सभासद्लाई संबिधान बनाउने तालिम दिइने
नवनिर्वाचित संविधानसभा सदस्यलाई संविधान, ऐन, नियम, परिपत्र पालना तथा निर्वाह गर्नुपर्ने भूमिका र दायित्वबारेमा व्यवस्थापिका संसद सचिवालयले प्रशिक्षण दिने तयारी गरेको छ ।
सभासद्लाई संविानसभा, मातहतका समिति र व्यवस्थापिका संसदका कामकारबाही तथा संविधान ऐन, नियम, निर्देशिकालगायतका विषयमा न्यूनतम ज्ञान दिएर संविधान लेखन कार्यलाई व्यवस्थित र सहज तुल्याउने उद्देशयले सचिवालयले सभासदलाई अभिमुखीकरण तालिम सञ्चालन गर्न लागेको हो ।

अघिल्लो संविधानसभाको काम कारबाहीको समीक्षा र अध्ययन अनुभवको आधारमा नवप्रवेशी सभासदको क्षमता अभिवृद्धिका लागि प्रशिक्षित तुल्याउने सोच राखिएको व्यवस्थापिका संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । संविधानसभाको बैठक आह्वान गरिसकेपछि दलका पदाधिकारीसँगको छलफल र सहमतिका आधारमा कार्यक्रमको ढाँचा र मिति तय गरिने उनले बताए । अघिल्लो संविधानसभा तथा व्यवस्थापिका संसदका बैठकमा कतिपय सभासदबाट भएका गतिविधि र मर्यादा विपरीतका घटनाको सबै पक्षबाट आलोचना भएको थियो ।
यस्तो प्रशिक्षणले नियम, कानुनका साथसाथै आफूले निर्वाह गर्ने दायित्वका बारेमा समेत न्यूनतम जानकारी हासिल हुने तथा व्यवस्थापिका संसद संविधानसभाका काम कारबाही अझ बढि व्यवस्थित र सहजताका साथ अघि बढ्ने सचिवालयले जनाएको नागरिक दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses