सो परियोजना सम्पन्न गराउनको लागि आवश्यक सामग्री झिक्न अनुमति माग गर्दा गर्दै पनि सम्बन्धित निकाय मौन रहेको र मिल्दैन भनेर पन्छिने गरेको जनाएको छ ।
पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फ बाँके राष्ट्रिय निकुञ्जको क्षेत्र पर्ने र निकुञ्जक्षेत्र भित्र प्रशस्त मात्रामा सामाग्री भए पनि संरक्षण क्षेत्र भित्रबाट झिक्न नमिल्ने कारणलेे पनि परियोजना सम्पन्न गर्न आवश्यक पर्ने सामाग्रीको अभाव देखिएको हो । नेपालगन्ज कोहलपुर सडकखण्डको प्रोजेक्टमा रहेका प्रोजेक्ट एनके-२ कालिका कन्स्ट्रक्सनले नै सिक्टा सिचाइँको काम गर्दै आएकाले निकुञ्जभित्रबाट बालुवा गिटी झिक्ने अनुमति पाएको छ । तर, प्रोजेक्ट एनके-१ का तर्फबाट पटक-पटक अनुमतिको लागि पहल गर्दा अनुमति नदिँदा समयमा निर्माण सम्पन्न कठिन हुने भएको बताइएको छ ।
नेपालगन्ज कोहलपुर सडक खण्डको प्रोजेक्ट एनके-१को निर्माणको जिम्मेवारी पाएको एएमआर पप्पु जेभिका आधिकारिक प्रतिनिधि सुमित रौनियारले आफ्नो कम्पनीले २ वर्ष भित्रै सो परियोजना पूरा गर्न हर प्रयास पहल गरेको भए पनि निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाग्री नै अपुग हुने भएकाले समयमा निर्माण गर्न गाह्रो हुने बताए ।
उनले भने, ‘कम्पनीले हरसंभव प्रयास गरेको छ । तर, राजमार्गको पूर्व, पश्चिम र उत्तरतिर निकुञ्ज छ । सामाग्रीजति निकुञ्जभित्र छ, सामाग्री विना कसरी निर्माण पूरा गर्ने ?’
उनले सो परियोजना सम्पन्न गर्नको लागि आवश्यक पर्ने निर्माण सामाग्री समयमा नै उपलब्ध गराउन र सो परियोजनाका लागि अवरोधहरु हटाउन सडक विभागलगायतका सबन्धित निकायमा पटक-पटक पहल गर्दा कुनै सुनवाइ नभएको गुनासो गरे ।
नेपालगन्ज कोहलपुर सडक निर्माणका लागि सो कम्पनीले राँझा चौकदेखि नेपाल-भारत सीमा क्षेत्र जमुनाहसम्म बनाउने जिम्मेवारी पाएको छ ।
एएमआर पप्पु जेभीका आधिकारिक प्रतिनिधि रौनियारले नेपालगन्ज नगर क्षेत्रमा निर्माणको लागि आवश्यक ढुंगा, गिटी, रोडालगायतका सामाग्रीको अभावले मात्रै नभएर विद्युतका पोल, टेलिफोनका पोल, अप्टिकल फाईबरको लाईन, खानेपानी र ढल निकासको लागि नालामा छोडिएका पाईपहरु हटाउन संबन्धित निकायले चासो नदिएको कारणले पनि काम गर्न समस्या भएको बताए ।
सो परियोजना भित्रको भत्काउन पर्ने नेपालगन्ज भन्सार कार्यालयको भवन, प्रहरीको चेक प्वाईन्ट, कृषि विकास बैंकको कम्पाउण्डलगायत रहेका छन् । उनले विद्युतको पोलको कारणले परियोजनाको क्षेत्रभित्र रहेका ठूला रुखहरु काट्न असहज भएको बताए । उनले भन्सार र प्रहरीको चेक प्वाईन्ट बाटोमा परेकोले भत्काउन अनुरोध गर्दा कम्पनीलाई नै ती कार्यालयले अन्यत्र सार्ने बन्दोबस्त मिलाउन भनेको बताए ।
उनले नेपाल सरकारको चितवन क्षेत्रमा रहेको निकुञ्जमा हुलाकी सडक निर्माणका लागि आवश्यक पर्ने निर्माण समाग्री झिक्न अनुमति दिएको दाबी गर्दै आफूलाई यहाँ पनि सोही अनुरुपको स्वीकृती दिनु पर्ने माग गरे । नेपालगन्ज कोहलपुर सडक खण्डको प्रोजेक्ट एनके-१ र एनके-२ गत अपि्रल २५ बाट सुरु भएर २५ अपि्रल २०१५ मा निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.