खुर्सानीको मूल्य आधा घटयो
अघिल्लो वर्षको तुलनामा यो वर्ष खुर्सानी बढी उत्पादन भएपछि अकबरे खुर्सानीको मूल्य आधा घटेको छ । अघिल्लो वर्ष प्रतिकिलो ४ सय रुपैयाँ रहेको अकबरे खुर्सानीको मूल्य अहिले आधा घटेको हो ।
“पोहोर त अकबरे खुर्सानी ४ सय रुपैयाँ किलोमा बेचेको हो”-चरिकोटका तरकारी व्यापारी दीपक अधिकारीले भन्नुभयो-”यसपालि किसानले समेत धेरै खुर्सानी ल्याउने भएकाले मूल्य पनि घटेको छ ।” खुर्सानीको मूल्य घटे तापनि किसानलाई बजारको समस्या नभएको उहाँले बताउनुभयो । थोरै जग्गामा छिटै राम्रो आम्दानी हुने भएपछि किसानहरु अकबरे खुर्सानी उत्पादनतर्फ आकषिर्त भएका जिल्ला कृषि विकास कार्यालयका प्राविधिकहरुको भनाइ छ ।
अकबरे खुर्सानीको व्यावसायिक खेतीमा अहिले धेरै किसान लागेकाले पनि उत्पादन बढेपछि मूल्य घटेको व्यापारीको भनाइ छ । दोलखाका हरेक गाविसका धेरै किसान व्यावसायिक खुर्सानी खेतीमा लागेका जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

दोलखामा कार्यरत एक गैरसरकारी संस्था सामुदायिक विकास केन्द्रले गरिबी निवारणका लागि १ सय ४० किसानलाई अकबरे खुर्सानीका बिरुवा वितरण गरेर खुर्सानी खेती गराएको छ । विपन्न वर्गको आयआर्जनका लागि दोलखाका चार गाविसका किसानलाई केन्द्रले ११ हजार खुर्सानीका बिरुवा वितरण गरेको थियो ।
गरिबी निवारण कोषको सिर्जनात्मक कार्यक्रमअन्तर्गत आयआर्जनका लागि झ्याँकू, जुँगू, क्षत्रपा र घ्याङसुकाठोकर गाविसका किसानलाई बिरुवा वितरण गरिएको संस्थाका अध्यक्ष बद्रीकुमार चौलागाईंले जानकारी दिनुभयो । हरेक गाविसका ४० किसानलाई ७० देखि एकसय वटासम्म अकबरे खुर्सानीका बिरुवा वितरण गरिएको थियो ।
थोरै जग्गाबाट समेत राम्रो उत्पादन हुने र बजारको पनि सजिलै पहुँच भएको कार्यक्रम संयोजक नारायण बुढाथोकीले बताउनुभयो । खुर्सानी खेतीका लागि किसानलाई तीनदिने प्राविधिक तालिम दिइएको छ । किसानलाई बेलाबेलामा प्राविधिक परामर्श र औषधिसमेत सहयोग गरेकाले किसानले त्यसबाट राम्रो आम्दानी लिएको उहाँले बताउनुभयो । उत्पादित खुर्सानी किसानले स्थानीयस्तर र नजिकका बजारमा पुर्याएर बिक्री गर्ने गरेका छन् ।
जिल्ला विकास समितिले मापन गरेको अतिविपन्न, दलित, जनजातिलाई खुर्सानी खेती कार्यक्रममा छनोट गरिएको उहाँले बताउनुभयो । एक वर्ष रोपेको खुर्सानीबाट चार वर्षसम्म सहजै आम्दानी लिन सकिने कृषि प्राविधिकहरु बताउँछन् । समयमा गोडमेल, सिँचाइ र मलखादको व्यवस्था मिलाउन सकिए अहिलेको बजार मूल्यमा प्रतिरोपनी पाँचदेखि आठ लाखसम्म सजिलै आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालय मालू सेवा केन्द्रका प्रमुख टोपबहादुर विष्टले किसानहरु अकबरे खुर्सानी खेतीतर्फ आकषिर्त भए तापनि भाइरसजस्ता नयाँ नयाँ रोगको सङ्क्रमणको समस्या बढेकाले किसानलाई हैरानी बनाएको बताउनुभयो । बढी वर्षाका कारण पनि यसपालि रोगको सङ्क्रमण बढेको उहाँको भनाइ थियो । रासस
0 comments
Write Down Your Responses